सरकारलाई देउवाको ध्यानाकर्षण- उद्धार र राहतको कार्यमा ढिलाइ नहोस् – Nepal Press

सरकारलाई देउवाको ध्यानाकर्षण- उद्धार र राहतको कार्यमा ढिलाइ नहोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भू-भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । अविरल वर्षाका कारण दर्जनौं व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘मानिसहरु बेपत्ता र घरवारविहीन भई विस्थापित हुनका साथै सयौं व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग आग्रह गर्दछु ।’

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीका तर्फबाट निर्देशन समेत दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर