विपद् प्रतिकार्यलाई सशक्त बनाउन सुरक्षा निकाय र समुदाय परिचालन – Nepal Press

विपद् प्रतिकार्यलाई सशक्त बनाउन सुरक्षा निकाय र समुदाय परिचालन

रुपन्देही । लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरू स्वयंसेवकको रूपमा परिचालन भएको र जसबाट क्षति न्यूनीकरण गर्न भूमिका खेलेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।

प्रभावकारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायका बीच सुदृढ सहकार्यले क्षति न्यूनीकरण गर्न मद्दत पुगेको उनको भनाइ छ ।

‘यो विपदको घडीमा एकले अर्काको मुख ताकेर बस्ने बेला होइन । जसले जहाँ जसरी सहयोग गर्न सक्छ, त्यसै गरी परिचालन हुन जरुरी छ’ उनले भने, ‘समुदायका नागरिकहरू पहिलो रेस्पोन्डर भएकाले सुरक्षित स्थानको पहिचान गरेर सबै नागरिकलाई त्यहाँ सम्म पुर्‍याउन सुरक्षा निकायलाई सहयोग गर्न सकिन्छ । यो भूमिका समुदायका नागरिकले निभाउनु भएको छ’ उनले भनेका छन् ।

यस्तै आपतकालीन उद्धारटोलीमार्फत अवरुद्ध सडक सुचारु गरिएको, बाढी तथा पहिरोमा परेकाहरूको खोज तथा उद्धारको काम भएको छ । तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर संवाद भएको र अवरुद्ध सडक सुचारु गर्न आपत्कालीन उद्धारटोली खटिएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

प्रदेशमा शुक्रवार रातिदेखि विभिन्न जिल्ला सदरमुकाम जोड्ने सडकहरू सुचारु भएका छन् । भालुबाङ-प्युठान सडक खण्ड, गोरुसिङ्गे-अर्घाखाँची, दाङ-सल्यान राप्ती लोकमार्ग सुचारु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

रोल्पा जोड्ने सहिद मार्ग, पाल्पाको रानी महल जोड्ने, दाङ-प्युठान जोड्ने भित्री सडक, गुल्मीको छत्रकोटको भित्री सडकमा झरेको पहिरो पन्छ्याउने काम चलिरहेको छ । तराईका जिल्लामा सडक सुचारु अवस्थामा छ ।

विपद् भएको ठाउँमा तुरुन्त उद्धारटोली परिचालन भएको र स्थानीय नागरिकहरूले स्वयंसेवकको समेत भूमिका निर्वाह गरेका छन् । बाढी र पहिरोको जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको समेत प्रदेश सरकारले जनाएको छ ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरू सँग निरन्तर सम्पर्कमा छु । जहाँ विपद् आइपर्छ त्यहाँ तत्कालै सुरक्षाकर्मी परिचालन गरिन्छ’ मुख्यमन्त्री आचार्यले भने,‘समुदायस्तरबाट पनि खोज तथा उद्धारको काम गर्न सकिन्छ । सुरक्षाकर्मीको समन्वयमा स्थानीय बासिन्दा पनि स्वयंसवेकको रूपमा परिचालन हुनुपर्छ, हाम्रो प्रदेशमा यो सहकार्य भएको पनि छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर