एक्लो छोरा गुमाएका जिसस प्रमुखको स्टाटस- ‘छोरा अनुपम मैले तिमिलाई बचाउन सकिन’ – Nepal Press

एक्लो छोरा गुमाएका जिसस प्रमुखको स्टाटस- ‘छोरा अनुपम मैले तिमिलाई बचाउन सकिन’

हेटौँडा । तीन दिनको अविरल वर्षाले मकवानपुरमा ठूलो क्षति गर्‍यो । वर्षापछि आएको पहिरोमा परि मकवानपुरमा मात्र सात जनाले ज्यान गुमाए । त्यसमध्ये ६ जना स्कुले बालकलाई सिस्नेरीको पहिरोले एकै चिहान बनायो ।

भविष्यमा देशको नाम राख्न सफल फुटबलर बन्ने सुनौलो सपना बोकेर उत्तरी मकवानपुरको सिस्नेरी पुगेका ४० मध्य ६ जना किशोरको सपना पहिरोले थिच्यो ।

त्यसै मध्यका एक थिए हेटौँडा १२ का अनुपम घलान । उनी थिए मकवानपुर माओवादीका नेता ललित घलानका एक मात्र छोरा । नेकपा माओवादी केन्द्रले हेटौँडा उपमहानगरपालिकामा एक मात्र वडा जित्दा वडाध्यक्ष जित्दा विजेता बनेका घलान तत्कालीन माओवादी-कांग्रेस गठबन्धनमा माओवादीले जिल्ला समन्वय समितिको प्रमुख पाउँदा निर्विकल्प समन्वय प्रमुख भए ।

राजनीतिसँगै परिवारलाई सबल बनाउन कहिले सयपत्री फूल खेती गरे त कहिले हेटौँडा बजारमा कस्मेटिक पसल चलाए । परिवार, उत्पादन र राजनीतिलाई सँगसँगै लगेका घलानको छोरा सानैबाट फुटबलमा औधी रुचि राख्थे ।

छोराको इच्छा र फुटबलप्रतिको लगावले उनले जिल्लाको बिकट मानिने इन्द्रसरोबरको सिस्नेरीमा पठाए । यो घलानको मात्र निर्णय थिएन । छोरा अनुपम पनि एन्फाको टेस्टमा सफल भए र सिस्नेरी पुगे ।

तर २०८१ को असोज १२ गते शनिवार त्यही सिस्नेरीले घलान परिवारमा कहिले निको नहुने घाउ दिएर गयो । निरन्तरको वर्षाको कारण आएको पहिरोले घलानपुत्र अनुपमलाई फक्रन नपाउँदै चुँडेर लग्यो ।

४० जना साथीहरूसँगै बत्सलादेविको होस्टेलमा बसेका घलान सहित छ जना पहिरोको चपेटामा परे र कहिल्यै नआउने गरी बिदा भए ।

कुलेखानी जलविद्युत आयोजनाले ड्याम खोलेको सूचना पाएपछि विद्यालय क्षेत्र पनि डुबानमा पर्ने भयले होस्टेलबाट नजिकैको टेकर बजार हिँडेका घलान सहितका छ जना बालकलाई होस्टेलबाट करिब ५ सय मिटर माथि पुगेपछि पहिरोले पुर्‍यो ।

छोरो पहिरोको चपेटामा परेको खबर पाउनासाथ जिसस प्रमुख समेत रहेका ललितले हर सम्भव सबैलाई बचाउने प्रयत्न गरे । तर उनको प्रयत्न सफल हुन सकेन । आखिर उनको छोरा सहित नेपाली फुटबलको भविष्यका छ जना स्टारले पहिलो पाइलाबाट नै बिदा लिए ।

छोराको निधनबाट गहिरो चोट बोकेका घलानले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् ‘छोरा अनुपम मैले तिमीलाई बचाउन सकिन…।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर