पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा आफैँ अस्ताए कर्णेल मिलन केसी – Nepal Press

पहिरोमा पुरिएकालाई उद्धार गर्न जाँदा आफैँ अस्ताए कर्णेल मिलन केसी

सिन्धुपाल्चोक । शनिबार बिहान पहिरोमा परी नेपाली सेनाका एकजना प्रमुख सेनानी (कर्णेल) को मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा पुरिएर मिलन केसीको मृत्यु भएको हो ।

सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए । रिसोर्टमा सुतिरहेको बेला शनिबार बिहान १० बजे रिसोर्ट माथिबाट पहिला सानो पहिरो झरेको थियो ।

कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए । त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको उद्धार कार्यमा खटिएका स्थानीय शम्सेर क्षेत्रीले जानकारी दिए ।

‘उहाँको शरीरमा चोटपटक लागेको थियो, हामीले बोकेर ल्याउन खोज्दा म आफैँ हिँड्छु भनेर केही समय हिँडेपछि मलाई गाह्रो भो भन्दै ढल्नु भो । उहाँलाई बचाउन धेरै प्रयास गरे पनि सकेनौ’, क्षेत्रीले भने ।

केसी केही समयअघि मात्रै कर्णेलमा बढुवा भएका थिए । तर, दर्ज्यानी चिन्ह भने लगाउन बाँकी थियो । उनी सिरियाको अनडफ मिसनमा जाने तयारीमा थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले कर्णेल केसीसहित एक कोरियन नागरिकको मृत्यु भएको र उनीहरूको शव प्रथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *