प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण, कालो झन्डाको हल्ला र नेपालको बढ्दो भूराजनीतिक महत्व
प्रधानमन्त्री केपी ओलीको संयुक्त राष्ट्रसंघका कार्यक्रमहरुमा भाग लिन गरिएको अमेरिका भ्रमण धेरै हिसाबले चर्चाको विषय बनेको देखियो । एकातर्फ प्रधानमन्त्रीका विभिन्न सम्बोधनहरु तथा नेपालका तर्फबाट प्रस्तुत भएका विषयहरुलाई अन्य देशहरुले कसरी लिए भन्ने कुराको ठूलो महत्व छ भने अर्कोतर्फ अहिलेको विश्वको बदलिँदो भूराजनीतिक जोडघटाउको अवस्थामा विश्व शक्ति राष्ट्रहरु र अन्य मुलुकहरुले नेपालको भूमिका र महत्वलाई कसरी लिन्छन् भन्ने विषय नेपाल जस्तो भूराजनीतिक चेपुवा अथवा दुई ढुंगाको तरुलको अवस्थामा गुज्रिएको मुलुकको लागि अत्यन्त ठूलो महत्व राख्छ ।
नेपालले उठाएका विषयवस्तुहरुलाई अन्य राष्ट्रहरुले चासो राखेको देखियो । जलवायु परिवर्तन, गरिबी निवारण, महिला सशक्तीकरण, द्वन्द्व व्यवस्थापन र शान्ति स्थापना जस्ता विषयमा छलफलका लागि नेपाललाई महत्वका साथ सहभागी गराउने र वक्ताको रुपमा प्रस्तुत गर्ने चलन बढेको देखियो । अर्कोतर्फ केही दशकदेखि देखापर्न थालेको दोस्रो शीत युद्धको अवस्थामा नेपालको भूराजनीतिक महत्व ह्वात्तै बढेको अनुमान पनि गर्न सकिन्छ ।
भारत र चीन जस्ता मुलुकहरुको आर्थिक र राजनीतिक रुपमा महाशक्तिको गतिमा विकास हुनु, चीन र भारतबीचको प्रतिस्पर्धा र सहकार्य निर्णायक रुपमा घनीभूत हुनु, अमेरिका र चीनबीचको शीत युद्ध बढेर जानु, दक्षिण एसियामा राजनीतिक अस्थिरता झन् जटिल बनेर जानु, बंगलादेश र श्रीलंकामा भर्खरै भएका परिवर्तनहरु नेपाललाई भूराजनीतिक हिसाबले हेरिने केही विषयवस्तुहरु हुन् । यी बढ्दा घटनाक्रमहरु आफैंमा जटिल छन्, तर यी विषयवस्तुहरुले नेपाललाई भूराजनीतिक महत्वको क्षेत्र बनाइ दिएका छन् ।
संयुक्त राष्ट्रसंघका विविध कार्यक्रमको सेरोफेरोमा नेपालका प्रधानमन्त्रीसँग औपचारिक र अनौपचारिक ढंगले छलफल र भेटघाट गर्न दुईखाले शक्तिहरुले विशेष चासो राखेको देखियो । पहिलोखाले शक्ति राष्ट्रहरु जो आफ्नो शक्ति टकरावमा नेपाल जस्ता रणनैतिक स्थानमा रहेका देशलाई आफ्नो शक्ति केन्द्रको नजिक राख्न चाहन्छन् । भारत, अमेरिका, चीनलगायतका देशका पदाधिकारीहरुले दिएको महत्व नेपालको स्वतन्त्र हितभन्दा पनि शक्ति टकरावमा नेपालको भूमिकासँग गाँस्न चाहेको कुरा प्रस्ट देखिन्छ ।
संयुक्त राष्ट्रसंघका विविध कार्यक्रमको सेरोफेरोमा नेपालका प्रधानमन्त्रीसँग औपचारिक र अनौपचारिक ढंगले छलफल र भेटघाट गर्न दुईखाले शक्तिहरुले विशेष चासो राखेको देखियो । पहिलोखाले शक्ति राष्ट्रहरु जो आफ्नो शक्ति टकरावमा नेपाल जस्ता रणनैतिक स्थानमा रहेका देशलाई आफ्नो शक्ति केन्द्रको नजिक राख्न चाहन्छन् ।
नेपालले आफ्ना कुराहरु प्रस्टसँग राख्न सक्नु र कुनै पक्ष वा विपक्षमा नलाग्ने र सबैसँग साथीत्वको सम्बन्ध बनाउन चाहन्छ भन्ने सन्देश दिनु नेपालको प्रस्तुतिको मुख्य विषय थियो । प्रधानमन्त्रीले साना देशहरुको अस्तित्व र स्वाधीनताका कुरा हरेक भेटघाट र छलफलमा उठाउनु नेपाल जस्तै नियति भोगेका देशहरुको लागि अति महत्वपूर्ण छ ।
दोस्रोखाले देशहरु भूराजनीतिक हिसाबले नेपाल जस्तै नियति भोगेका र नेपालसँग सह-अस्तित्वको साथीत्व विकास गर्न चाहने र भूराजनीतिक टकरावको केन्द्रमा रहेर कसरी आफूलाई अघि बढाउँदैछ नेपालले भनेर जान्न उत्सुकहरुको भेटघाट थियो । दर्जनौं देशका प्रमुखहरुले नेपाललाई चासोका साथ भेटघाट गर्नु नेपालको हितमै हुन्छ । नेपालले अन्य साना देशहरुसँग गतिलो सम्बन्ध निर्माण गर्नुपर्छ । विशेषगरी हिमालय क्षेत्रका अन्य साना मुलुकहरु जस्तैः भुटान, बंगलादेश, म्यान्मार, कम्बोडिया, लाओस जस्ता देशहरुसँग सहकार्य गरी संयुक्त रुपमा यो क्षेत्रको स्वाधीनता र समृद्धि अभियान चलाउन नेपालले पहल गर्नुपर्छ ।
राष्ट्रिय एकताका साथ राम्रोसँग व्यवस्थापन गर्न नसकेको कारण यस्ता बाहिरी चासोहरु विगतदेखि नै देशको हितविपरीत बन्दै गएका छन् । यस्ता चासाहरु देशको आन्तरिक हस्तक्षेपमा परिणत भएका छन् । नेपालभित्रै राजनीतिक शक्तिहरु पनि यिनै बाहिरी चासाहरुलाई राज्य सत्तामा आफ्नो पहुँच पुर्याउन प्रयोग गर्छन् अनि विदेशी गोटी बनेर शासन गर्ने चलन पुरानै हो, तर सही ढंगले व्यवस्थापन गर्ने कौशल देखाउन सके देशको हितमा पनि हुन्छ । इतिहासमा कतिपय अवस्थामा नेपालले विश्व शक्ति राष्ट्रहरुबीचको टकरावलाई आफ्नो पक्षमा पारेको धेरै उदाहरणहरु छन् ।
अहिलेको अवस्थामा नेपालको सबैभन्दा ठूलो चुनौती नै यी भूराजनीतिक शक्ति संघर्षमा आफ्नो स्वाधीनतालाई दह्रो बनाउने र देशको दुरावस्थामा रहेको आर्थिक अवस्थालाई उकास्न स्वतन्त्र अर्थनीति अघि सारेर अन्य मुलुकहरुसँग सहकार्यको वातावरण तयार गर्ने नै हो । हाम्रो सानो गल्तीले ठूलो दुर्घटना हुनसक्छ । त्यसैगरी सचेतनापूर्ण हिसाबले सुझबुझका साथ अघि बढे यी चुनौतीहरुलाई अवसरका रुपमा पनि प्रयोग गर्न सकिने सम्भावना छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमण, नेपालको प्रस्तुति र भेटघाटहरुलाई यी विषयहरुसँग गाँसेर लेखाजोखा हुन आवश्यक छ ।
नेपालले अन्य साना देशहरुसँग गतिलो सम्बन्ध निर्माण गर्नुपर्छ । विशेषगरी हिमालय क्षेत्रका अन्य साना मुलुकहरु जस्तैः भुटान, बंगलादेश, म्यान्मार, कम्बोडिया, लाओस जस्ता देशहरुसँग सहकार्य गरी संयुक्त रुपमा यो क्षेत्रको स्वाधीनता र समृद्धि अभियान चलाउन नेपालले पहल गर्नुपर्छ ।
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमणको विषयमा नेपाली जनता, बौद्धिक क्षेत्र, सञ्चार जगत, राजनीतिक नेतृत्वले छलफल गर्नुपर्ने र विचार निर्माण गर्नुपर्ने विषयहरु यी थिए, तर विडम्बना प्रधानमन्त्रीलाई कालो झन्डा देखाए रे, जुत्ता हाने रे भन्ने जस्ता अनर्गल र अनावश्यक कुरामा पूर्ण रुपमा टीकाटिप्पणी गरेर समय बिताइयो । न कालो झन्डा देखिएको थियो न त कुनै केही भएको थियो र भएकै भए पनि कुनै ठूलो कुरा थिएन, तर सबैखाले मान्छेको ध्यान यिनै फजुल कुरामा सीमित रह्यो ।
तीनखाले मान्छेहरु यो हौवा पिटाइमा संलग्न रहे, उनीहरुले नेपालको आन्तरिक र बाहिरी अवस्था र नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघ भएका प्रस्तुतिको बारेमा कुनै टिप्पणी गर्ने अथवा विश्लेषण गर्ने हैसियत नै देखाएनन् ।
पहिलो- प्रधानमन्त्रीको भ्रमण विवादास्पद होस् भन्ने चाहना राख्ने नयाँ पुराना शक्तिहरुले अमेरिकामा भएका आफ्ना कार्यकर्ताहरुलाई सक्छौं भने विरोध गरेको देखाउ है भनेर उकासे । सामाजिक सञ्जालमा बेलाबेला उडन्ते कुरा गरेर नेपालप्रति सधैं नकारात्मक भावना छरिरहने केही व्यक्तिहरुले प्रधानमन्त्रीको विरोध गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेखे, तर कहीँकतै विरोधमै उत्रिने आँट गरेनन् । भ्रमणको सुरु दिनमै नेपालीहरुले आयोजना गरेको भेटघाट कार्यक्रम स्थगित भयो । कार्यक्रम स्थान र सुरक्षाको कारण स्थगन भएको थियो । अमेरिकामा चुनावी माहोल छ, राष्ट्रपतिकै उम्मेदवारलाई दुईदुई पटक गोली हान्ने प्रयत्न भएको अवस्थामा विदेशी पाहुनाहरुप्रति सुरक्षाको चासो राख्नु स्वाभाविकै थियो ।
यही कुरालाई लिएर सम्पूर्ण तप्का नभएको कुरालाई टिप्पणी गरेर बस्यो, तर खास छलफल गर्नुपर्ने विषयमा कुनै चासो नै दिएन । अमेरिकामा विरोध प्रदर्शनमा कुनै रोक लगाउने चलन नै हुँदैन । संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि हरेक दिन जस्तो केही न केही प्रदर्शन भैराखेकै हुन्छन्, तर कुनै नेपालीले कुनै विषयमा कुनै दिन पनि प्रदर्शन गरेको देखिएन । कालो, सेतो कुनै झन्डा पनि प्रदर्शन भएन । भएका भए पनि ठीकै हुने थियो, तर नभएको र सामान्य कुरामा सम्पूर्ण समाज किन अल्झियो ? यो एउटा गम्भीर विषय चैँ पक्कै बनेको छ ।
केपी ओलीले देशका पक्षमा दर्जनौं समारोह र भेटघाटमा गरेका बहसको बारेमा पनि कुनै चासो देखाएन, तर एकोहोरो अमेरिका बसेका नेपालीहरुप्रति तँछाडमछाड गरेर देशद्रोहीसम्मको संज्ञा दिई नै रहे ।
दोस्रो- नेपाली मिडिया विनाअध्ययन र विनाआधिकारिकता कसरी आफ्नो सञ्चार समाजमा प्रक्षेपण गर्छ भन्ने कुरा यो विषयले झन् प्रस्ट बनाएको छ । नेपालको राजनीतिमा अहिलेको सन्दर्भमा सम्भवतः सबैभन्दा शक्तिशाली केपी ओलीको व्यक्तिगत विषयलाई उचाल्न पाए आफ्नो समाचार सबैतिर फैलिने थियो भन्नेमात्रै ध्यान दिएर बसेको मिडियाले कालो झन्डाको कुरा दोहो¥याइरह्यो, तर केपी ओलीले प्रस्तुत गरेका राजनीतिक र भूराजनीतिक कुरा उठाउने प्रयत्न नै गरेन । सतही समाचारमा निर्भर सञ्चार जगतले देशको वास्तविक अवस्थालाई सकारात्मक रुपमा जनस्तरमा छलफलमा लान सक्दैन भन्ने आमसोचमा थप पुनर्पुष्टि गरिदियो ।
तेस्रो- वास्तविकता र प्राथमिकता बुझ्दै नबुझी कालो झन्डाको विषय उचालेर एमालेको सम्पूर्ण संयन्त्र अनावश्यक रुपमा उद्वेलित भयो । तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेताहरुसम्म समेत कालो झण्डाको विषय उठाएर बसे । विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई तथानाम गाली गर्न भ्याए । रामकुमारी झाँक्रीको शैलीमा भगौडाहरुले केपी ओलीलाई झन्डा देखाउने भनेर राष्ट्रियता, नागरिकतादेखि देशप्रेमसम्मका सबै अर्थहरू र ‘को राष्ट्रवादी’ तथा ‘को देशद्रोही’ भन्ने सबै व्याख्या गर्न भ्याए । भएको वास्तविकता के हो भन्ने कुरा बुझ्न उनीहरुलाई फुर्सद थिएन । नेपालको जनसाङ्खिक राजनीति र देशको भविष्यको बारेमा पनि कुनै चासो थिएन । देश बाहिर रहेकालाई कसरी भित्र्याउने भन्नेतिर पनि कुनै मतलब देखिएन । केपी ओलीले देशका पक्षमा दर्जनौं समारोह र भेटघाटमा गरेका बहसको बारेमा पनि कुनै चासो देखाएन, तर एकोहोरो अमेरिका बसेका नेपालीहरुप्रति तँछाडमछाड गरेर देशद्रोहीसम्मको संज्ञा दिई नै रहे ।
प्रधानमन्त्री ओलीको लागि यो विषय ‘आफू गर्छु आग्राको कुरा तिनीहरु गर्छन् गाग्राको कुरा’ जस्तै भयो । यो घटनाबाट विनासूचना र विनाविश्लेषण नेपाली समाज उद्वेलित हुनेरहेछ र देशको प्राथमिकताभन्दा पनि आफ्नो व्यक्तिगत नकारात्मकतालाई प्राथमिकतामा राखेर विचार निर्माण गर्ने क्रम बढेर गएको छ भन्ने प्रस्ट देखिन्छ ।
प्रधानमन्त्रीले नेपालका विषयवस्तुहरुलाई कसरी उठाए र कुन तहको प्रभाव पर्यो भन्ने व्याख्या र विश्लेषण गर्ने काम सायदै धेरै नहोला जस्तो देखिन्छ । यही बेला भीषण बाढीले जनधनको ठूलो क्षति भएको छ । बढ्दो प्रकोपको अवस्था, आन्तरिक खिचातानी र पराधीन सोचले देशलाई दीर्घकालीन असर पर्ने यस्ता विषयमा छलफल र विचार निर्माण गर्ने कुरा सधैं ओझेलमा पर्ने निश्चित छ, तर नेपालको भूराजनीतिक महत्व झनै बढेको प्रस्ट देखिन्छ, जुन कुराहरु समयमै व्यवस्थापन नगर्ने हो भने देशको लागि ठूलो संकटको रुपमा प्रकट हुन थाल्नेछन् ।
ओलि जस्तो नेताको पनि विरोध गर्ने सबै दिल्लीका दलाल हुन् । इमान जमान बेचेका ।
नेपाली सञ्चार जगतले विश्व जगतका गतिविधि, देश र भुराजनीतिक परिस्थितिबारे सकारात्मक सोचका साथहु अगाडि बड्नपर्छ, अन्यथा …. नहोस्, सचेत र सजग हुन सकोस् ।