चरिकोटमा सूचना पाएको ६ मिनेटमै घटनास्थलमा प्रहरी, पहिरोबाट बालकको उद्धार (भिडिओ) – Nepal Press

चरिकोटमा सूचना पाएको ६ मिनेटमै घटनास्थलमा प्रहरी, पहिरोबाट बालकको उद्धार (भिडिओ)

काठमाडौं । दोलखाको चरिकोटमा शनिबार दिउँसो पहिरोमा पुरिएका बालकको उद्धार भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपाल प्रहरीले आफ्नो अफिसियल अकाउन्टमा यो भिडियो राखेको छ ।

भिडियोमा नेपाल प्रहरीका इन्स्पेक्टरले बालकलाई निकालिरहेको देखिन्छ । दोलखा प्रहरीका प्रवक्ता रहेका इन्स्पेक्टर शत्रुधन महतोले बालकको उद्धार गरेका हुन् ।

 

नेपाल प्रेससँग कुराकानी गर्दै उनले आफू सूचना पाएको ६ मिनेटमै घटनास्थल पुगेको बताए ।

‘साढे १ बजे मलाई खबर आयो । त्यतिबेला म भीमेश्वर– ३ मा पहिरोका कारण घरहरु खाली गर्न खटिएको थिएँ । पहिरोले बच्चा पुरिएको सूचना पाएलगत्तै म टोली लिएर तुरुन्तै पुगें’, उनले भने ।

उनी पुगेको करिब १५ मिनेटपछि सशस्त्र प्रहरी र आर्मीको टोली पनि घटनास्थल पुगेका थिए । संयुक्त प्रयासमा बालकलाई निकाल्न सुरक्षाकर्मी सफल भएका थिए ।

‘बालकलाई हामीले निकाल्दा करिब साढे २ बजेको थियो । बच्चालाई जीवितै निकाल्न पाएकोमा निकै खुसी छु’, महतोले भने ।

भिडियोमा उद्धार गर्नुअघि तलबाट बच्चा रोइरहेको आवाज सुनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर