प्राकृतिक विपत्तिका बेला हवाई भाडा बढाइएको जनगुनासो, के भन्छन् एयरलाइन्स ? – Nepal Press

प्राकृतिक विपत्तिका बेला हवाई भाडा बढाइएको जनगुनासो, के भन्छन् एयरलाइन्स ?

अमेरिकाबाट प्रधानमन्त्रीको स्टाटस- पहिलेकै सहुलियत दर कायम गर्नुस्

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश सडक मार्गहरू अवरुद्ध भएका छन् । अहिले काठमाडौं उपत्यकामा आउजाउ गर्नका लागि हवाई यातायातको विकल्प छैन । तर, आन्तरिक उडान गर्ने विमान कम्पनीहरूले यही बेलामा भाडा बढाउन थालेका छन् ।

दशैँ मनाउन उपत्यका छोड्नेहरूले अग्रिम टिकट बुकिङ गर्न थालेको अवस्थामा हवाई भाडा बढाइएको हो । दशैँमा उपत्यका (काठमाडौं) बाट जानेहरू धेरै हुने भए पनि फर्कँदा खाली आउनुपर्ने एयरलाइन्सहरूको तर्क छ । नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा आफूहरू माथि नगएको दाबी पनि एयरलाइन्सहरुले गरेका छन् ।

काठमाडौंबाट विराटनगर जान सामान्य अवस्थामा ५ हजार ५ सयमा टिकट पाइन्थ्यो । अहिले त्यही टिकटको ९ हजार ९ सय रूपैयाँ तिर्नुपर्ने भएको छ । नेपालको आन्तरिक उडानमा सबैभन्दा महँगो हवाई भाडा काठमाडौं-धनगढीको हो । यो गन्तव्यको अरु बेला ७ हजार ९०० रूपैयाँसम्ममा टिकट पाइन्थ्यो । अहिले एयरलाइन्सहरूले यात्रुहरूबाट ११ हजार रूपैयाँसम्म ठटाउन थालेका छन् । यी दुई प्रतिनिधि भाडादर हुन् ।

अधिकांश कम्पनीहरूले भाडादर माथिल्लो सीमामा पुर्‍याएका छन् । यसलाई ती एयरलाइन्सहरूले पनि स्वीकार्छन् ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिले एयरलायन्सहरूले लोअर लिमिट (तल्लो सीमा) को टिकट बिक्री गरिसकेकाले माथिल्लो सीमा (अपर लिमिट) मा बिक्री भइरहेको बताए । काठमाडौंबाट विराटनगर जाने भाडा ९ हजार ९ सय माथिल्लो सीमा हो ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी सरकारले तोकेको भाडादरमै आफूहरूले यात्रु उडाइरहेको बताउँछन् । सामान्य अवस्थामा भन्दा अहिले भाडा दर महंगो भएको विषयमा उनले दशैँको बेला पहिले पनि यस्तै गर्ने गरेको तर्क गरे ।

‘केही बढेको हो तर सरकारले दिएको माथिल्लो सीमाभन्दा माथि गएका छैनौं,’ जोशीले भने ।

यता वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की भने ६ वर्षदेखि एउटै भाडादर कायम भएको बताउँछन् ।

उनले भने, ‘हामीले भाडादर बढाएका छैनौं । ६ वर्षदेखि एउटै छ । बरु इन्धनको मूल्य घटबढ हुँदा फ्युल सरचार्ज भने अपडेट हुन्छ ।’

यता यतिएयरलाइन्सका प्रवक्ता बर्तौला काठमाडौंबाट बाहिर जानेबेला भरिने जहाज फर्किने बेला खाली हुने भएकाले अधिकतम मूल्यमा रहेर टिकट बिक्री गर्न थालेको बताउँछन् ।

उनले भने, ‘जहाजको एउटा उडानमा २ लाख खर्च हुन्छ । आउँदा ५० हजार मात्र उठ्ने भएपछि जाने यात्रुहरूसँग आउने भाडा पनि जोडेर लिनु परिहाल्यो । तर, सरकारले तोकेको माथिल्लो सीमाभन्दा हामी माथि गएका भए कारवाही भोग्न तयार छौं ।’

प्रधानमन्त्रीको आग्रहः सहुलियत दरको भाडा कायम गर्नुस्

हवाई भाडा बढेको जनगुनासोसँगै अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहुलियत दरको हवाई भाडा कायम गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हवाई भाडा अरु बेलाभन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।’

कसरी निर्धारण हुन्छ हवाई भाडादर ?

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले लागू गरेको उच्चतम सीमा र न्युनतम सीमाभित्र रही हवाई सेवा प्रदायकहरुले भाडा निर्धारण गर्नुपर्ने हुन्छ । क्यानले हवाई भाडा नियमन सम्बन्धी निर्देशिका २०७३ मार्फत ट्रङ्क, टूरिस्ट र स्टोल गरी तीन समूहमा विभाजन गरी हवाई भाडा तोक्ने गर्छ । तोकिएको भाडामा इन्धनको मूल्यअनुसार ‘सरचार्ज’ पनि जोडिन्छ ।

ट्रंक भनेको सुगम र स्टोल भनेको दुर्गम हो । सुगम ठाउँको उडानमा यात्रु सेवा शुल्क भनेर प्रतियात्रु ५ सय रूपैयाँ भाडामा जोडिन्छ भने दुर्गमको प्रतियात्रु २ सय रुपैयाँ रहेको छ ।

हवाई भाडामा इन्धन अधिशुल्क र यात्रु सेवा शुल्क जोडेर यात्रुहरुबाटै एयरलाइन्सहरुले असुल्न पाउने गरी क्यानको निर्देशिकाले व्यवस्था गरेको छ । न्युनतम सीमाभन्दा कम मूल्यमा पनि भाडादर कायम गर्न नहुने व्यवस्था निर्देशिकाको छ । तर ठुला चाडबाड र एकतर्फी यात्रु ओसार्नुपर्ने विशेष परिस्थितिमा भने कम्पनीहरूले विशेष छुटमा हवाई भाडा लिन पाउने व्यवस्था रहेको छ ।

विपतको बेला भाडादरमा सहुलियत दिन क्यानको निर्देशन

नागरिक उड्डयन प्राधिकरणले पनि दशैँको बेला एकतर्फी यात्रुको चाप हुने भएकाले कम्पनीहरूले माथिल्लो सीमामा रहेर टिकटदर कायम गरेको बताएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयरलाइन्सहरूले तोकिएकै सीमाभित्र रहेर भाडादर कायम गरेको स्वीकार गरे । तर, अहिले प्राकृतिक विपत् भएकाले सहुलियत दरमा यात्रु उडाउन प्राधिकरणले आजै मात्र निर्देशन दिएको उनले जानकारी दिएका छन् ।

भुलका अनुसार रामेछापबाट तारा, सीता र समिट एयरले उद्धार उडान गरिरहेका छन् भने रोशीखोला गाउँपालिकाबाट सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर बिरामी तथा घाइतेलाई धुलिखेल हस्पिटलमा ल्याउने काम भइरहेको छ ।

संसदीय समितिको चासो

विमान सेवा कम्पनीले आफूखुसी भाडा बढाएको भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था सुशासन समितिले पनि चासो देखाएको छ । समितिले सभापतिको निर्देशनबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै पर्यटनमन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको छ ।

दशैँको मुखमा विपद्ले जनमानसमा त्रास भइरहेको साथै सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परिरहेको बेला वैकल्पिक साधन हवाई यातायातमा समेत एयरलाइन्सहरूले मनलाग्दी भाडा बढाएको समितिको निचोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर