झ्याप्ले खोलामा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै – Nepal Press

झ्याप्ले खोलामा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै

रुपन्देही । एसईई तयारी गरेका बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीय दीपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । विद्यालयमा उत्कृष्ट नतिजा ल्याउँदै गरेका उनीहरु शुक्रबार आमालाई लिएर नयाँ खुसीयाली पाउन काठमाडौं जाँदै थिए ।

तर झ्याप्ले खोलाको पहिरोमा आमासँगै दाजुबहिनीको अस्ताए । कक्षा १० मा अध्ययनरत उनीहरू धेरैलाई सूचना नै नदिइ अनलाइन फाराम भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेका थिए । शुक्रबार उनीहरू आफ्नो सपना पूरा गर्न काठमाडौंतिर हिँडे । बुटवलबाट छुटेको लु १ ज ४५७८० नम्बरको वींगरमा टिकट लिई दीपेश, दीपिका र आमा सीता भट्टराई काठमाडौं गएका थिए ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ स्थायी भएको भट्टराई परिवार बुटवलमै बसेर उनीहरुलाई पढाउँदै आएका थिए । यी दाजु(बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेपछि दोस्रो चरणको लागि उनीहरू बंगलादेश जान आमासँगै काठमाडौं हिँडेका थिए ।

बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा ३२ राष्ट्रका विद्यार्थीसँग प्रतिस्पर्धा उनीहरूको जीवनकै महत्वपूर्ण कार्यक्रममा उनीहरु जान लागेका थिए । यो विषय विद्यालयलाई पनि धेरै पछि जानकारी भएको थियो ।

‘कक्षा १० मा आउने एसईईमा उत्कृष्ट अंक ल्याउने सूचीका विद्यार्थी थिए, कक्षामा उनीहरु निकै अब्बल विद्यार्थी थिए बहुविधामा, आफैँ अनलाइन फाराम भरेर छनौट भएपछि हामीले सहभागिताका लागि जान भनेका हौं, आमासँग गएका उनीहरु त्यो खुसी देख्नै पाएनन्, उनीहरुको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ’, विद्यालयका प्राचार्य दिनेश थापाले भने ।

विद्यालयका शैक्षिक संयोजक दीपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् ।

उनीहरूको यात्रा काठमाडौंका हुँदै बंगलादेशसम्मको भएपनि त्यो यात्रा झ्याप्ले खोलामै सकिएको छ । काठमाडौं पुग्न करिब २० किलोमिटर मात्र बाँकी रहेको धादिङको झ्याप्ले खोलामा उनीहरु रहेको वींगर शुक्रबार पुरिएपनि शनिबार मात्रै भेटिएको थियो ।

गाडीमा रहेका दीपेश–दीपिकासहित १४ जनाकै मृत्यु भएको हो । दीपेश–दीपिकाका बाबु होमनाथ भट्टराई कोरियामा काम गर्दैछन् । उनका १५ वर्षका छोराछोरी दीपेश–दीपिकाले बुटवलको कालिका माविमा भविष्य निर्माणको यात्रा थालेका थिए । उनीहरूको लक्ष्य थियो एसईईमा उत्कृष्ट प्रदर्शन गरेर उच्च शिक्षातर्फ अग्रसर हुने ।

शुक्रबार बिहान पनि श्रीमती सीता र छोराछोरीसँग होमनाथको कुरा भएको आफन्तहरु बताउँछन् । उनीहरू बङ्गलादेशको सम्मेलनका लागि निकै उत्साहित थिए तर, होमनाथलाई कल्पना थिएन कि आफ्नो परिवार सधैँको लागि गुमाएको खबर सुन्नुपरेको छ ।

होमनाथ भट्टराई कोरियाबाट फर्किए पनि घरमा परिवारका सदस्य पाउनेछैनन्, शोकमा डुबेको आफन्त र छरछिमेकको भीड मात्रै हुनेछ । सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर