झ्याप्लेखोला पहिरोभित्र बिलाए नवविवाहित जोडी : २० दिनपछि कोरिया फर्किने टिकट थियो प्रकाशको – Nepal Press

झ्याप्लेखोला पहिरोभित्र बिलाए नवविवाहित जोडी : २० दिनपछि कोरिया फर्किने टिकट थियो प्रकाशको

रुपन्देही । पहिरोका विपत्तिमा परेर बुटवल उपमहानगरपालिका–वडा नं १६ सेमलारका ३७ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती ३४ वर्षीया अनु मल्लले विवाह गरेको डेढ महिनामै सँगै ज्यान गुमाएका छन् । दुई महिनाअघि कोरियाबाट नेपाल फर्केका प्रकाशले काठमाडौंकी अनुसँग साउन २७ गते विवाह गरेका थिए ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह पुर्ख्यौली घर भएका उनीहरू विवाहपछि घुम्न गुल्मी पुगेका थिए । गुल्मीबाट फर्किएर प्रकाश र अनुले विवाह दर्ता गराएर केही आफन्त भेटघाट गरे भने केही ठाउँ सँगै घुमेर विवाहपछिको जिन्दगीका योजना बनाएका थिए ।

तर ती योजना डेढ महिनामै बिलाएका छन् । शक्रबार राति धादिङको झ्याप्लेखोला पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको वींगरमा सवार प्रकाशको २० दिनपछि अर्थात अक्टोबर १८ गते कोरिया फर्किने टिकट रहेको थियो । यही गाडीमा च्यापिएर प्रकाश र अनुको दुःखद अन्त्य भएको हो । उनीसँगै गएकी प्रकाशकी बहिनी सिजनाको पनि पुरिएर मृत्यु भएको छ ।

प्रकाश केही समयमा हिँड्ने भएकाले र अन्य परिवार काठमाडौंमै रहेकाले भेटघाट गर्ने र उतैबाट कोरिया फर्किने उद्देश्यले उनीहरुले शुक्रबार बिहान टिकट काटेर हिँडेका थिए । दाजु–भाउजूले आग्रह गरेपछि बहिनी सिर्जना पनि सँगै काठमाडौं हिंडेकी थिइन् ।

उनले पनि भारतको बेंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर बेलायत जानका लागि भाषा कक्षा पढ्दै थिइन् । भाषा कक्षाको परीक्षा दिनुपर्ने भएकाले काठमाडौंबाटै दिने गरी दाज–ुभाउजूसँगै गएको दाजु गोविन्द कुँवरले बताए । उनी सबै पीडा बोकेर पारिवारिक जिम्मेवारीअनुसार शव बुझ्न काठमाडौं गएका छन् ।

‘दैवले खोजेर लैजान्छ भन्थे त्यस्तै भयो मेरो परिवारमा, खै के भयो भयो, मैले भन्ने सक्दिनँ’, उनले पत्रकारसँग भनेका छन् । शुक्रबार बिहान घरबाट हिँडेका उनीहरू चढेको गाडी पुरिएको भन्ने खबर शनिबार साँझ मात्रै परिवारले खबर पाएका थिए ।

यही गाडीमा गुल्मीको गुल्मी दरबार गाउँपालिकाको चारपालाका विवेक रायमाझीले परिवारका तीन सदस्य गुमाएका छन् । उनका ६३ वर्षीय बुवा जुद्धबादुर रायमाझी, उनकी श्रीमती २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका छोरा क्रिस रायमाझीको मृत्यु भएपछि विवेकले अत्यन्तै पीडादायक अवस्थामा मलाई मात्रै किन छाडेको भनेर सामाजिक सन्जालमा लेखेका छन् । ‘सबै खुशी एकएक गरेर लगिस्, अब मलाई मात्रै लग्न बाँकी छ’ विवेकले फेसबुकमा लेखेका छन् ।

उनीहरू तीनै जना काठमाडौंमा प्रमिताका श्रीमान् विवेकले मोटरसाइकलको व्यवसाय गर्ने भएकाले उतै बस्ने गरी हिँडेका थिए । शुक्रबारदेखि अविरल वर्षापछि आएको बाढीपहिरोले यस्ता धेरै विपत्ति ल्याएको छ ।

यो गाडीमा तीन परिवारका तीन तीन सदस्यको एकैपटक निधन भएको छ । १४ जना सवार भएपनि एक चालक र अन्य एक यात्रुको पहिचान खुलेपनि बाँकीको पहिचान खुलेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर