अलपत्र ६ सय यातायात मजदुरको उद्धार गरिदिन संगठनको माग – Nepal Press

अलपत्र ६ सय यातायात मजदुरको उद्धार गरिदिन संगठनको माग

चालक कृष्ण मैनालीले भने- कसरी बाँच्ने भन्ने पीरमा छौं 

काठमाडौं । काभ्रे जिल्लाको नार्के, कालढुङ्गा, आपटारी लगायतका स्थानहरुमा अलपत्र परेका यातायात मजदुरहरु र यात्रुहरुको तत्काल उद्धारको व्यवस्था गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारसँग माग गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि उक्त स्थानमा फँसेका चालक, सहचालक, परिचालक तथा यात्रुहरु आइतबारसम्म पनि भोकभोकै बस्नु परेको जनाउँदै तत्काल उद्धार तथा खाद्यान्नको व्यवस्था गर्न माग गरेको छ ।

हाल त्यस क्षेत्रमा करिब ३० वटा बस, २५० माइक्रो बस, २२ को संख्यामा विङ्गर भेन, १५० वटा विद्युत्तीय भ्यान, ४० वटाको संख्यामा सुमो जिप गरि करिब ५ सय सवारीसाधन र त्यसमा कार्यरत करिब ६ सय चालक, सहचालक, परिचालकहरु अलपत्र परेको उल्लेख गरिएको छ ।

त्यस्तै, धेरै यात्रुहरु हिँडेर गन्तव्य स्थल तर्फ लागेको भएपनि बृद्धबृद्धा, केटाकेटी तथा महिलाहरु गरि करिब ६ सयको संख्यामा यात्रुहरु समेत रहेकाले उनीहरुको तत्काल उद्धार तथा उद्धार नभएसम्म खाद्यान्नको व्यवस्था गर्न संगठनले अपिल गरेको छ ।

झापाको दमकबाट यात्रु लिएर काठमाडौं आउँदै गरेका चालक कृष्ण मैनाली तीन दिनदेखि कालढुङ्गामा अलपत्र परेर बसेका छन् । बा ५ ख ७३७ नम्बर हायस चालक मैनालीले भने हामी भोकभोकै भइसक्यौं यहाँ किनेर खाने पसल केही छैन अकै गाडीमा आएका यात्रुले ल्याएको चामल एक छाक पकाएर खायौं बाँकी कसरी बाँच्ने भन्ने पीरमाछौं, सँगै यहाँ रहेका महिला, बालबालिका, वृद्धवृद्धाहरु पनि समस्यामा छन् मैनालीले भने ।

बिहीबार रातिदेखि शनिबार साँझसम्म लगातार परेको वर्षाका कारण देशैभरी क्षति पुर्याएको र ठूलो मात्रामा जनधनको क्षति भएपनि सरकारले पर्याप्त तयारी र उद्धार नगरेकोमा संगठनले आपत्ति जनाउँदै  दर्जनौ नागरिकहरु बेपत्ता रहेको, झ्याप्ले खोलामा पुरिएका सवारी साधनहरु र त्यहाँ पुरिएका मजदुर सहित नागरिकको तत्काल र प्रभावकारी उद्धार गर्न संगठनले सरकारसँग अपिल गरेको छ ।

विज्ञप्तिमा संयौं नागरिकहरुको ज्यान गएकोछ उनिहरुको पहिचान गर्दै आश्रित परिवारलाई तत्काल राहतको घोषणा र घाइतेहरुको तत्काल उपचारका लागि सरकारसंग माग गरेको ।

बाढीपहिरोका कारण ठुलो मात्रामा भौतिक पूर्वाधारहरु ध्वस्त बनेको नागरिकहरु घरबारविहीन भएको धेरैको सवारीसाधनहरु ध्वस्त बनेकाले सरकारको तर्फबाट राहत प्याकेज घोषणा गर्न अपिल गरेको छ ।

साथै वपिद्का कारण भौतिक र मानवीय क्षतिको मुल्याङ्कन गर्न, यसले पारेको असरहरुको यथार्थ विवरण तयार गर्न, यस्ता खालका विपद्मा तत्काल उद्धारका लागि रणनीति बनाउन र पीडितहरुलाई राहतका लागि नीति तय गर्न सरोकारवाला सम्मिलित आयोग तत्काल गठन गर्न सरकारसंग माग समेत गरेको छ ।

असोज १० गते बिहीबार रातिदखि १२ गते शनिबार दिनभरी करिव ३६ घण्टा निरन्तरको वर्षाका कारण बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा सडकमा क्षति पुगेको छ । सयौंको मृत्यु भइसकेको छ ।

दर्जनौं नागरिकहरु बेपत्ता छन् । सार्वजनिक सवारीसाधनहरु निर्वाध चल्न नसक्दा जनजीवन कष्टकर बनेका छन् । यातायात मजदुर तथा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर