यस वर्षको मनसुनकाे सबैभन्दा बढी मार काठमाडौं उपत्यकालाई – Nepal Press

यस वर्षको मनसुनकाे सबैभन्दा बढी मार काठमाडौं उपत्यकालाई

६ वर्षयता मनसुनमा यस वर्ष सबैभन्दा धेरै मानवीय क्षति

काठमाडौं । पछिल्ला ६ वर्षकै मनसुन अवधिमा सबैभन्दा बढी यस वर्ष मानवीय क्षति भएको पाइएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ६ वर्षयता मनसुन अवधिमा यस वर्ष सबैभन्दा बढी मानवीय क्षति भएको हो ।

प्राधिकरणका अनुसार यस वर्षको मनसुन सुरु भएदेखि अहिलेसम्मको अवधिमा बाढी, पहिरो तथा अविरल वर्षाका कारण ३७५ जनाको ज्यान गइसकेको छ भने १०४ जना बेपत्ता भएका छन् । यसै अवधिमा ३८५ जना घाइते भएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार यस वर्ष जेठ २८ देखि भदौ २२ गतेसम्म मनसुनको ९० दिनमा मनसुनजन्य घटनामा परेर २२५ जनाको मृत्यु भएको छ । ४९ बेपत्ता र २८४ जना घाइते भएका छन् । ९० दिनको अवधिमै मनसुनजन्य विपद्बाट ४ हजार ६१५ परिवार प्रभावित भएका छन् ।

यस्तै मनसुन सकिनै लाग्दा असोज १० गतेदेखिको अविरल वर्षाका कारण देशभरमा बाढी, पहिरो तथा डुबानका घटनामा परेर १५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । ५६ जना बेपत्ता छन् । यस्तै ११० जना घाइते भएको प्राधिकरणका सहसचिव अधिकारीले जानकारी दिए ।

यस वर्ष मनसुन अवधिमा भएको अविरल वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकाले व्यहोर्नुपरेको छ । मनसुन पहिलो चरणको ९० दिनको अवधिलाई हिसाब नगर्दामात्रै पछिल्लो ३ दिनको अवधिमा परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै ७४ को मृत्यु र १० जना घाइते भएका छन् ।

यस्तै २० जना अझै बेपत्ता रहेको जनाइएको छ । उपत्यकामा पनि सबैभन्दा बढी काठमाडौंमा ४७ जनाको मृत्यु भएको छ । ललितपुरमा २२ को मृत्यु हुँदा भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । उपत्यकाका ३ जिल्लामध्ये ललितपुरमा १४ र काठमाडौंमा ६ जना बेपत्ता छन् । यस्तै १० जना काठमाडौंमा घाइते भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले यही असोज १६ गते घटस्थापनाको अघिल्लो दिनदेखि नेपालबाट मनसुन बाहिरिने अनुमान गरेको थियो । यद्यपि अहिलेको अवस्था हेर्दा यस वर्ष अक्टोबरको दोस्रो सातासम्म मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

२०७७ सालको मनसुनमा सबैभन्दा बढी मानवीय क्षति

यस वर्षभन्दा अघि २०७७ सालमा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । २०७७ मा मनसुन अवधिमा ३४८ को मृत्यु, १०१ बेपत्ता र २८९ जना घाइते भएका थिए ।

त्यस्तै २०७६ सालको मनसुन अवधिमा १६१ जनाको मृत्यु हुँदा ३८ बेपत्ता र १२१ जना घाइते भएका थिए । २०७८ सालमा मनसुन अवधिमा १४२ जनाको मृत्यु हुँदा ४२ बेपत्ता र १५३ जना घाइते भएका थिए । २०७९ सालमा ११९ जनाको मृत्यु हुँदा ३२ बेपत्ता र११५ जना घाइते भएका थिए ।

गत वर्ष मनसुन अवधिमा ६३ जनाको मृत्यु हुँदा ३० बेपत्ता र ६९ जना घाइते भएका थिए ।

२०७८ मा सिन्धुपाल्चोकको मेलम्चीमा बढी क्षति

२०७८ सालमा मनसुन अवधिमा देशभर १४२ जनाको मृत्यु हुँदा ९१० घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । जसमा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बासिन्दाले सबैभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो । मनसुनपछि आएको बेमौसमी वर्षाका कारण त्यस वर्ष ४०४ घरपरिवार प्रभावित भई ठूलो धनजनको क्षति भएको थियो । १ हजार २२० जनाको मृत्यु भएको थियो । सबैभन्दा धेरै घटना पहिरोबाट भएको थियो ।

यसैगरी मनसुन अवधिमा मनसुनजन्यबाहेक अन्य विपद्का ५७७ वटा घटनाबाट १ हजार ४७१ घरपरिवार प्रभावित भएका थिए । ४० करोडभन्दा बढीको क्षति भएको थियो ।

२०७९ सालमा अछाममा सबैभन्दा बढी क्षति

२०७९ सालको मनसुन अवधिमा मनसुनजन्य घटनामा परेर ११९ जनाको मृत्यु भएको थियो । २ हजार ३०३ घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । जिल्लागत रुपमा २०७९ मा अछाम जिल्लाका बासिन्दाले सबैभन्दा धेरै क्षति व्यहोर्नुपयो ।

यसैगरी मनसुन अवधिमा मनसुनजन्यबाहेक अन्य विपद्का १ हजार ४५७ वटा घटनाबाट १ हजार ९६० घरपरिवार प्रभावित भएका थिए । जसबाट अनुमानित ७० करोडभन्दा बढीको क्षति भएको थियो ।

२०८० मा संखुवासभामा सबैभन्दा बढी क्षति

२०८० सालको मनसुन अवधिमा ७६९ घटनामा परेर ६३ जनाले ज्यान गुमाएका थिए । ५ हजार ९३७ घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । २०८० को मनसुनमा संखुवासभाका बासिन्दाले सबैभन्दा धेरै मानवीय क्षति व्यहोरे ।

यसैगरी मनसुन अवधिमा मनसुनजन्यबाहेक अन्य विपदका घटनामा १ हजार ५७२ घरपरिवार प्रभावित भए । करिब ४५ करोड ६० लाखभन्दा बढीको क्षति भयो । गत वर्ष पहिरोबाट सबैभन्दा बढी ४५९ घटनामा परेर ४५ को मृत्यु, ९ बेपत्ता र ५० जना घाइते भएका थिए । पहिरोबाट १ हजार ९४८ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

दोस्रोमा बाढीका १४२ घटनामा परेर १६ को मृत्यु, २१ बेपत्ता र ७ जना घाइते भए । गत वर्ष बाढीबाट ३ हजार ७२६ परिवार प्रभावित भएका थिए । यस्तै अविरल वर्षाका १६८ घटनामा परेर २ को मृत्यु र १२ घाइते भएका थिए । अविरल वर्षाका कारण २३ परिवार प्रभावित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर