नख्खुको बाढीले निल्न नसकेका दाजुभाइको बयान: त्रासदीका ती पल… – Nepal Press

नख्खुको बाढीले निल्न नसकेका दाजुभाइको बयान: त्रासदीका ती पल…

‘उद्धार गर्ने दाइहरु ‘बंगुर’ भन्ठानेर समात्न आउनुभएको थियो’

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेड नम्बर ३५२ । ७ वर्षीया बालिका मेघना साह बुवालाई ‘छिटो घर जाऔं’ भन्दै कर गरिरहेकी थिइन्, तर बुबा राजु साहसँग छोरीलाई लैजाने ‘घर’ थिएन । उनी ‘बेलुका जाने है’ भन्दै छोरीलाई फकाइरहेका थिए ।

हातखुट्टाभरि चोट लिएर सोही अस्पतालमा उपचाररत छन् राजुका २२ वर्षीय भाइ राज साह पनि । डाक्टरले आज नभए भोलि बिहानसम्म उनीहरु दुबैजनालाई डिस्चार्ज गर्ने बताएका छन्, तर डिस्चार्ज भइसकेपछि जाने कहाँ भन्ने थाहा छैन ।

सँगैको बेडमा भर्ना भएका दाइ राजुलाई भने अस्पतालले हिजै डिस्चार्ज गरेको थियो । छोरी र भाइ अस्पतालमै भएकाले उनी पनि त्यही छन् । सोधीखोजी गर्दै भेट्न आइपुगेकाहरुलाई उनीहरु घटना विवरण सुनाउँदै थिए ।

फेसबुकमा आएका नानाथरिका कुरा देखेर राजु र राज असन्तुष्ट छन् । सामाजिक सञ्जालभरि नै उनीहरुको भिडिओ छाएको छ । बाढीले चारैतिर बगाएर लगेपछि ज्यान जोगाउन उनीहरु टहरोमाथि चढेर उद्धारको प्रतीक्षामा बसेका थिए । चार घण्टासम्म पनि उनीहरुको उद्धार हुन सकेन । राजुसहित भाइ राज, ७ र ४ वर्षका दुई छोरी मेघना र सेतु तथा साथी देवराज कार्की बाढीमा बगे ।

बाढीबाट राजुसहित भाइ र जेठी छोरी जोगिए पनि कान्छी छोरी र साथी बेपत्ता छन् । हालसम्म उनीहरुको अवस्था अज्ञात छ ।

राजु र राजले नेपालप्रेसलाई सुनाएको विवरण जस्ताको तस्तै

तस्बिरहरु: नविनमुनि स्थापित

हाम्रो घर रौतहट हो । नख्खुको कान्तिपुर कोलोनी नजिकै हाम्रो ग्रिल कारखाना थियो । त्यससँगै कबाडी कारखाना पनि छ । हामी त्यहाँ ग्रिल कारखाना खोलेर बसेको तीन वर्ष जति भयोे ।

कारखानामा अरु कामदारहरु पनि काम गर्छन् । हामी चारजनाको परिवार चाहिँ कारखानाकै एउटा कोठामा बस्थ्यौं । परिवारमा म, भाइ र दुई छोरी थियौं । मेरो श्रीमती छैन ।

अस्तिको दिन कुलेश्वरतिर बस्ने देवराज दाइ हाम्रोमा बेलुकापख आउनुभएको थियो । फर्किन लाग्दा ‘राति गाडी पाइँदैन, यतै बस्नु’ भन्यौं । त्यो रात उहाँ हामीसँगै बस्नुभएको थियो । अरु कामदार दिनभरि काम गरेर बेलुका आफ्नो घर जान्थे । कहिलेकाहीँ काम पर्दा त्यही बस्थे । त्यो दिन चाहिँ परिवारका सदस्यबाहेक अरु कामदार बसेका थिएनन् ।

घर रौतहट भए पनि कहिले कता कहिले कता काम गर्दै हिँड्ने गरेकाले कतै स्थायी बास भएन । यो पालि चाहिँ आफैं यहाँ कारखाना खोलेर बसेका थियौं । यो ठाउँमा बर्खामा पनि पानी पस्ने गरेको थिएन । हामीले कहिल्यै यसरी खोला उर्लेको थाहा पाएनांै । कहिलेकाहीँ अलिअलि पानी आउँथ्यो र आफैं सुकेर जान्थ्यो । डाँडाको पानी आउँथ्यो, जान्थ्यो ।

त्यस राति लगातार पानी परिरह्यो । कारखानाभित्र पानी पस्न थाल्यो । अब कता जाने भन्ने भयो । आधा रातमा कसको घरमा गएर बस्ने ? बाइक बगाउला कि भनेर मैले अलि माथि राखेको थिएँ । हामी पनि माथितिर जानैपर्ला भनेर योजना बनाइरहेका थियौं । एक्कासि ठूलो पानी आइदियो । कारखाना पूरै डुबायो । सबैतिर भत्किँदै जान थाल्यो । तीनदेखि चार मिनेटभित्र कारखाना पानीमा मिल्यो । के गर्ने, कसो गर्ने भन्दाभन्दै उज्यालो भयो । हामी डुबानमा परेका थियौं ।

कारखाना गहिरो ठाउँमा भएकाले बाटोको लेभलसम्म पानी आउँदैन जस्तो लागेको थियो । मेन बाटो त डुबाउँदैन भन्ने मलाई विश्वास थियो । त्यहाँ आले भन्ने भाइले माथितिर जाने कि क्या हो भनेर भनेका थिए । यति राति कसको घर जाने भनेर गएनौंं । जे होगा, देखा जाएगा भनेर बस्यौं ।

म त रातभरि सुत्न सकेको थिइनँ । खोलामा पानी बढ्न थालेपछि ४ बजे नै सबैलाई उठाएँ । तलको पुल पनि हेरेर आएँ । त्यो पुल लगिसकेको थियो । त्यतिबेलासम्म खोला आफ्नै गतिमा बगिरहेको थियो । ५ बजेतिर अझै पानी बढ्यो । सबैलाई कारखानाबाट निकालें ।

हाम्रो कारखानाभन्दा करिब ७० फिट दुरीमा एउटा टहरो थियो । मुन्तिर नौ इन्चको गाह्रो र माथि जस्ताले बारिएको । भित्र खाली नै थियो । हाम्रो कारखानाभन्दा अग्लो ठाउँमा भएको हुँदा त्यो डुब्दैन भन्ने भयो । हामी पाँचै जना त्यही टहरोमा गयौं ।

यतिञ्जेलसम्म पानी घट्ने र बढ्ने भइराखेको थियो । टहरोभित्र हामी पानी घट्ने प्रतीक्षामा बस्यौं, तर पानी निरन्तर बढ्न थाल्यो । बाहिर जान सक्ने अवस्था थिएन । म टहरोको जस्तालाई बीचबाट उप्काएर माथि उक्लिएँ । यसपछि दुई छोरीलाई उकालें । देवराज दाइ पनि चढ्नुभयो । टहरोमाथि दुवै बच्चासहित मनमा आश र त्रास बोकेर बसिरहें । वरिपरि मानिसहरुले हेरिरहेका थिए । पक्कै उद्धार हुन्छ भन्ने आशा थियो ।

पहिला त हामीलाई भाग्ने चान्स थियो, तर यो खोला यस्तो डरलाग्दो गरी आउँछ भन्ने लागेको थिएन । हामी टहरोमा ५ देखि ९ बजेसम्म ४ घण्टा बस्यौं । फोन गर्ने वातावरण थिएन, तर मैले जग्गाधनीको छोरालाई फोन गरेको थिएँ । उहाँले म आएको छु भनेर त भन्नुभयो, तर मैले देखिनँ ।

पक्कै पनि यो खोलाले हामीलाई बगाएर लग्दैन भन्ने लागेको थियो । तल इँटाको पर्खाल भएकाले पनि टहरो भत्किँदैन भन्ने सोचेको थिएँ । एकाएक त्यहाँ रोकिराखेको एउटा टिपरलाई बाढीले बगाएर ल्याएको ठूलो रुखले हान्यो । रुख चाहिँ टहरोको वालमा ठोक्कियो । छेउमै भएको बाँसको टहरो केही भएन, तर हामी बसेको इँटाको गारो भत्कियो ।

देवराज दाइले मेरो कान्छी छोरी समाउनुभएको थियो भने भाइले जेठी छोरी । बाढीले टहरो भत्काएपछि हामी छिन्नभिन्न भयौं । अब त बाँचिन्छ भन्ने लागेकै थिएन । खोलाले हामीलाई लतार्दै यता र उता पुर्‍याइरहेको थियो । मैले होस चाहिँ गुमाएको थिइनँ । बाढीको बेगले धकेलेर मलाई एउटा रुख भएको भित्तातिर पुर्‍यायो । म रुखको हाँगामा बेरिन पुगें । त्यही हाँगोलाई समाएर माथि उक्लिएँ ।

मलाई एम्बुलेसले लिएर आएको हो । भाइ र छोरीलाई पुलिसको गाडीले मेडिसिटी लगेको थियो, तर त्यो अस्पताल डुबानमा परेपछि पाटन ल्याएछ । हामी तीनजना त बाँच्यौं, तर कान्छी छोरी बेपत्ता छिन् । संयोगले हाम्रो घरमा बास बस्नुभएको देवराज दाइ पनि बेपत्ता हुनुहुन्छ ।

भाइ राज के भन्छन् ?

टहरो भत्काएर हामी पानीमा खस्यौं । मैले भतिजी च्यापिराखेको थिएँ । पानीले बगाउँदा पनि मैले उनलाई छोडिनँ । बगाएर लैजाँदै गर्दा मैले एउटा घरको कालो गेट भेटें, तर समाउने ठाउँ पाइनँ । त्योभन्दा अलि उता झाडी थियो । त्यो झाडीमा समाउन गएँ । त्यहाँ नजिकै धेरै मानिस थिए । केही मानिसहरुले ‘बङ्गुर… बंगुर…’ भनेका थिए । सायद मेरो टाउकोमात्र देखिराखेको भएर बङ्गुर होला भन्ठान्नुभएको थियो ।

मलाई लाग्छ, उहाँहरु बंगुर नै भनेर समात्न आउनुभएको हो । त्यसबेलासम्म मैले त छोरीलाई छोडेकै थिइनँ । मरे पनि सँगै मर्छु भन्ने भएको थियो । एकजना दाइ आएर पहिले छोरीलाई उठाउनुभयो र पछि मलाई उठाउनुभयो । उहाँलाई धन्यवाद भन्न चाहन्छु, तर बाहिर हल्ला आए जस्तो खोलाभित्रै हाम्फालेर निकाल्नुभएको चाहिँ होइन । खोलाले पाखा लगाउनेबित्तिकै निकाल्नुभएको हो ।

हामीलाई पुलिसको डीआईजीले अस्पताल ल्याउनुभएको रे ! मैले घरको गेट समाउन नसक्दा चाहिँँ अन्तिम आशा मारिसकेको थिएँ । बगाएको ठाउँबाट उद्धार गर्न ४-५ मिनेटभन्दा बढी लाग्यो । छोरीलाई निकालेर बाहिर ल्याउँदा त मरिसकिन् होला भन्ने लागेको थियो, तर पेटमा थिचेर पानी निकाल्दा जिउँदै रहिछिन् । मेरो त खुसीको सीमा नै रहेन ।

मैले नै दाइको दुवै छोरीलाई स्कुल पुर्‍याउने गरेकी थिएँ । एउटी छोरी त बाँचिन्, तर कान्छी छोरी बेपत्ता छिन् । सारै ज्ञानी थिइन् । जे भने पनि मान्थिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर