विपद्‌मा परेका पर्यटकको उद्धार, खोजी र राहतलाई प्रभावकारी बनाइने पर्यटन विभागको निर्णय – Nepal Press

विपद्‌मा परेका पर्यटकको उद्धार, खोजी र राहतलाई प्रभावकारी बनाइने पर्यटन विभागको निर्णय

काठमाडौं । पर्यटन विभागले अविरल वर्षाको कारण विपदमा परेका पर्यटकको उद्धार, खोजी र राहत कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। विभागका महानिर्देशक डा.नारायणप्रसाद रेग्मीको संयोजकत्वमा आइतबार बसेको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकले विशेष गरी उद्धार उडानको अनुमति प्राप्त गर्ने प्रक्रियामा लामो समय लाग्ने समस्या रहेको उल्लेख गर्दै, यसलाई छोट्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ । साथै, निषेधित क्षेत्रको पुनरावलोकन गर्न पनि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

विपदमा परेका पर्यटकको तत्काल उद्धार गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनलाई समन्वय गर्न आग्रह गरिएको विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका पर्यटकको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडान अनुमति तुरुन्तै दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाल पर्वतारोहण संघको नेतृत्वमा यी क्षेत्रमा रहेका पर्यटकको तत्काल अनुगमन गर्न टोली खटाउने निर्णय पनि गरिएको निर्देशक गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *