मैले लेख्न छाडे समाचार
मलाई अचेल सोध्छन् धेरैले
खोइ कहाँ गए तिम्रा समाचार ?
कैले देशभक्ति त कहिले राज्यको रामकहानी
म आज खोल्दैछु, यसको विस्तृत जानकारी
म कसरी लेखुँ,
के मा लेखुँ?
मैले लेखेको सत्य घटना,
कथामा मात्र सीमित भए
मिडिया हाउसलाई भ्युज,
र अन्य पत्रकारलाई कन्टेन्ट मात्र बने
बलात्कार र मृत्युको घटना कठै विचरा मात्र भए
सरकार गैरजिम्मेवार हुँदा,
मृत्यु आज वकिलका लागि केस मात्र बने ।
ठूला–ठूला नेताले कहिले खोला बेचे,
त कहिले आफ्नै नागरिक !
जनताको दुखपनि,
पार्टीलाइ मत दिएकाको मात्र हेरे
जसको हेरे,
तिनीहरुले भाषण र आश्वासन मात्र पाए
बिरामी भएर अस्पतालमा भर्ना भएकाले
पैसा तिर्न नसक्दा दोस्रो दिन शव मात्रै पाए
मैले नागरिकका कथा र राज्यको कुशासन बाहिर ल्याउन,
राम्रा राम्रा मिडिया खोजे
भाइरल कन्टेन्टको खोजीमा रहने मिडियाले,
प्रकाशन गर्न निकै भाउखोजे
नामका पछाडि खबर र पाटी भएका मिडियाले,
नेताको भाषण मात्र लेखे
त्यही नेताका कारण, उपचार नपाइ मरेका पीडितको
न कथा सुने न बोले ।
हामी राज्यमा बेथिति छ–छ भन्छौं,
मिडिया हाउसकै कर्मचारी आज तलब नपाएर आफैं रुन्छन्
गाउँबाट आफन्त आउँदा न घर जाउ भन्न सक्छन्
न कतै साथी भेट्दा एक कप चिया खाउ भन्न सक्छन्
हामी देशप्रेमी लेखक भावनाले मात्र पेट अघाउँदै आएका छौं ।
एउटा राम्रो समाचार लेख्न हप्तौं लगाउँछौं
सारा घटना र बेतिथि देखाउन खोज्छौं
गलत चिजलाई गलत हो भनि औंल्याउन खोज्छौं
ठूला–ठूला मिडिया हाउस,
आफूलाई विज्ञापन दिनेका समाचार,
लुकाउन खोज्छन्न ।
अब भन्नुस के मा म समाचार लेखौं ?
के मा म आफ्नो भावनापोखौं ?
के मा म अन्याय विरुद्ध बोलौं ?
भो अब धेरै कुरा नबोलौं भयो
जतिबोले पनि हाम्रो सुन्ने कोही भए न हो
त्यसैले सोचे अब समाचार नलेखौं भो ।