विद्यार्थी नेतालाई प्रचण्डले भने- यता लफडा नगर्नुस्,पालिका र सांसदको चुनाव लड्न आफ्नो क्षेत्र फर्किनुस् – Nepal Press

विद्यार्थी नेतालाई प्रचण्डले भने- यता लफडा नगर्नुस्,पालिका र सांसदको चुनाव लड्न आफ्नो क्षेत्र फर्किनुस्

‘आउने चुनाव माओवादी पार्टी आफ्नै शक्तिमा एक्लै लड्ने हो,तपाईहरु राजनीतिक भविष्यको चिन्ता नगरी कार्यक्षेत्रमा खटिएर काम गर्नुस् पार्टीले टिकट उतै पठाउँछ’

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव पार्टी एक्लै लड्न लागेको भन्दै विद्यार्थी नेताहरुलाई आ आफ्नो पालिका र निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको महाधिवेशन बन्दसत्र चलिरहेका बेला इन्चार्ज हिमाल शर्मासहित कार्यालय टोली सोमवार विहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । नेताहरुलाई प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वको लागि लफडा गरेर बस्नुभन्दा आउने चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

अध्यक्ष प्रचण्डले भने–आउने चुनाव पार्टी एक्लै आफ्नै शक्तिमा लड्दैछ । तपाईहरु यता होइन उता आफ्नो निर्वाचन क्षेत्र र पालिकामा खटेर लाग्नुस् । मेहनत गरेर पार्टी बनाउनुस्,तपाईहरुको जिम्मा पार्टीले लिन्छ । राजनीतिक भविष्यको चिन्ता नगर्नुस्,चुनाव लड्ने तयारी गर्नुस् पार्टीले टिकट दिन्छ ।

अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पार्टीले हस्तक्षेप नगर्ने र उमेर हद लगाउने वा नलगाउँने स्वतन्त्र अधिकार हललाई नै दिने निर्णय सुनाएको भेटमा सहभागी उपाध्यक्ष जिपी मैनालीले बताए । उनी अध्यक्षका प्रमुख दाबेदार हुन् ।
अब क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउँने भन्ने एउटा मतदान हुनेछ भने उमेर हद लगाउनेमा हलको बहुमत भएमा कति वर्ष लगाउँने भन्ने अर्को मतदान हुनेछ ।

मैनालीले भने–उमेर हद लगाउने कि नलगाउँने भन्ने र कति वर्ष लगाउँने भन्ने एउटै मतपत्रमा दुईवटा अप्सन राखिन्छ । उमेर हद लगाउँने भन्ने बहुमत भएमा २८,३० र ३२ कति वर्ष राख्ने भन्ने अर्को अप्सन त्यहि मतपत्रमा हुन्छ । उमेर हद नलगाउँने भने दोस्रो अप्सनमा जानै परेन ।
यसअघि माओवादी पदाधिकारी बैठकले पनि उमेर हदबारे हलबाटै निर्णय गर्न दिने सहमति गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *