लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक: सचिवहरुको जिम्मेवारी तोकियो
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुनसक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
बैठकले लुम्बिनी प्रदेशमा तीन दिनको अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुस्ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, परिवारवनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपदअघि, विपदको वेलामा र विपद् पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनीकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र इश्वराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको हो ।
यस्तै मन्त्रिपरिषद बैठकले नवलपरासी वर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिए । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरु थिए । यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।