अमेरिकी दूतावासमा सन्दीपको भिसा आवेदन एक महिनादेखि विचाराधीन – Nepal Press

अमेरिकी दूतावासमा सन्दीपको भिसा आवेदन एक महिनादेखि विचाराधीन

दुई-तीनभित्र भिसा मिल्ने क्यानको आशा

काठमाडौं । विश्वकप लिग २ का लागि नेपाली क्रिकेट टीम अहिले क्यानाडामा छ । लिग २ का खेल सकिएर अहिले नेपाल, क्यानाडा र ओमान टी-२० सिरिज खेलिरहेका छन् ।

क्यानाडापछि नेपाली टीम अमेरिका प्रस्थान गर्ने तालिका छ, जहाँ नेपालले लिग २ का महत्वपूर्ण ४ म्याच खेल्नेछ । उच्च फर्ममा रहेको घरेलु टीम अमेरिकासँग अर्को बलियो टीम स्कटल्यान्डसँग नेपालले दुई-दुई म्याच खेल्ने तालिका छ । तर, यो त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेको सहभागिता अन्योलमा परिरहेको छ ।

सन्दीपलाई अमेरिकी दूतावासले अझै भिसा नदिएकाले उनको सहभागिता निश्चित हुन नसकेको हो । क्यानाडा प्रस्थान गर्नुभन्दा केही दिनअगाडि नै सन्दीपले अरु खेलाडीसँगै अमेरिकाको दूतावासमा आवेदन दिएका थिए । उनको अन्तर्वार्ता भइसकेको थियो । अरु खेलाडीलाई तीन महिनाको भिसा दिए पनि सन्दीपलाई दिइएन । उनको विषयमा चाँडै निर्णय लिइने भन्दै पासपोर्ट फिर्ता दिइएको थियो । सन्दीप क्यानाडाको मात्रै भिसा बोकेर उडेका थिए ।

सन्दीपलाई अमेरिकी दूतावासले यसअघि टी-२० विश्वकप खेल्न जाने क्रममा भिसा दिन मानेको थिएन । दुईपटक आवेदन गर्दा पनि भिसा रिजेक्ट गरिएको थियो । यसपटक भने दूतावासले सकारात्मक रेस्पोन्स गरिरहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘भिसाका लागि आवश्यक प्रक्रिया भइरहेको छ । अब १-२ दिनमा टुंगो लाग्छ होला । दूतावासबाट ग्रीन सिग्नल आएको छ ।’

अमेरिकाबाट सन्दीपको पासपोर्ट नेपाल ल्याएर भिसा लगाइकन फेरि अमेरिका पुर्‍याउने अवस्था छ । नेपालका लागि महत्वपूर्ण प्रतियोगिता भएकाले क्यान कुनै पनि हालतमा सन्दीपलाई छुटाउन चाहँदैन ।

क्यानाडामा नेपालले अन्तिम टी २० म्याच अक्टोबर २ तारिखमा घरेलु टीमविरुद्ध खेल्ने छ । त्यसपछि अक्टोबरको ८ वा ९ तारिखमा नेपाली टीम अमेरिका प्रस्थान गर्ने क्यान प्रवक्ता छुम्बी लामा बताउँछन् । त्यतिञ्जेलसम्म सन्दीपले अमेरिकाको भिसा प्राप्त गर्नसक्ने आशा उनले व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर