नरेश भट्टविरुद्ध हत्याको मुद्दा हाल्न किन आलटाल ? मनाससका प्रहरी प्रमुखले दिए यस्तो प्रष्टीकरण – Nepal Press

नरेश भट्टविरुद्ध हत्याको मुद्दा हाल्न किन आलटाल ? मनाससका प्रहरी प्रमुखले दिए यस्तो प्रष्टीकरण

काठमाडौं । अमेरिका निवासी नेपाली चेली ममता काफ्ले बेपत्ता भएको दुई महिना पुगिसकेको छ । तर, अमेरिकी प्रहरीले उनको लाश र सास दुवै फेला पार्न सकेको छैन ।

ममतालाई उनकै श्रीमान नरेश भट्टले आततायीरुपमा हत्या गरेकोमा नेपाली समूदाय स्पष्ट भइसकेको छ । नरेशले ममताको शरीर टुक्राटुक्रा पारी फरक फरक स्थानमा लगेर डिस्पोज गरेको सरकारी वकिलहरुले दावी गरेका छन् । उनीहरुले अघिल्लो सुनवाइमा केही अकाट्य प्रमाणहरु पेश गरेका थिए ।

यता प्रहरी भने अझै पनि अनुसन्धानकै क्रममा छ । नरेशलाई पक्राउ गरेर हिरासतमा राखिएको भए तापनि उनीविरुद्ध हत्या अभियोग छैन । ‘शव लुकाएको’ कमजोर अभियोग लगाएर उनलाई थुनामा राखिएको हो । यो अभियोगमा दोषी प्रमाणित भएमा पनि सजाय खासै कडा हुँदैन ।
ममताका आफन्तजन तथा समग्र नेपाली समूदाय नरेशमाथि हत्या अभियोग दायर हुने आशा र प्रतिक्षामा छन् ।

नरेशले गरेको गुगल सर्च, घरभित्र रगतका निशानादेखि टकपटक कारमा लगेर पोकाहरु मिल्काएको सीसीटीभी फुटेजले हत्या प्रमाणित हुने उनीहरुको विश्वास छ । अब लाश भेटिने सम्भावना क्षीण रहेकाले प्राप्त प्रमाणहरुकै आधारमा मुद्दा हाल्नुपर्ने देखिन्छ ।

तर, प्रहरी भने अझै ठोस प्रमाण खोजिरहेको छ । गत शनिबार ममताको न्यायका लागि आवाज उठाइरहेका नेपालीहरुबीच मनासस प्रहरी प्रमुख मारियो लुगोले संक्षिप्त सम्बाेधन गरे । उनले आफूहरु अझै पनि अनुसन्धानमा रहेको बताए ।

मारियोको सम्वोधन यस्तो थियो:
तपाईंहरु सबैलाई सन्ध्याकालिन अभिवादन । मलाई यहाँ आएर बोल्ने अनुमति दिनुभएकोमा धन्यवाद । म तपाईंहरु जस्तो ‘ममतालाई न्याय देउ’ भनेर आवाज उठाउने ठाउँमा पनि छैन । मैले ममताको विषयमा अहिलेसम्म गरेका अनुसन्धानबाट के पाएँ भने उनी एक ममतामयी आमा थिइन्, र कामलाई माया गर्थिन् ।

वरिपरिका मानिसहरुले उनलाई माया गर्थे । जे भयो, एकदमै दुखद भयो । गत शुक्रबारको सुनवाइमा धेरै कुराहरु उद्घाटित भएका छन् । सबैलाई यसले सोच्न वाध्य बनायो । आखिर यस्तो किन भयो ?हामी अझै पनि यसमा काम गरिरहेका र्छौं ।

अझै पनि प्रमाणहरु बटुलिरहेका छौं । हार मान्नेवाला छैनौं । अब अक्टोबर १० मा सुनवाइ छ । डिसेम्बरमा ट्रायल छ । मलाई आशा छ कि त्योभन्दा अगाडि नै हामी अर्को मुद्दा हाल्न सक्नेछौं । तपाईंहरुको सहयोग साथका लागि आभारी छौं । यहाँ म तपाईंहरुको जिज्ञासाहरुको समाधान गर्न आएको छु । तर अवश्य पनि मुद्दासँग सम्वन्धित विषयहरु मैले खोल्न मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर