सरकारी कोषमा १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ राहत जम्मा गर्ने मीनबहादुरको घोषणा – Nepal Press

सरकारी कोषमा १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ राहत जम्मा गर्ने मीनबहादुरको घोषणा

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले विपद्‍बाट प्रभावितका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोगको घोषणा गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि प्रदान गर्ने बताएका छन् । लगातारको झरीले हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै गुरुङले सरकारी राहत कोषमा सहयोग रकम जम्मा गर्न लागेको बताए ।

भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।

अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् । अर्बौँ रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रूपैयाँ बराबरको सहयोग गरेका छन् । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।
अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि पनि उनले १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रूपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए ।

त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् । गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।

रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् । उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरूले सो बापत् केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर