तीन दिनदेखि रोकिएका १७ सय बढी सवारी साधन काठमाडौं भित्रिए, बाहिर पनि पठाउने तयारी – Nepal Press

तीन दिनदेखि रोकिएका १७ सय बढी सवारी साधन काठमाडौं भित्रिए, बाहिर पनि पठाउने तयारी

रोशीमा अलपत्र सबैको आजै उद्धार गरिन्छ : गृह मन्त्रालय

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारी साधन काठमाडौं उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

‘आजबाट उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्’, उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।’

त्यसैगरी सोमबार दिउँसो गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत गृहमन्त्री रमेश लेखकले डाकेका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।

‘आज साझँसम्म काभ्रेपलान्चोकको बीपी राजमार्ग अन्र्तगत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्दार भइसक्छ’, प्रवक्ता तिवारीले भने’ ‘अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाइ उद्दारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्दार निरन्तर गरिरहेको छ ।’

प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अप्नाउनुपर्नेमा जोड दिनुभयो ।

‘विस्तारै सडक खुल्ने र खुलाउनेक्रममा छ’, उनले भने, ‘अझै पहिरो लगायत जोखिम टरिसकेको छैन् ।’

अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको छ ।

‘रोशी लगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ’, प्रवक्ता तिवारीले भने, ‘घाइतेहरुको उद्दार गरी विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर