प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार

काठमाडौं । सङ्घीय संसद संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतका सम्बन्धमा उजुरीकर्ताहरूसँग भोलि छलफल गर्ने निर्णय गरेको हो । उनीविरुद्ध ६ वटा उजुरी परेका छन् । गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिले बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतद्वय सेवा लम्साल र चित्रलेखा यादवविरुद्धका उजुरीकर्तासँग पनि भोलि नै छलफल गर्दैछ । उनीहरूविरुद्ध दुइटा उजुरी परेका छन् ।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो । समितिले आज उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूत यादवको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ । बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको भने कार्ययोजना प्राप्त हुन बाँकी छ ।

यस्तै समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ ।

न्याय परिषद्ले निरौला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समितिसमक्ष सूचना पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर