बाढीपहिरो प्रभावित क्षेत्रबाट ७१३ जनाको सकुशल हवाइ उद्धार – Nepal Press

बाढीपहिरो प्रभावित क्षेत्रबाट ७१३ जनाको सकुशल हवाइ उद्धार

काठमाण्डौं । नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपदमा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ ।

गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाण्डौबाट गरी सोमबार साँझसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको हो ।

गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्दारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित भएका गृह मन्त्रालयका सहसचिव प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनले भने, ‘बीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्दार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेलाई अस्पतालसम्म पु¥याइएको छ । निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्दार भएको छ ।’

उनले थप्दै भने, ‘हवाइ उद्दारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ । आवश्यकता अनुसार भोलीबाट पनि हवाइ उद्धार हुन्छ ।’

सेनाको टोलीले उद्दारसंगै हवाइ साधन मार्फत राहत सामाग्री समेत प्रभावित क्षेत्रमा पुर्याउँदै आएको मन्त्रालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको कार्य समेत गृह मन्त्रालय गरिरहेको छ ।

विपद्का घटनामा सुरक्षाकर्मीले मुलुकभरका प्रभावित क्षेत्रबाट ४ हजार भन्दा बढीको सकुशल उद्दार गरेको छ । सोमबार साँझसम्म विपदमा परी २०९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्ग तीव्र रुपमा सुचारु भइरहेको छ भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर