जनकपुरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन, कानून अभावमा भएन कारबाही – Nepal Press

जनकपुरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन, कानून अभावमा भएन कारबाही

जनकपुर । जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।

मापदण्ड विपरीत सञ्चालित मासु पसलको कारण स्थानीय माछा बजार, रेल्वे स्टेशन, पिराडी चोक लगायतको स्थान दुर्गन्धित बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी प्रभाकर झाका अनुसार मासु पसल अनुगमन गर्ने क्रममा अधिकांश पसलको दर्ता नरहेको पाइएको हो ।

उनले मासु काट्ने अचानो झिँगाले भरिएको, जताततै फोहरको डङ्गुर जस्ता समस्या देखिए पनि ऐन अभावमा कारबाही गर्न नसकिएको बताए । ‘जनकपुरधाम उपमहानगरपालिकामा रहेकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अवैध छन्’, उनले भने ।

यहाँ सञ्चालनमा रहेको मासु पसलको यकिन तथ्याङ्क नभए पनि अधिकांश पसल अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेको झाले बताए ।

उपमहानगरपालिकाभित्र अनुमानित एक सयभन्दा बढी सङ्ख्यामा मासु पसल सञ्चालनमा छन् । सोमध्ये केही खुला रुपमै बिक्री वितरण हुँदै आएको छ । ‘कारबाही गर्ने अधिकार स्थानीय तहलाई छ तर मासु जाँच ऐन २०५५ परिमार्जन नभएकोले कारबाही गर्न सकिएको छैन’, उनले भने ।

ऐन परिमार्जनबारे तीनै तहको सरकारबीच छलफल भएको प्रमुख झाले जानकारी दिए । सरसफाइ अभावमा विभिन्न प्रकारका सरुवा रोग फैलिने सम्भावना बढेको उपभोक्ता हित संरक्षण मञ्च धनुषाका अध्यक्ष बटुकनाथ झाको गुनासो छ ।

अखाद्य वस्तु खुवाएर जनताको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नभएकोले सम्बन्धित निकाय तत्काल गम्भीर हुन जरुरी रहेको सामाजिक अभियन्ता अमितकुमार ठाकुर बताउँछन् ।

‘माछामासु पसल उपभोक्ताको हित विपरीत सञ्चालनमा छन् । यसले सिधै मानव स्वास्थ्यमा असर परिरहेको छ’, ठाकुरले भने, ‘शुवधशालाको व्यवस्था गर्नुपर्छ ।’ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा सञ्जिवकुमार ठाकुरले न्यूनतम मापदण्ड पूरा नगरी माछा तथा पशुपक्षीका मासु बिक्री गर्ने पसल सञ्चालनमा रहेको स्वीकार गरे ।

नगरपालिकाले नियमित अनुगमन गरेर न्यूनतम मापदण्ड पूरा नगर्ने मासु पसललाई कारबाही गर्न अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले नियमित अनुगमन गर्दै आएका छौँ, तर प्रभावकारी नभएकाले उपभोक्ता सचेत हुनुको विकल्प छैन’, डा ठाकुरले भने ।

अस्वस्थकर मासु खुवाएर जनताको स्वास्थ्यमा खेलबाड गर्ने मासु व्यापारी तथा व्यवसायीको पसल बन्द हुनुपर्ने अर्का पशु विज्ञ डा पवनकुमार झा बताउँछन् । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर