हेटौंडा-काठमाडौं जोड्ने २ वटा सडक खुलेसँगै यात्रुलाई राहत, जोखिम भने कायमै – Nepal Press

हेटौंडा-काठमाडौं जोड्ने २ वटा सडक खुलेसँगै यात्रुलाई राहत, जोखिम भने कायमै

हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने २ वटा सडक खुलेसँगै यात्रुलाई राहत भएको छ ।

बाढीपहिरोले क्षति पुगेपछि हेटौँडा-भैसे-सिस्नेरी, कान्तिलोकपथ, हेटौंडा-भैंसे-चखेल-काठमाडौं सडक पुर्ण बन्द छ । हेटौंडा-चितवन-मुङ्लिन पनि केही समय बन्द हुने र खुल्ने भइरहेको छ ।

काठमाडौं-भैँसे-चन्द्रागिरी-काठमाडौं र बाईपास भनिने हेटौंडा-पालुङ-नौबिसे सडक भने खुल्ला छ । धुलिखेल तालिममा गएका मकवानपुरका ५ पत्रकार काठमाडौं-हेटौँडाको चन्द्रागिरी मार्गबाट सुमोमा फर्किएको मनोज देवकोटाले बताए ।

साढे १२ बजे यात्रामा निस्किएका उनीहरू थानकोट-चन्द्रागिरी-चित्लाङ-पालुङ-भैँसै हुँदै राति करिब साढे ८ बजे हेटौँडा झरे ।

‘थानकोट कटेपछि चन्द्रागिरिको पहरा छिचोल्नु धेरै जोखिम लाग्यो । केही ठाउँमा पहिरो र लेदो जमेकाले समस्या भयो,’ उनले भने ।

चन्द्रागिरीबाटै हेटौँडा ९ घण्टा लगाएर आइपुगेकी हेटौँडा ४ की सुमित्रा गौतम भन्छिन्, ‘चित्लाङनेर आइपुगेपछि एउटा डाँडो नै खसेको रहेछ, माथिबाट लेदो बगिरहेको थियो, तर पनि त्यही बाटो जानुको विकल्प थिएन । केहीले फर्किउँ भन्दै थिएँ । हामीले पछि जोखिम नै मोलेर पनि निस्कने आँट गर्‍यौं ।’

बागमती प्रदेशबाट काठमाडौं जोड्ने ७ वटा नाका छन् । तर, बाढीपहिरो र डुबानले सबै सडकमा क्षति पुगेको छ । चन्द्रागिरीको बाटो तुलनात्मरूपमा कम क्षति पुगेकाले सुचारु गरिएको हो । जसले काठमाडौं र हेटौंडामा अलपत्र यात्रुलाई राहत मिलेको छ ।

हेटौँडा-काठमाडौँ सडकअन्तर्गत सिस्नेरीको जाममा परेका दर्जनौं यात्रु हिँडेरै हेटौँडा आइपुगेका छन् ।

हेटौँडा १४ का महेश तामाङ भन्छन् ‘रामचन्द्र भन्ज्याङको पहिरोमा परेपछि, न उता जान सकियो, न यता आउन, हामी त्यहाँ ३० जना बढी एकै ठाउँमा थियौँ, पानी झमझम परिरहेको थियो, अब मरिन्छ होला भन्ने लागेको तर हिँडेरै भएपनि ज्यान बचाएर घरसम्म आउन सफल भयौँ ।’

सोमबार साँझ पनि मकवानपुरमा हल्का वर्षा भएको छ । मंगलबार बिहानैबाट मौसम धुम्मिएको छ । कतिबेला पानी पर्ने, कतिबेला गलेर बसेको पहिरो खस्ने भन्ने जोखिम ती खुल्ला गरेको सडकमा रहेको छ । तर, पनि यात्रुहरू आफ्नो ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर