पूर्वाधारको क्षति विवरण यकिनमा समय लाग्ने, एकीकृत तथ्यांक संकलनमै सकस – Nepal Press
मनसुनको कहर

पूर्वाधारको क्षति विवरण यकिनमा समय लाग्ने, एकीकृत तथ्यांक संकलनमै सकस

विराटनगर । बाढीपहिरो र डुबानबाट पूर्वाधार क्षेत्रमा पुर्‍याएको क्षतिको अझै आधिकारिकरूपमा एकीकृत विवरण विवरण आउन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालयले पूर्वाधार विकासमा काम गर्दै आएका छन् । यस्तै सातवटै प्रदेश सरकारहरूले समेत पूर्वाधारका क्षेत्रमा लगानी गरेका छन् ।

सडक, पुल, खानेपानी, जलविद्युत, तटबन्धलगायतमा प्रकोपले धेरै क्षति पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आयोजना गरको प्रेसमिटमा मुख्यसचिव एकनारायण अर्यालले १७ अर्ब रूपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान सुनाए । उनका अनुसार भौतिक क्षतितर्फ खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ ।

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको, त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको, कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षतिको विवरण अर्यालले सार्वजनिक गरे ।

प्रदेश सरकारहरूले पनि क्षतिको विवरण सङ्कलन गर्दै आएका छन् ।

केही मन्त्रालयले भने क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको भए पनि केहीलाई भने सङ्कलन गर्न अझै समय लाग्ने बताएका छन् । पूर्वाधार विकास तथा यातायात मन्त्रालय, ऊर्जा तथा जलश्रोत मन्त्रालय र खानेपानी मन्त्रालयले बाढी र पहिरोले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेका छन् । सहरी विकास मन्त्रालयले भने अझै विवरण सङ्कलन हुन नसकेको जनाएको छ ।

सडक र पुल बगाउँदा साढे २ अर्ब क्षति

विपद्‍बाट सडक विभागअन्तरगत पर्ने सडक र पुलमा मात्रै २ अर्ब ५२ करोड ५ लाख रुपैयाँको क्षति भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्ष पछि आएको बाढी पहिरोका कारण सडक विभाग अन्तरगतको साढे २१ किलोमिटर सडक पूर्णक्षति पुगेको प्रवक्ता शुशिलबाबु ढकालले बताए ।

उनका अनुसार सडकतर्फ एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड रूपैयाँ र बेली ब्रिजतर्फ २० करोड रूपैयाँबराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ । मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढी र पहिरोका कारण क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण अरनिको राजमार्ग, बीपी राजमार्ग कान्ती राजमार्ग, मदन भण्डारी पुष्पलाल मध्य पहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा बाढीपहिरोबाट कारण क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण सडक विभागअन्तर्गतका ५ वटा पुलमा पूर्ण क्षति भएको प्रारम्भिक तथ्याङ्क मन्त्रालयले उपलब्ध गराएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ ।

यस्तै अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । यस्तै लार्चा र हेवा खोलामा रहेको बेली ब्रिज समेत बाढीले बगाएको छ ।

सहरी विकासमा छैन तथ्याङ्क

पूर्वाधार विकासमा काम गरिरहेको अर्को मन्त्रालय सहरी विकास मन्त्रालयले समेत काम गर्दै आएको छ । मन्त्रालयअन्तर्गतका पूर्वाधारमा कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको सहायक प्रवक्ता तथा चन्द्रकाजी गुरुङले बताए ।

उनले भने, ‘हामीले जिल्ला जिल्लामा रिर्पोट पठाउन भनेका छौं । अहिलेसम्म कतैबाट आएको छैन । आएपछि भन्ने नै छौं । क्षतिको विवरण सङ्कलनका लागि अझै एक-दुई दिन लाग्नेछ ।’

ऊर्जा र जलश्रोतमा ४ अर्ब ३५ करोड

मनसुनको कहरले ऊर्जा क्षेत्रमा २ अर्ब ४५ करोड रूपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । सिँचाइतर्फ भने एक अर्ब ३५ करोड बराबरको क्षति ऊर्जा तथा जलश्रोत मन्त्रालयले जनाएको छ । यसैगरी नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाखबराबरको क्षति पुगेको छ ।

मन्त्रालयअन्तर्गत साढे ४ अर्ब ३५ करोड बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले क्षतिको विवरण अझै संकलन भइरहेको बताए ।

उनले भने, ‘यो प्रारम्भिक अनुमान हो । यथार्थमा क्षति अझै बढ्न सक्छ ।’

मन्त्री खड्काले बाढी र पहिरोका कारण एक हजार एक सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताए ।

मन्त्री खड्काले जलविद्युत आयोजनाहरूको पुनःनिर्माणको कामलाई प्राथमिकता राखेर काम गर्ने बताए ।

उनले भने, ‘उत्पादन बन्द भएका जल विद्युत् आयोजनाहरूको उत्पादन सुचारु गर्न सरकार लाग्ने छ । यसका लागि मन्त्रालयले काम समेत थालेको छ ।’

खानेपानीमा ३ अर्ब ५६ करोड

बाढीपहिरोले खानेपानी आयोजनाका पूर्वाधारमा ३ अर्ब ५५ करोड ७० लाख रूपैयाँबराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालय अन्तरगतका साना-ठूला आयोजनामा यो क्षति भएको हो ।

सबैभन्दा बढी काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका आयोजनामा क्षति भएको मन्त्रालयका सूचना अधिकारी उपसचिव टेकनाथ दाहालले बताए । उनका अनुसार ६६ जिल्लाबाट खानेपानी आयोजनामा पुगेको क्षतिको प्रारम्भिक विवरण मन्त्रालयमा आएको छ । बाँकी जिल्लाबाट आउन बाँकी रहेको छ । बाढीपहिरोले खानेपानीको पाइप लाइन, बोरिङ प्रशोधन केन्द्र, ट्यांकीलगायतमा क्षति पुगेको छ ।

क्षति पुगेका स्थानहरूमा मर्मत सम्भारका लागि काम थालिएको भए पनि आंशिक क्षति पुगेका स्थानमा मात्रै तत्काल खानेपानी सुचारु गर्न सकिने मन्त्रालयले जनाएको छ । कतिपय आयोजनाहरूमा धमिलो पानी आइरहेको छ । यसको सुधारको काम भइरहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *