नाटक मुक्कुमलुङ : सांस्कृतिक अतिक्रमणलाई विकास भन्ने कि विनाश ?
पछिल्ला केही दिन लगातार परेको झरीका कारण देशैभरि बाढी, पहिरो गयो । सयौंको ज्यान गयो । अरबौं रुपैयाँको क्षति भयो । राजमार्गहरु अवरुद्ध भए । खोलाले बस्तीहरुलाई निमेषभरमै उजाड र खण्डहर बनाए । शहरी विकास विज्ञहरुको भनाइ छ, यसको मुख्य जड भनेको हामीले अपनाइरहेको विकासको मोडल हो ।
हामीले विकास केलाई भन्यौं ? ठूल्ठूला भौतिक संरचना ठडिनु, पहाडहरुलाई सडक बनाउने नाममा डोजरले जथाभावी कोतर्नुलाई हामीले विकास भन्यौं । रैथाने कला, संस्कृतिलाई मास्नु, रैथाने विश्वास पद्धतिलाई कुल्चिएर ठूल्ठूला कंक्रिट बनाउनुलाई हामीले विकास भन्यौं । आदिवासीहरुको सांस्कृतिक आस्था रहेको चिहानहरु खोतल्नु, उनीहरुको विश्वास रहेको पहाड भत्काउनुलाई हामीले विकास भन्यौं ।
अहिलेको यक्ष प्रश्न हो, यस्तो किसिमको विकासले हामीलाई कहाँ पुर्याउला ? विकासको नाममा भइरहेको सांस्कृतिक अतिक्रमणलाई विकास भन्ने कि विनाश भन्ने ? यो अतिक्रमणलाई बेलैमा रोक्न नसके आदिवासीहरुको घर त जोगिएला, उनीहरुको विश्वास पद्धति, संस्कार, संस्कृति जोगाउन सकिन्नँ । यही विषयलाई मुखरित गर्दै शिल्पी थिएटरमा, बत्तीसपुतलीमा नाटक ‘मुक्कुमलुङ’ मन्चन भइरहेको छ । पवित्र राईद्धारा निर्देशित यस नाटकले भन्छ, ‘सांस्कृतिक अतिक्रमणलाई हामीले अहिले नै रोक्न सकेनौं भने धेरै ठूलो क्षति व्यहोर्नुपर्नेछ ।’
पूर्वको ताप्लेजुङमा रहेको मुक्कुमलुङ (पाथीभरा)मा केवलकार बनाउने परियोजनाविरुद्ध रैथाने समुदायले प्रतिरोध गरिरहेको छ । केवलकार निर्माण गर्न राज्य लागिपरेको छ । केवलकारमार्फत् पर्यटन प्रबद्र्धन हुने र आर्थिक विकास हुने राज्यपक्षको दाबी छ । तर, सांस्कृतिक अतिक्रमण गर्दै गरिएको विकास आफूहरुलाई नचाहिने भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
यही परिवेशमाथि निर्माण भएको नाटक हो, ‘मु्क्कुमलुङ’ । लिम्बु समुदायको मुन्धुमअनुसार ‘मुक्कुमलुङ’ आस्था र विश्वासको धरोहर हो । पहिलो मानव ‘मुजिङ्ना खेयङ्ना’का छोरा ‘सावा युक्पुङ्गेम्बा’ आफ्नी आमाको सुझाव र निर्देशनअनुसार धनुकाँड, सुनको छेलो र कोचो–तङ्ना, ख्या–तङ्ना, किधि–तङ्ना तथा परा–तङ्ना नाम गरेका चार कुकुर लिएर शिकार खेल्न जंगलपतिर जान्छ । मृगको शिकार खेल्दै जाँदा पहाडको चुलीमा सुनौलो गहनाले सजिएकी एक महिला तान बुन्दै गरेको भेटिन्छिन् । त्यहीबेला उनको कुकुर र खेदाउँदै गरेको मृग हराउँछन् । सावा युक्पुङ्गेम्बाले ती महिला ‘योसुलुङ्मा मुक्कुमलुङ्मा’ भएको थाहा पाउँछन् । उनको मानमनितो गर्छन् । मुक्कुमलुङ्माले हराएको मृग र कुकुरहरु पत्ता लगाउने जुक्ति सिकाउँछिन् ।
लिम्बु समुदायले यिनै मुन्धुमी महिलाको नाममा पहाडको नाम ‘मुक्कुमलुङ’ राखे । जहाँ निर्माण गर्न खोजिएको केवलकारको विरोध भइरहेको छ । तिनै विरोधहरुको सृजनात्मक प्रतिनिधित्व हो ‘मुक्कुमलुङ’ नाटक ।
नाटकमा नयाँ पुस्ताले ‘मुक्कुमलुङ’मा निर्माण हुने केवलकारको चर्को विरोध गरिरहेको छ । तीन पुस्ताको कथा समेटेको नाटकले राज्यको एक पक्षीय नीतिविरुद्ध प्रतिरोध मात्रै गर्दैन, सिंगो लिम्बु समुदायको संस्कार, संस्कृति पनि पस्कन्छ । लिम्बु समुदायको रहनसहन, पारिवारिक संरचना पनि नाटकमा देख्न पाइन्छ । पालम, ख्यालीलगायत गीतहरुले नाटकमा मिठास थपेको छ । नाटकको सबैभन्दा सुन्दर पाटो भनेको नव पुस्ताहरुमा भइरहेको सांस्कृतिक पुस्तान्तरण हो ।
आफ्नै गाइले बाली खाएको झोँकमा रेडियो फुटाउने बासी जोक्स बाहेक मुद्दाको मामलामा नाटक बलियो छ । केही दृश्यहरुमा कलाकारको ओभर एक्टिङबाहेक नाटकले गर्नुपर्ने सृजनात्मक प्रतिरोध सुन्दर ढंगले गरेको छ । एउटा अधबैंसे कविको वरिपरि घुमेर नवपुस्ताले केवलकारको विरोध गर्छ, यो अनावश्यक हो । निर्देशकले कुन मनसायले यस्तो दृश्य राखिन्, त्यो उनैलाई थाहा होला ।
समग्रमा नाटक हेरिरहँदा आन्दोलनमै सहभागी भएजस्तो महसुस दर्शकलाई हुन्छ । डा. चित्र माबोको कथामा आधरित यस नाटकको नाट्य रुपान्तरण राजन मुकारुङले गरेका हुन् । दीपा सुहाङ, रेअर राई, नुसा लिङ्देन, इन्दिरा नेम्बाङ, रमिला मोक्तान, हिरण राई, सुनु सुनुवार, सायोक मुकारुङलगायत कलाकारको अभिनयले नाटकलाई झनै जीवन्त बनाएको छ । सेट डिजाइन मणि कुलुङ, लाइट डिजाइन/परिचालन संजीप योगी, संगीत परिकल्पना संजीत थुलुङ राईको काम प्रशंसायोग्य छ । असोज २ गतेबाट मन्चन भइरहेको यो नाटक असोज २० गतेसम्म नियमित मन्चन हुनेछ ।
०००