एमालेनिकट युवा र विद्यार्थीले गरे डुबानमा परेका देवघाटकाे वृद्धाश्रम सफाइ – Nepal Press

एमालेनिकट युवा र विद्यार्थीले गरे डुबानमा परेका देवघाटकाे वृद्धाश्रम सफाइ

चितवन । नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले तीन दिन लगातार परेको पानीका कारण नारायणीमा आएको बाढीले डुबानमा परेको देवघाटको वृद्धाश्रममा सरसफाइ गरेका छन् ।

एमालेको नेपाल राष्ट्रिय युवा संघ चितवन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) चितवनका युवा विद्यार्थीहरुले सरसफाइ गरेका हुन् ।

देवघाटमा रहेको रोटरी करुणालय (वृद्धाश्रम) तथा थाहा सदावर्तमा सरसफाइ गरिएको हो । उक्त आश्रममा बाढी पस्दा क्षति पुगेको छ । आश्रमका कोठाभित्र ३ फिटसम्म माटो भरिएको छ ।

एमाले निकट युवा विद्यार्थीहरु सोही माटो फाल्न आश्रम पुगेका हुन् । कार्यक्रममा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगानासहित युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

एमाले चितवनका अध्यक्ष कमलराज पाठकले करिब १०० जना युवा विद्यार्थीको उपस्थितिमा काम थालिएको बताए । भवनका कोठामा थुपरिएको माटो निकालेर आज नसकिएमा युवा विद्यार्थीलाई भोलि पनि खटाउने बताए ।

एमाले विगतदेखि नै यस्ता सामाजिक कार्यमा जोडिँदै आएको बताउँदै उनले त्यसलाई निरन्तरता दिँदै यो सरसफाइ गरिएको बताए । युवा विद्यार्थीहरुलाई सामाजिक कार्यमा अगाडि बढाउनुपर्छ भन्ने हेतुले पार्टीले नै निर्णय गरेर यस्ता काममा खटाउने गरेको उनको भनाइ छ ।

देवघाटका अन्य भवनहरुमा क्षति पुगेको देखेको बताउँदै अध्यक्ष पाठकले यहाँका स्थानीयसँग बसेर नेकपा एमालेले आवश्यक सहयोग गर्ने बताए ।

आश्रमका अध्यक्ष उत्तमलाल चुकेले आश्रममा रहेका बाआमाका लत्ताकपाडा लगायतका सबै सामग्री समेत नष्ट भएको बताए । उनले टोइलेट बाथरुम पनि जाम भएको जानकारी दिए ।

आश्रममा रहेका ५ वटा भवनका कोठामा ३ फिटसम्म माटो भरिँदा निकै समस्या परेको उनको भनाइ छ । आश्रममा रहेका बाआमालाई अन्य आश्रममा लागि राखिएको उनले जानकारी दिए ।

यस्तो परस्थितिमा एमाले पार्टीका तर्फबाट सहयोग भएको प्रति खुसी र आभार व्यक्त गर्दै उनले अन्य पार्टीलाई पनि सहयोग गर्न आह्वान गरे । सरसफाइमा सशस्त्र प्रहरी र रोटरी क्लवले पनि सहयोग गरेको उनले जानकारी दिए । उनले सरसफाइमा अझै सहयोगको आवश्यक रहेकाले अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर