जीबी राईकी ‘प्रेमिका’ पक्राउ, पोखरामा उनको नाममा दुईटा घर – Nepal Press

जीबी राईकी ‘प्रेमिका’ पक्राउ, पोखरामा उनको नाममा दुईटा घर

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले वयानका लागि पोखरा बोलाएको थियो ।

सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसंग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले वयान दिन आएकी लिलालाई सोमबार पक्राउ गरेको थियो । ‘अनुसन्धानका क्रममा सामान्य कर्मचारीको खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि वयान लिन पोखरा बोलाएका थियौं । जिबीसँग मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि सोमबार पक्राउ गरिएको हो,’ कास्कीको एक प्रहरी अधिकारीले भने ।

उनलाई अहिले जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *