नेपाली मौलिक उत्पादन : सम्भावनामा उत्साह, सरकारी प्रोत्साहनमा निराश
नेपाल विश्वको सबैभन्दा कम विकास भएको देशहरूमा एक देश हो । नेपाल विश्वको सबैभन्दा गरिब देशहरूमा एक देश हो । यही कारण नेपालमा बिवाइडी वा टेस्ला गाडीको गृह मुलुक होइन । नेपालमा एपल र हुवावे बन्न सकेनन् । नेपालमा टीकटकदेखि टेलिग्राम जस्ता सेवा सुविधाहरू बन्न सकेनन् । तर, यसो भन्दैमा नेपालमा केहि नहुने होइन । केहि नभएको होइन । आर्थिक कोणमा नेपाल गरिब छ । तर, भौगोलिक विविधता, प्राकृतिक स्रोत साधन तथा जनसंख्यामा नेपाल धनी छ । नेपालमा भएको भौगोलिक विविधताले नेपालमा उत्पादन हुने कृषि, जडीबुटी, फलफूल, तरकारी लगायतका कृषिसँग जोडिएका कुराहरूको बेग्लै महत्त्व छ । आज नेपालमा चीनबाट बोधि चित्त किन्न आउनेहरू छन् । आज नेपालमा भारतबाट रुद्राक्ष किन्न आउनेहरू छन् । चिनियाँहरू प्नि संखुवासभा, भोजपुरमा बारीबारीमा पुगेर रुद्राक्ष किन्न तम्सिएका कुरा हामीहरू सुन्दै आएका छौँ ।
इलामे चिया र गुल्मीको कफीले विश्व बजारमा भाउ पाएका खबर हामीले सुन्दै आएका छौँ । यत्ति मात्रै होइन धनकुटाको अल्लो, भोजपुरको खुकुरी, इलामे छुर्पी, अचार, चकलेट र धनकुटे बिस्कुटले पनि राम्रो माग पाएको छ । नेपालमा बनेको हिमाली मह खान मात्रै होइन आएर साहसिक रूपमा मह काढ्ने कुरामा पनि विश्वभरको चासो छ । तेह्रथुमदेखि पाल्पाका ढाका उत्पादन चर्चितै छन् । नेपाली कागजबाट जापानी नोट बन्ने कथा त अमेरिकी चर्चित अखबार दि न्यू योर्क टाइम्सले पनि प्रकाशन गरिसकेको छ ।
नेपालमा प्रतिबन्ध गरिएको गाँजाबाट बनेको झोला प्रयोग गरेर अर्थमन्त्री वर्षामान पुनःले बजेट ब्रिफकेस बनाइसकेको खबर आइसकेका छन् । नेपाली थाङ्काले विश्वका पर्यटकहरूलाई नेपालमा आउँदा खरिद गर्ने चिजमा पर्न सफल भइसकेको छ । पस्मिना, गलैँचा, काष्ठकला तथा धातुकलाका अरू कुराहरूमा पनि नेपाली स्थान सुन्दर छ । नेपाली ऊन र नेपाली मरमसलाको बजार पनि उत्तिकै राम्रो छ ।
नेपाली उत्पादनको यस्तो मौलिकता, विश्व बजारले मानेको कुरा र विशाल बजारको सम्भावना हुँदाहुँदै नेपाल सरकारले गर्नुपर्ने जत्तिको काम गरेको छैन । त्यस्ता कामहरू विभिन्न कोणमा भएका छैनन् । उत्पादन, बजारीकरण, ब्राण्डिङ, पेटेन्ट र कूटनीतिक सबै कुरामा सरकारले चासो दिएको छैन । यही ग्यापलाई मध्यनजर गर्दै देशभित्र र बाहिर (अमेरिका लगायत, युरोपका विभिन्न देशहरूमा) हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदै आएको छ । सरकारी तहबाट जुन प्रकारको सहयोग हस्तकला व्यवसाय र व्यवसायीहरूले पाउनुपर्ने हो त्यो पाउन नसकेपछि एक्सपोको माध्यमबाट नै विश्वबजारमा नेपाली उत्पादनलाई पुर्याउने लक्ष्य लिएको अध्यक्ष कपिल अधिकारी बताउँछन् ।
नेपाली उत्पादन प्रवर्द्धन गर्ने कुरामा सरकार पाँचै मोर्चामा कमजोर देखिएको छ । सरकार कमजोर भएर यस्तो भएको होइन । कमजोर तरिकाले काम गरेर यस्तो भएको हो । पहिलो कमजोरी उत्पादन, नेपालमा सरकारले विभिन्न पकेट क्षेत्रहरू बनाएर कृषिजन्य उद्योगलाई कार्यक्रम ल्याएको छ । तर, त्यसको उत्पादन माइक्रो होइन मेघा बनाउनेमा सरकारी काम फितलो छ ।
नेपालीहरू गाउँ छोडेर सहर, सहर छोडेर राजधानी, राजधानी छोडेर परदेश पुग्ने विडम्बना छ । यसलाई एक हदसम्म रोकेर गाउँमै मेघा उद्यम गर्ने सरकारी प्रोत्साहन अपुग छ । उदाहरणको लागि नेपाली कागज तोक्लाको नोट जापानमा बन्छ । त्यसलाई ठूलो परिणाममा सरकारी प्रोत्साहन गरेर उत्पादन गर्ने, त्यसमा सरकारी कृषि तथा वन विश्वविद्यालयका शैक्षिक तथा विज्ञ जनशक्ति देखी कृषि तथा वन मन्त्रालयको प्रशासकीय जनशक्ति प्रयोग गर्नेमा सरकार चुकेको छ । लोक्तामा मात्रै होइन निर्यात हुने वा नेपालमै आत्मनिर्भर हुने कुरामा पनि सरकारले चासो देखाएको छैन, यसमा हिमालयन इन्टरनेशनल एक्सपोका अध्यक्ष अधिकारी पनि सहमत छन् ।
दोस्रो कमजोरी बजारीकरण । जुम्लाको स्याउ वा मुस्ताङको स्याउको बजार नेपालका सबै लाख बढी जनसंख्या भएका सहरमा छन् । त्यसमा सरकारले व्यवस्थापन गर्न सकेको छैन । कृषकले बजार नपाउने, उता उपभोक्ताले खरिद गर्न आफ्नै देशको स्याउ नपाउने कुरा बजारीकरणको समस्या हो । विदेश निर्यातमा त परै जाओस् स्वदेशी खपतमा पनि सरकारी बजारीकरणको बिजोक छ ।
तेस्रो कमजोरी ब्राण्डिङ, नेपाली उत्पादनको विश्व बजारमा र स्वदेशी बजारमा जनमानसमा अनिवार्य प्रयोग गर्ने तहको ब्राण्ड बनाउन सरकार चुकेको छ । नेपाल तथा नेपालबाहिर नेपालीहरू लाखौँको संख्यामा भएका देशहरूमा नेपाली उत्पादन पुर्याउन सरकारले काम गरेको छैन । यसले उत्पादक र उपभोक्ता अनि बजार सबैलाई घाटा मात्रै भएको छ । उदाहरणको लागि कतार, साउदी, दुबई आदि देशका लाखौँ नेपालीहरूलाई धनकुटाको एभोकाडो वा सिन्धुलीको जुनार बेच्न सक्ने तहको ब्राण्ड तथा बजार बनाउन सरकार असफल छ ।
चौथो कमजोरी पेटेन्ट, अहिले विश्वमा देखिने खालका फिजिकल सामान मात्रै होइन नदेखिने खालका डिजिटल सामानको पनि पेटेन्ट हुन्छ । पेटेन्ट आफ्नो हुनुको अर्थ बेग्लै हुन्छ । नेपाली मौलिका उत्पादनको विश्वमा पेटेन्ट लिनमा सरकारले चुकेको छ । चिया कफिमा केहि पेटेन्ट लिने प्रयास भएका छन् । तर, यसरी लिने कुराहरु धेरै छन् । त्यसमा सरकारले शक्ति प्रयोग गरेको छैन । नीजि क्षेत्रले पनि सरकारलाई गर्नुपर्ने जत्ति दबाब सिर्जना गर्न सकेको छैन ।
पाँचौँ कमजोरी कूटनीति, नेपालले सानो कूटनीतिक पहल गरेमा नेपाली सामानहरूलाई छिमेकमा सहज लान सकिन्छ । उदाहरणको लागि नेपाल भारतको सातौँ ठूलो रिमिटेन्स पठाउने देश हो । नेपाल भारतको एकछत्र व्यापारिक क्षेत्र हो भन्दा पनि हुन्छ । तर, भारतको व्यापार क्षेत्र नेपालले बनाउन सकेको छैन । नेपाली मौलिक उत्पादनहरु नेपालसँग सीमा जोडिएका बिहार, बंगाल र उत्तर प्रदेशका करोडौँ उपभोक्तामा लानेगरि सरकारले कृषि कूटनीति गर्न सक्छ । त्यसमा चुकेको छ । यस्तै कुरा उत्तरी छिमेकीसँग पनि गर्न सकिन्छ ।
नेपालमा चीनको व्यापार नाफा भीमकाय छ । नेपालले कम्तीमा चीनको तिब्बत र तिब्बतसँग जोडिएको सिचुआन प्रान्तका उपभोक्तालाई आवश्यकता पर्ने हिमाली तथा पहाडी तरकारी तथा नगदेबाली एकछत्र बिक्री गर्ने सम्झौता गर्न नेपाल सरकार सफल भएमा यसले नेपाली उत्पादनमा धेरै सहज हुनेछ । यसतर्फ नेपालका तीनै तहका सरकारहरूको ध्यान जान आवश्यक छ । ध्यान जाने वातावरण बनाउन नेपाली मौलिक उत्पादन गर्नेहरूले दबाब दिन आवश्यक छ ।
नेपाली मौलिक उत्पादनको स्वदेशी खपत र विदेशी निर्यात दुवैको आकार बढाउन सरकारी सहयोग अनिवार्य छ । कूटनीतिक रूपमा सरकारले सहयोग गर्ने प्रण मात्रै गरे नेपाली उत्पादनलाई विश्वका कुना कुनामा पुर्याउन कुनै गाह्रो विषय नभएको अधिकारी बताउँछन् । एक हिमालयन इन्टरनेशनल एक्सपोले एक वर्षमा मात्रै ४ देखि ५ वटा इभेन्ट गर्दै आएको छ । देशविदेशमा हुने यस्त इभेन्टहरुले थोरै हदसम्म भएपनि क्रेता र विक्रेताहरूको प्रत्यक्ष सम्बन्ध र संवाद बनाउन सहयोग गरेको छ ।
नेपाली हस्तकला व्यवसाय र व्यवसायीको जुनप्रकारको मान प्रतिष्ठा छ त्यसलाई कायम राख्दै रोजगारी र व्यवसाय वृद्धिका अवसर सिर्जना गर्न हिमालय एक्सपोहरुले केही हदसम्म सहयोग गरेका छन् ।