दुई प्रदेशमा आज वर्षाको सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको आग्रह – Nepal Press

दुई प्रदेशमा आज वर्षाको सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउसोदेखि बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै असोज १८ गतेसम्म भारी वर्षाको सम्भावना कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको भन्दै सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम कायमै रहेको प्राधिकरणका प्रवक्ता समेत रहेका उपसचिव डा. डिजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारी, यातायात व्यवसायी, ट्राफिक प्रहरी, यात्रु र नदी किनारका बासिन्दालाई सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीका साथै कमला, बागमती, पूर्वी राप्त, पश्चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ ।

त्यसैले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन तथा बुधवार र बिहीबार कन्काई नदीको जल सतह सतर्कता तह तलै रहने तर उल्लेख्य बढ्ने पूर्वानुमान रहेको नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नै ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी र आसपासका जिल्ला भएर बग्ने केहि स-साना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढी को मध्यम जोखिमको पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउनुपर्नेछ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपासका जिल्ला भएर बग्ने केहि स-साना नदीको बहाव बढ्ने पूर्मानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर