वाग्मती करिडोरमा हिलो र धुलो, लेदो सफा गर्न पानी व्यवस्था गरिदिन माग
ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।
सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण वाग्मती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । वाग्मती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।
वैकल्पिक यात्रा गर्ने वाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।”
अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन् । उनी भन्छन्, “वाग्मती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।”
त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण वाग्मती करिडोरको यात्रा असहज हुने गरेको बताए। उनले भने, “जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।”
अहिले वाग्मती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ ।
रासस