दशैँ आइसक्दा पनि बजार सुनसान, व्यवसायी भन्छन्-कोरोनाकालकै जस्तो मन्दी छ (भिडिओ) – Nepal Press

दशैँ आइसक्दा पनि बजार सुनसान, व्यवसायी भन्छन्-कोरोनाकालकै जस्तो मन्दी छ (भिडिओ)

'मलका व्यापारी टिकटक हेरेर र गेम खेलेर दिन बिताउन बाध्य छन्'

काठमाडौं । दशैँ लागेसँगै भिड बढ्ने काठमाडौंका व्यापारिक केन्द्र असन, न्युरोड, महाबौद्ध, भोटाहिटीलगायतका बजार अहिले सुनासान छ । विगतको तुलनामा २५ प्रतिशत पनि ग्राहक नआएको व्यवसायीले गुनासो गरेका छन् । बजारमा ग्राहक बढ्ने र केही राहत मिल्ने आशा भएपनि चाडबाडकै संघारमा आएको बाढीपहिरो डुबानले निराशा ल्याएको उनीहरू बताउँछन् ।

चाडबाडमा व्यापार होला भनेर ऋण गरेर हालेको सामान प्रकोपले कतिको पसलसम्मै आएको छैन । सामान भए पनि मन्दीले ब्याज, कर, भाडा तिर्न गाह्रो भएको व्यापारीको गुनासो छ ।

ठाउँठाउँमा सडक अवरुद्ध छन् । हजारौं घरवार विहीन भएका छन् । युवा जनशक्तिको विदेश पलायन, बैंकहरूले ब्याजदरमा बेला बेलामा कस्ने गरेको विगतको नजिरका कारण खुलेर लगानी गर्न नसक्नु जस्ता कारणले व्यापारमा रौनकता थप्न नसकेको एक व्यापारीले बताए ।

१४ वर्षदेखि न्युरोडमा कपडा बेच्दै आएकी सनिसा डंगोल बजार सुनसान भएको बताउँछिन् ।

उनी भन्छिन, ‘कोरोनाकालको मन्दीले अहिलेसम्म उक्सिन सकेका छैनौं । दशैँले चहलपहल बढाउँला भन्ने सोचेको थियो । ठेलमठेल गरेर हिँड्नुपर्ने बाटो हेर्नुस् न कति खुल्ला ।’

ललितपुर च्यासका ऋषिराम सापकोटाको पनि उस्तै पिर छ । उनी भन्छन्, ‘साढे ४ बज्यो बनी भएको छैन । चाडबाडको सिजनमा पनि यस्तो हुन्छ त ! हामी होलसेल जुत्ता व्यापारीलाई यति बेला त मारामार हुनुपर्ने ।’

सापकोटाले १० वर्ष भयो जुत्ता व्यापार गर्न थालेको तर अहिलेजस्तो कहिले नभएको बताउँछन् । फेरि दुईदिनको वर्षाले त ग्राहकहरू सामान अर्डर गर्न समेत आउन नसकेको उनले बताए ।

कमलपोखरीमा ३० वर्षभन्दा बढीदेखि व्यापार गर्दै आएका प्रदीप जैन भन्छन्, ‘यस पटक त २० प्रतिशत पनि व्यापार गर्न सकेनौं । फेसन गर्ने युवापुस्ता जति सबै विदेश अनि कसले किनेर लाओस् त नयाँ नयाँ डिजाइनका कपडा ।’

बाटोमा मानिसको आवतजावत देखिएपनि किन्न नभई घुम्न आउने गरेको व्यापारीहरू बताउँछन् ।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडी प्रकोपले व्यवसायलाई थप समस्या पारेको बताए । आफूहरूले ऋण गरेर उठाएको सामान पनि पसलसम्म आउन नसकेर बाटोमा फसेको दुवाडीको भनाइ छ । रञ्जना महलका स्टार जिन्स सञ्चालक संयोग श्रेष्ठ पोहोरभन्दा २० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । उनका अनुसार दशैँको माहोलको तरखरमा बाहिरबाट व्यवसायी आउन नसक्दा झन् चौपट भएको छ ।

महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले पनि दशैँ नजिकिए पनि व्यापार शून्य अवस्थामा रहेको बताए । नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दशैँसम्म आउँदा ७५ प्रतिशतले घटेको उनी बताउँछन् ।

के भन्छन् व्यापारीका नेता ?

नेपाल राष्ट्रिय व्यापार महासंघका निवर्तमान अध्यक्ष नरेश कट्वालले यस वर्षको दशैँ व्यवसायी र आम नागरिकको लागि दशाको रूपमा देखापरेको बताउँछन् । अहिले मुलुक नै व्यापार व्यवसायभन्दा पनि बाढीपहिरोको चपेटामा परेकोले दशैँमा रौनक नभएको उनले बताए ।

अहिलेको मन्दी कोरोनाकालकै जस्तो भएको भन्दै कट्वालले २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोको कारण शिथिल बनाएको बताए । सक्रिय युवा विदेश पलायन भएकाले पनि व्यापारमा कमी आएको भन्दै उनले बाढीपहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्ग बन्द भएकाले होलसेल व्यवसायीलाई थप समस्या भएको बताए ।

कट्वाल भन्छन्, ‘त्योबेला मास्क लगाएर हिँड्थे, अहिले नलगाई हिँड्छन् । त्यतिमात्र फरक हो । व्यापारिक प्रकृति उस्तै छ । फेरि वर्षाले पनि प्रभाव पारेको छ ।’

बैंकबाट ऋण लिएर लगानी गरेकाहरू ब्याजदर बढेपछि तर्सिएको भन्दै उनले कतै सस्तो ब्याजदरको पासो थापेर फेरि बढाउने त होइन भन्ने आशंका बढेको कट्वालले बताए ।

‘दशैँमा बजार चलायमान हुने देखिएको छैन । बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण बजार चलायमान हुन सकेको छैन । व्यवसायीहरूमा दैनिक निरासा छाएको छ । लगानी सुरक्षित गर्ने अवस्था पनि छैन । भन्सार दरदेखि स्थानीय कर, घरभाडा, ढुवानीसमेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियतअनुसार बजार मूल्य छैन । केही वृद्धि भएको छ । मुलुकमा युवाहरू सबै विदेश पलायन भएकाले पनि बजारमा मानिसहरु छैनन् । उद्योगी व्यवसायीहरू पनि विदेश पलायन हुनु पर्ने सोचमा पुगेका छन् । बजार विगतको तुलनामा २५ प्रतिशतमा सीमित भएको छ । २५ प्रतिशतको व्यापारले सबै कुराहरु धान्दैन । बाढी पहिरोबाट भएको सडक पूर्वाधार सरकारले तत्काल बनाउँदै यात्राको लागि सहज वातावरण बनाउन जरुरी छ ।’

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताउँछन् । उपभोग गर्ने युवा श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको उनी सुनाउँछन् ।

श्रेष्ठ पनि कोभिडपछि शुरु भएको आर्थिक मन्दी यस वर्षको दशैँमा आएर चरम उत्कर्षमा पुगेको देखिएको बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘मुलुक नै मन्दीमा छ । कोभिडपछि क्रमशः मन्दी शुरू भएर अहिले चरम बिन्दुमा गएको अवस्था छ । लामो समयदेखि व्यापार चलायमान हुन सकेको छैन । उपभोक्ताको कमीको कारण पनि बजार चलायमान हुन सकेको छैन । बजारमा उपभोग वृद्धि गर्ने युवा जनशक्ति विदेश पलायन भएको कारण पनि व्यापारमा कमी भएको हो । मानिसहरूको क्रय शक्ति घटेको छ । काठमाडौं बाहिरको व्यापारको अवस्था पनि उस्तै छ । बाढी पहिरोको कारण काठमाडौं नाकाबन्दीको अवस्थामा छ ।’

रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको बताए । व्यवसायी मारमा परेको भन्दै उनले सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराए । दशैँ लाग्ने दुई हप्ताअघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान रहेको पाण्डे सुनाउँछन् ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायी बाढीपहिरोको कारण समस्यामा परेको बताउँछन् ।

उनले भने, ‘तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा त्यहाँबाट सामान आउन ठप्प भएको छ । व्यापार गरेर दशैँमा राम्रै खाने र राम्रो लगाउने योजना बनाउने बेला हो । तर, बाढीपहिरोका कारण व्यापार समेत ठप्प छ । यस्तो बेला राज्यले तत्काल सहजीकरण गर्न आवश्यक छ ।’

सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले बजारमा दशैँ अहिलेसम्म नलागेको बताए । मलका व्यवसायी गेम खेलेर र टिकटक हेरेर बस्न बाध्य भएको भन्दै उनले घटस्थापनादेखि केही ग्राहक आउने पर्खाइमा रहेको बताए ।

एकता व्यापार संघका अध्यक्ष तेज आचार्य दशैँ लाग्नुअघिको १०-१२ दिनको व्यापारले लगानी उठाउने र ऋण तिर्ने आशा रहे पनि आशा मर्दै गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर