नेपालको ब्याटिङ लाइनअपमा खेलवाड, ओपनर र फिनिसरकै टुंगो छैन – Nepal Press

नेपालको ब्याटिङ लाइनअपमा खेलवाड, ओपनर र फिनिसरकै टुंगो छैन

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपालले आफ्नो अन्तिम खेल आज ओमानविरुद्ध खेल्दैछ । यसअघिका ६ खेल (३ एक दिवसीय र तीन टी-२०) मा ५ हार व्यहोरेको नेपाल आजको खेलमा जितसँगै भ्रमणलाई बिट मार्न चाहन्छ ।

नेपालले लिग २ अन्तरगत ३ खेल खेल्दा शतप्रतिशत पराजय व्यहोरेको थियो । एउटा खेल वर्षाका कारण रद्द भयो । त्यसपछि भएका तीन टी २० मा पनि नेपालले अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन । नेपालले क्यानाडासँग दुवै टी-२० मा हारेको छ भने ओमानलाई एक खेलमा जितेको छ ।

समग्र खेलहरूलाई फर्केर हेर्दा सन्तोष मान्न सकिने अवस्था छैन । खासगरी लिग २ का म्याचहरू नेपालका लागि निकै महत्वपूर्ण थिए । लगातार तीन हारले लिग २ मा नेपालको अबको यात्रा चुनौतीपूर्ण हुने पक्का छ । अबका बाँकी खेलहरूमा नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यो प्रतियोगितामा नेपालको कमजोरी भनेको ब्याटिङमै देखियो । कागजमा नेपालको ब्याटिङ लाइनअप निकै लामो र सुदृढ देखिए पनि मैदानमा ब्याटरहरू लड्खडाए । गुल्शन झालाई बिर्सिने हो भने कुनै पनि ब्याट्सम्यानले सोचेको प्रदर्शन गर्न सकेका छैनन् । लिग २ मा त नेपालको ब्याटिङको इज्जत बलरहरूले जोगाइदिएका थिए ।

नेपालसँग १० नम्बरसम्म ब्याटिङ पावर छ । विशेषज्ञ बलरका रूपमा टीममा रहेका सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समेत परेको बेलामा ब्याट चलाउन सक्छन् । यति लामो ब्याटिङ पङ्ति संसारका कमै टीमहरूको नसिबमा हुन्छ । तर, पनि नेपाल ब्याटिङमा चुकिरहेको छ, किन त ?

पहिलो कारण त कन्डिसन नै हो । नेपालको भन्दा क्यानाडाको पीचमा धेरै फरक छ । नेपाली ब्याट्सम्यानहरू पेस र बाउन्स भएको पीचमा धेरै अभ्यस्त छैनन् । यस्तो पीचमा नेपाली ब्याटिङ धराशयी हुनु आश्चर्यको कुरा पनि होइन । तर, त्यसो भनेर निच मारेर बस्ने हो भने नेपाली क्रिकेट यो भन्दा माथि उठ्न पनि सक्दैन ।

यो प्रतियोगितामा नेपालले अत्यधिक एक्सपेरिमेन्टहरू गरिरहेको छ । टी-२० प्रतियोगिता मैत्रिपूर्ण मात्र भएकाले एक्सपेरिमेन्ट गर्दा समस्या भएन । तर, लिग २ का खेलहरूमा पनि टीम छनोटमा निकै खेलाँची गरियो । ओपनर कुशल भुर्तेल तथा मध्यक्रमका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई दुईवटा खेलमा एकैपटक बेञ्चमा राखिएको थियो ।

नेपालले आफ्नो ब्याटिङ अर्डरलाई पनि आवश्यकतान्दा बढी गिजोलिरहेको छ । अहिले नेपाली टीममा ओपनर आसिफ शेखबाहेक कसैको पनि ब्याटिङ पोजिसन स्थिर छैन । लामो समयदेखि आसिफको ओपनिङ पार्टनरका रूपमा रहेका कुशल भुर्तेललाई टी-२० मा मध्यक्रममा खेलाउन थालिएको छ । एक दिवसीयमा अनिल शाहलाई फिनिसरको भूमिका दिइयो, जो एक टप अर्डरमा खेल्ने खेलाडी हुन् । उनी दुवै खेलमा चलेनन् ।

कप्तान रोहित पौडेलले तीन म्याचमा तीन फरक-फरक स्थानमा ब्याटिङ गरे । पहिलो खेलमा चौथो नम्बरमा आएका उनले दोस्रोमा पाँचौं र तेस्रोमा तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । तीनवटै खेलमा उनले रन बनाउन सकेनन् ।

उत्कृष्ट फर्ममा रहेका गुल्शन झालाई क्यानाडाविरुद्धको पहिलो टी-२० खेलमा टीममै राखिएन । दोस्रो खेलमा सातौं नम्बरमा आएर विष्फोटक ब्याटिङ गरेका उनले तेस्रो खेलमा छैटौं नम्बरमा पालो पाए । नेपालका प्रमुख टी-२० ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीको पनि ब्याटिङमा सही सदुपयोग भएको छैन । उनलाई दुईपटक सातौं नम्बरमा र एकपटक आठौं नम्बरमा ब्याटिङमा उतारियो । क्रिजमा आएर इनिङ बुन्ने अवसर नै उनले पाएका छैनन् । आउनासाथ ब्याट घुमाउनुपर्ने बाध्यताले गर्दा उनीबाट पनि अपेक्षित प्रदर्शन भइरहेको छैन ।

कुशल मल्लले सबैभन्दा बढी निराश बनाएका छन् । क्यानाडामा उनको ब्याट निकै सेलाएको छ । चाहे एक दिवसीयमा होस वा टी-२० मा उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । नेपालका सबैभन्दा ठूला पावर हिटर क्यानाडामा निस्तेज बनेका छन् ।

अवस्था त कुशल भुर्तेलको उस्तै नै छ । टी-२० बाट ओपनरको भूमिका खोसेर उनलाई मध्यक्रममा घुसाइएपछि आफ्नो स्वाभाविक अन्दाजमा खेल्न सकिरहेका छैनन् ।

नेपालको ब्याटिङ केवल गुल्शन झाले धानिरहेका छन् । टीममा सबैभन्दा कम उमेरका खेलाडी भएर पनि उनले सिनियरहरूलाई ब्याटिङ यसरी गर्नुपर्छ भनेर सिकाइरहेका छन् । साथै, उनको बलिङमा पनि उल्लेख्य सुधार आएको छ । नेपालका लागि अहिलेसम्म सन्तोषको विषय भनेको गुल्शनको प्रदर्शन नै हो ।

क्यानाडापछि नेपाल अमेरिका जाँदैछ, जहाँ अहिलेका भन्दा कडा प्रतिस्पर्धीहरू हुनेछन् । घरेलु टीम अमेरिकासँगै बलियो एसोसियट राष्ट्र स्कटल्यान्डसँग नेपालले लिग २ का थप ४ खेलहरू खेल्नेछ । ओमान र क्यानाडासँग घुँडा टेकेको नेपालले अमेरिका र स्कटल्यान्डसँग दह्रो खुट्टा उभिन सक्ला त ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर