क्रान्तिकारीको लफडाबारे खुमलटारमा छलफल, महासचिव भन्छन्- उमेर हदबारे पार्टीले निर्णय लिँदैन – Nepal Press

क्रान्तिकारीको लफडाबारे खुमलटारमा छलफल, महासचिव भन्छन्- उमेर हदबारे पार्टीले निर्णय लिँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीहरू प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।

बैठकमा बाढी पहिरोपछिको प्रकोप, पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको महासचिव देव गुरुङले बताए ।

उनले भने, ‘यो औपचारिक बैठक हाइन । तर, पछिल्ला समसाममिक विषयमा छलफल गर्न उपलब्ध साथीहरूलाई अध्यक्षले बोलाउनुभएको हो ।’

बैठकमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको विषयमा पनि छलफल भएको बताइन्छ । उमेरहद विवादमा अल्झिएपछि प्रचण्डले पदाधिकारीमा छलफल गरेर टुंग्याउने प्रयास गरेका हुन् । यसअघि बसेको पदाधिकारी बैठकले उमेर हद निर्वाचन प्रक्रियाबाट टुंग्याउने र नेतृत्व चयनमा हस्तक्षेत नगर्ने निर्णय गरेको थियो ।

तर, उमेर हदको विवादको कारणले बन्दसत्र पाँचौं दिन पनि अघि बढ्न नसकेको छैन । तर, विद्यार्थी सम्मेलनको विषयमा पार्टीले कुनै हस्तक्षेप नगर्ने महासचिव गुरुङ दाबी गर्छन् ।

उनी भन्छन्, ‘विद्यार्थीको सम्मेलन चलिरहेको छ । उमेर हदको विषय होस् वा नेतृत्व चयनको उहाँहरूले नै हलबाट टुंग्याउनुहुन्छ । पार्टीले कुनै हस्तक्षेप गर्दैन ।’

अन्तिम समयमा उमेरहदको विषय ल्याएको भन्दै चर्को आलोचनासँगै दिनहुँ सम्मेलनस्थलमा नारावाजी भइरहेको छ । उमेर हद लागू हुँदा अहिले पदाधिकारीमा भएका सबैजसो नेता बाहिरिने भएकाले विवाद सहजै मिल्ने छाँट छैन ।

अध्यक्षका आकांक्षी पवन कार्कीले खुमलटारमा पदाधिकारी बैठक चलिरहेको बेलामा संगठनको नीति, विधि, आगामी योजना र नेतृत्व निर्माण गर्ने सम्पूर्ण प्राधिकार सम्मेलनका प्रतिनिधिहरूमा रहन्छ र रहनुपर्ने लेखेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय सम्मेलनलाई अनिर्णयको बन्दी नबनाऔं । व्यक्तिगत स्वार्थबाटमाथि उठौं संगठनलाई केन्द्रमा राखेर सोचौं ।

अर्का आकांक्षी केशव रावलले पनि उमेर हदको विरोध गर्दै खुला प्रतिस्पर्धा गर्नुपर्ने बताए । उमेरहद लागेको खण्डमा प्रदेश, जिल्ला, पालिका र क्याम्पसका सम्मेलनहरू नयाँ विधान अनुसार तीन महिनाभित्र गरिसक्नुपर्ने झन्झटमा संगठन फस्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर