दुर्गा प्रसाईंको अभिव्यक्तिमा आपत्ति जनाउँदै ज्वाला संग्रौलाको प्रश्न- किचकन्या कसलाई भनेको ? – Nepal Press

दुर्गा प्रसाईंको अभिव्यक्तिमा आपत्ति जनाउँदै ज्वाला संग्रौलाको प्रश्न- किचकन्या कसलाई भनेको ?

काठमाडौं । १ लाख धरौटी तिरेर हिरासत मुक्त भएपछि व्यवसायी दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिमा जाहेरीकर्ता ज्वाला संग्रौलाले आपत्ति जनाएकी छन् । प्रसाईंले आफ्ना कार्यकर्तामाझ केपी ओली र प्रचण्डले ‘केटी अघि सारेर’ आफूलाई जेल हालेको दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्‍यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । महाभारतमा कृष्णलाई मार्न पुतनालाई प्रयोग गरिएको जस्तो मलाई सिध्याउन केटीलाई अघि सारिएको छ ।’

रास्वपा नेतृ संग्रौलाले प्रसाईंको उक्त भनाइमा आपत्ति जनाउँदै फेसबुकमा स्टाटस लेखेकी छन् । धरौटी तिरेर निस्केको व्यक्तिले नालापानी युद्ध जितेजसरी छाती नफुलाउन उनको चेतावनी छ ।

उनको स्टाटस यस्तो छः

‘दुर्गा प्रसाईँ ज्यु, तपाईँ महिलाको चरित्रहत्या गरेर १० दिन हिरासत बस्नु परेको हो । निस्कदा आत्मसमीक्षा गरेर सुध्रेर आउनु हुन्छ, बोलीमा लगाम लगाउनु हुन्छ र नागरिकहरुलाई भ्रमित पार्न छोड्नु हुन्छ भनेर मानिसहरुले अपेक्षा गरेविपरीत तपाईँ त नालापानीको युछ जितेजसरी छाती फुलाएर फेरि धारे हात लाउँदै किचकन्या प्रयोग गरेर मलाई फसाए भन्दै उल्टै कुर्लदै हुँनुहुँदो रहेछ । पीडित महिलाले निवेदन दिएर हिरासत गएको मान्छे, फेरि बाहिर निस्केर रुखमुनि सोझासाझा जनता भेला पारेर थपडी बजाउन लगाएर कसलाई किचकन्या भन्दै हुनुहुन्छ ? स्मरण रहोस, तपाईँको मुद्दा सकिएको छैन । तपाईं १ लाख धरौटीमा छुट्नु भएको छ । सेतो बाघ आयो है भन्दै आफूलाई फेसबुके बाघ नबनाउनु होला ! त्यो किचकन्या शब्द किन र कसलाई प्रयोग गरेको हो, यस्को जवाफ चाँडोभन्दा चाँडो दिनुहोला । तपाईंले जे बोले पनि कानूनले छाडा छोड्नुपर्ने हो ?’

संग्रौलाले दिएको उजुरीका आधारमा नै प्रसाईँ पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर