कर्णालीका केशव: विदेशमा सीप सिके, स्वदेश फर्केर गरे काम – Nepal Press

कर्णालीका केशव: विदेशमा सीप सिके, स्वदेश फर्केर गरे काम

सुर्खेत । केशव कठायत कर्णालीको एक उद्यमी हुन् । जसले आफ्नै अनुभव र संघर्षबाट उद्यमशीलता र आत्मनिर्भरता प्रवर्द्धन गरिरहेका छन् । केशवले विभिन्न चुनौती सामना गर्दै आज आफ्नो ठाउँमा होटेल म्यानेजमेन्ट र हस्पिटालिटी शिक्षामा योगदान पु¥याइरहेका छन् ।

उनले सुरुमा विदेशी भूमिमा आफ्नो सीपको विकास गरे, काम पनि गरे र उतै बसेर होटेल व्यवस्थापनबारेमा सिके । केशवले यूएईलगायतका देशमा केही वर्ष यसरी नै बिताए । विदेशमा सिकेका कुरा नेपाल फर्किएपछि लागू गर्ने अठोट लिएको र सोहीअनुसार आफू अहिले लागिपरेको केशव बताउँछन् ।

‘विदेशमा गएपछि सीप सिक्नुपर्छ’, उनी भन्छन् । उनले युवालाई नेपालमै रोजगारी सिर्जना गर्न सीपमूलक तालिमको महत्वबारे सचेत गराउँदै आएका छन् ।

उनले कर्णालीको आन्तरिक क्षेत्रमै होटल व्यवस्थापन र कृषि उत्पादनसँग सम्बन्धित रहेर वीरेनद्रनगर- ४ सुर्खेतमा कुलिनरी द हस्पिटालिटी सेन्टर सञ्चालन गरिरहेका छन् ।

यहाँको स्थानीय स्रोतसाधनको सही उपयोग गरेर उनले आफ्नै ठाउँमा युवाहरूलाई हस्पिटालिटीको शिक्षा दिँदै आएका छन् । केशवले भने, ‘यो इन्भेस्ट ममीको सुन बेचेर र बाबाको रिटायर्ड रकमले भएको हो । दाइहरूले पनि यसमा आर्थिक सहयोग गर्नुभएको छ ।’

परिवारका सबैको साथ र सहयोग पाएपछि व्यवसाय सफलतापूर्वक अघि बढाउन सकेको उनको भनाइ छ ।

उनले भने, ‘विदेश जान चाहने युवाहरूलाई मेरो सल्लाह छ- पहिले सीप सिक्नुस्, नेपालमै धेरै अवसर छन् । विदेशमा ठूलो रकमको सपना देख्नेहरुले सोच्नुपर्छ, नेपालमै राम्रो भविष्य बनाउन सकिन्छ ।’

केशवको मुख्य सपना होटल म्यानेजमेन्ट र हस्पिटालिटीसम्बन्धी विद्यालय सञ्चालन गर्नु रहेको छ । सोही सपनाअनुसार कर्णालीको स्थानीय उत्पादन र जनशक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य बोकेर आफू नेपाल फर्किएको उनी बताउँछन् ।

‘होटेलमा काम गर्न नभएर व्यवस्थापन, हस्पिटालिटी र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न विद्यालय थालनी गरेका हौ’, केशवले भने ।

उनले कर्णालीका विभिन्न स्थानीय उत्पादनहरू जस्तैः कोदो, कागुनो, जौ, मकै, मास, चामल आदिलाई व्यवसायिक उत्पादनको रूपमा प्रस्तुत गर्दै आइरहेका छन् ।

उनले भने, ‘कोदोबाट कुकिज, नुडल्स, रोटी, चाउचाउ र मःमः जस्ता विभिन्न परिकार बनाउँछौं । यसलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रयासमा छौं ।’

स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्ने चुनौतीबारे केशव भन्छन्, ‘शुरुमा मान्छेहरूलाई यो कन्सेप्ट बुझ्न धेरै समय लाग्यो । तीन वर्षसम्म त सबैलाई बुझाउन समय लाग्यो ।’

निरन्तरको प्रयासले गर्दा अहिले धेरै विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । शुल्क तिर्न नसक्ने विद्यार्थीहरूलाई उनले विशेष छुट दिने गरेका छन् । कर्णाली जस्तो ठाउँमा चामल किनेर खान नसक्ने विद्यार्थीका लागि उनले निःशुल्क अध्ययन गर्ने गराउने व्यवस्था गरेका छन् ।

केशवले रोजगारी सिर्जना गरेर युवाहरूलाई स्वदेशमै अवसर पाउन सकिने उदाहरण दिएका छन् । ‘नेपालमा सीप सिकेर काम गर्न सकिन्छ । तीन महिना, छ महिना वा एक वर्षको कोर्स गरेर विद्यार्थीहरूलाई तुरुन्तै जागिर पाइने ठाउँमा लैजान सकिन्छ’, उनले भने ।

उनले कर्णालीमा मात्र सीमित नभई यो कन्सेप्टलाई काठमाडौं जस्ता ठूला शहरहरूमा पनि विस्तार गर्ने सोच राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर