नेवानीका ‘क्याबिन क्रु’ आज पनि धर्नामा, न्याय माग्दा पूर्वाग्रह साँधिएको गुनासो – Nepal Press

नेवानीका ‘क्याबिन क्रु’ आज पनि धर्नामा, न्याय माग्दा पूर्वाग्रह साँधिएको गुनासो

काठमाडौ । नेपाल वायु सेवा निगममा कार्यरत क्याविन क्रु (एयरहोस्टेस) हरू सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै लामो समयदेखि आन्दोलित छन् । न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

उनीहरूले निगम केन्द्रीय कार्यालयमा धर्ना थालेका छन् ।

संघकी अध्यक्ष प्रदा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्षौंदेखि कार्यरत क्याबिन क्रुहरूमाथि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको छ । न्यायका लागि लड्दा हामीमाथि प्रतिशोध साँधिएको छ । यसको विरोधमा हामीले मंगलबारदेखि निगमको मुख्य कार्यालयमा हातमा कालो पट्टी बाँधी विरोध प्रर्दशन थालेका छौं । त्यो क्रमलाई आज बुधबार पनि निरन्तरता दिइएको छ ।’

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याबिन क्रुको मागलाई पटक-पटक वेवास्ता गरेकाले विरोधको कार्यक्रम गर्न बाध्य भएको संघको भनाइ छ ।

सर्वोच्च अदालतले कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको अवहेलना गर्दै क्याविन क्रुलाई अवकाश दिन लागिएको, सेवा सुविधामा भेदभाव गरिएको संघका सदस्य बताउँछन् ।

यसले निगमका १७२ जना एयर होस्टेस प्रत्यक्ष प्रभावित भएको बताइन्छ । क्याविन क्रुको संगठनले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटेर भेदभावको अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा पूर्वाग्रहपूर्ण ढंगले कारवाही भए कार्यस्थलमा समेत धर्नालगायतको विरोध गर्ने चेतावनी संघको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर