सुनसरीको तरहरामा भारी वर्षा – Nepal Press

सुनसरीको तरहरामा भारी वर्षा

सुनसरी । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो ।

पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ । पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२ दशमलव चार मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले  जानकारी दिए ।

उनका अनुसार अहिले पनि सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रका कतिपय स्थानमा भारीदेखि मध्यम वर्षा भइरहेको छ । आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा भारीदेखि मध्यम वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको प्रमुख परियारले बताए ।

विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बूढी खोला, खेसलियालगायत स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू–भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर