विपद् व्यवस्थापन र हवाई भाडादरलगायत विषयमा रास्वपाले गरायो एकैपटक तीन वटै सरकारको ध्यानाकर्षण – Nepal Press

विपद् व्यवस्थापन र हवाई भाडादरलगायत विषयमा रास्वपाले गरायो एकैपटक तीन वटै सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ।

उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीको नेतृत्वमा केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारका प्रमुख तथा सतहत्तरै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो।

केही दिनअघिको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुवानका कारण ज्यान गुमाउनेको परिवारलाई उचित राहत, वेपत्ताको खोजी, घाइतेको उपचार, रबारविहीनलाई सहज अस्थायी बसोबास/खानपिनको व्यवस्था, बेलिब्रिजको प्रबन्धसहित अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापन गर्न माग गरेको छ।

चाडपर्व नजिकिँदा अनावश्यक सञ्चय गरी उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने, कालोबजारीलाई प्रश्रय दिने, व्यापारी स्वयमले चरम मूल्यवृद्धि गर्ने तथा उपभोक्ताले गुणस्तरीय वस्तु÷सेवा प्राप्न नगर्ने समस्या बढेको जनगुनासोबीच व्यापारीलाई आतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्ने वातावरण निर्माण गर्न रास्वपाले माग गरेको छ।

विवदका कारण जोखिमयुक्त रहेका कतिपय सडकमा व्यवसायीले सार्वजनिक सवारी साधन चलाएर आफूखुसी भाडा असुल्ने गरेको र चाडपर्वका मुख्य दिनमा यो क्रम बढ्ने भएकाले अनुगमन गरी यात्रुको सुरक्षामा ध्यान दिन तथा सङक्यात्रा प्रभावित भएको र चाडबाड पनि नजिकिएका बेला हवाई यात्रा गर्नुपर्ने वाध्यतात्मक परिस्थितिमा सरकारले नै न्यूनतम भाडादरमा हवाई टिकटको सुनिश्चितता गर्नुपर्ने पनि माग गरेको छ।

सरकारले तोकेको भाडादरको पूर्ण कार्यान्वयनसहित कृतिम अभाव सिर्जना गरी चर्को भाडा असुल्नेलाई कारबाही, सार्वजनिक यातायातका साधनको यान्त्रिक परीक्षण गरी मापदण्ड पूरा गरेको यकिन हुने व्यवस्था तथा लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक राख्ने प्रबन्धको कडाइका साथ अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर