‘उमेर हदको प्रस्ताव खारेज गर्नुपर्छ भन्नेहरू तोडफोडमा उत्रिए, संयोजक तोकेर टुंग्याउने पक्षमा छैनौं’ – Nepal Press
नेपाल टक

‘उमेर हदको प्रस्ताव खारेज गर्नुपर्छ भन्नेहरू तोडफोडमा उत्रिए, संयोजक तोकेर टुंग्याउने पक्षमा छैनौं’

अखिल क्रान्तिकारीका इञ्चार्ज हिमाल शर्माको जिकिर- पार्टी नेतृत्वले कुनै हस्तक्षेप गरेको छैन, सहमतिको प्रयासमा छौं

काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हदको विवादमा गएर अल्झिएको छ । उमेर हदको विषयमा विवाद भएपछि आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधिहरु तोडफोडमा उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो ।

आज रोकिएको बन्दसत्र भोलि १० बजेबाट सुरु गर्ने भनिएको छ । यद्यपि अब कसरी अगाडि बढ्ने भन्ने कुनै निष्कर्षमा पुगेको छैन । सम्मेलनको बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उमेर हदमा विवाद भएपछि प्रचण्डले आज पार्टी पदाधिकारी बैठक राखेर छलफल गरेका थिए । अब पार्टी तहबाटै निर्णय गरेर भोलिसम्म सहमतिमा बन्दसत्र अगाडि बढाउने गृहकार्य भइरहेको छ ।

यसअघि पदाधिकारी बैठकले उमेर हद निर्वाचन प्रक्रियाबाट टुंग्याउने र नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो, तर निर्वाचन प्रक्रियामा जाने वातावरण अझै बनेको छैन । उमेर हद लागू भए अहिले पदाधिकारीमा भएका अधिकांश बाहिरिनेछन् । त्यसैले अहिले यो पेचिलो बन्दै गइरहेको छ । बन्दसत्र स्थगित गरेर पार्टी नेतृत्वसहित क्रान्तिकारीका पदाधिकारीसहित छलफल गरेर सहमतिको प्रयास भइरहेको छ । सम्मेलनमा विवादको जड र समाधानको प्रयासबारे अखिल क्रान्तिकारीको इन्चार्ज हिमाल शर्मासँग गरिएको कुराकानीः

– अखिल क्रान्तिकारीको सम्मेलनमा बन्दसत्र सुरु हुन सकेको छैन । यो लफडा किन आयो ?

सम्मेलनमा अहिले विद्यार्थी संगठनमा उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा बहस भइरहेको छ । यो एजेण्डाको रुपमा पनि थियो । हामीले चाहिँ यो कसैले निर्णय गर्नुभन्दा पनि हलसमक्ष लैजाने र चुनावमा लगेर मत विभाजनको आधारमा जे निर्णय हुन्छ, त्यहीअनुसार र विधानअनुसार तय गर्ने तयारी भइरहेको थियो । हाम्रो प्रत्यक्ष निर्वाचन प्रणाली त छँदै थियो । निर्वाचन प्रणालीमा जान कसैलाई दुईमत छैन ।

यसबारेमा हलसमक्ष लगेर प्रतिनिधिलाई निर्णय गर्न दिने र त्यहाँ पनि चुनाव गराउने भन्ने थियो, तर त्यो चुनावमा भाग लिनौं । यो उमेर हदबन्दीको प्रस्ताव नै खारेज हुनुपर्छ भनेर अलि पुराना साथीहरुको अडान छ । उमेरको २८, ३० र ३२ को प्रस्ताव भएको छ, तर पुनारा साथीहरुले अवरुद्ध गरिराख्नुभएको छ । अबको निकासको लागि हामी छलफलमा जुट्दैछौं ।

– यो विषयमा पार्टीसँग पनि छलफलमा हुनुहुन्छ ?

पार्टी नेतृत्वसँग पनि निरन्तर छलफल भएको छ । यो कुरालाई विद्यार्थीले नै हल गर्ने भन्ने भएको छ । पार्टीले उमेर हद लगाउनु पनि भनेको छैन, नलगाउनु पनि भनेको छैन । विद्यार्थीले आफ्नो अधिकार आफैं गरोस्, निर्वाचन प्रक्रिया जनमत संग्रह जस्तो गरोस् भन्ने हो ।

– यो उमेर हदको विषय कार्यसूचीमा थियो कि अहिले ल्याइएको हो ?

यो हाम्रो पहिल्यै कार्यसूचीमा थियो । हाम्रो जेठमा केन्द्रीय समितिको बैठक थियो । त्यही बैठकले कार्यसूची बनाएको छ । त्यसबेलामै उमेर हदको विषयमा राष्ट्रिय सम्मेलनमा गएर निर्वाचन प्रक्रियाबाट टुंग्याउने भनेर निर्णय गरेको थियो ।

– कसैलाई रोक्ने उद्देश्यले अहिले ल्याइयो भन्ने छ नि ?

त्यो होइन, अहिले यो विषय राखिएको भन्ने हुँदै होइन । गत जेठमा बसेको केन्द्रीय कमिटीको बैठकमा योबारेमा त्यतिबेला पनि बहस चलेको थियो । यसलाई राष्ट्रिय सम्मेलनमा गएर विधान निर्माण गर्दा टुंग्याउने, सहमति नभए मत विभाजन गरेर भए पनि टुंग्याउने भनेर निर्णय गरेर फर्किएका हौं । त्यही विषयलाई अहिले अघि सारेका हौं ।

– तर यही विषयलाई लिएर सम्मेलनस्थलमा तोडफोडसमेत भएको छ ?

यो त निर्वाचन प्रक्रियामा जानै हुँदैन भन्नेले तोडफोड गरेका हुन् । यो त न्यायपूर्ण हुन्छ र ? आफ्नो जनमत र अधिकार प्रयोग गर्ने व्यवस्था भएको छ । पार्टीले पनि कुनै हस्तक्षेप गरेन । आफ्नो निर्णय आफैं गर्नुस् भनेको छ पार्टीले पनि, तर यही विषयमा प्रतिनिधिहरुको राय लिन पाइँदैन, चुनाव गर्न पाइँदैन भनेर निहुँ खोजिएको छ । यो विषयमा हामी छलफल गर्दैर्छौं । कि पेलेर जानुपर्‍यो होइन भने समझदारी कायम गरेर जानुपर्छ भन्ने नै हो ।

– अब संयोजक पार्टीले तोकेर सम्मेलन स्थगित गर्ने तयारी हो ?

त्यसबारेमा हामीले छलफल गरेका छैनौं । हाम्रो अध्यक्षमण्डल छ, यही सम्मेलन जारी हुन्छ । बन्दसत्रको निर्वाचन अब कहाँ कहिले गर्ने भन्ने छलफलबाट टुंगिएला । अहिले संयोजक तोकेर जाने पक्षमा छैनौं । निर्वाचनमण्डल छँदैछ, यसैको निरन्तरतामा अगाडि बढ्छ ।

– पार्टी नेतृत्वको गुटबन्दीको कारणले पनि अहिले समस्या आएको भन्ने चर्चा छ नि ?

यसमा पार्टी नेतृत्वको गुटबन्दी छैन । विद्यार्थीको निर्णय विद्यार्थीले नै गर्नुपर्छ भन्नेमा पार्टी नेतृत्व एकमत छ । यहाँ पार्टीले उमेर हद लगाइदियो भने पनि विरोध गर्ने, नलगाउँदा हाम्रो हक खोसियो भन्ने । पार्टीले सबै अधिकार दिएको छ, तर त्यो अधिकारको सदुपयोग गर्न सकिरहेका छैनन् ।

– तर नेताहरु व्यक्तिपिच्छे उम्मेदवार अघि सार्दा अहिलेको समस्या भएको बताइन्छ नि ?

यसमा नेताहरुको कुरा छैन । पार्टीले अधिकार दिएको हो । नेताहरुबीच उमेर हद चलाउन पाइन्छ र पाइँदैन भनेर बहस गर्न पनि पाइन्थ्यो । चुनाव हुन्थ्यो, पार्टीको कुरा हुन्थ्यो भने निर्वाचन गएर खारेज गर्न पाइहालिन्छ नि ! तर उम्मेदवारको विषयमा त्यस्तो छैन ।

– भनेपछि यही सम्मेलनले नयाँ नेतृत्व दिन्छ ?

यही सम्मेलनको प्रक्रियाबाट नै नयाँ नेतृत्व छनोट गर्नेगरी लागेका छौं । कार्यालय पदाधिकारीको बैठकले अब कसरी निष्कर्षमा पुग्ने भन्ने टुंग्याउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर