फेसबुकले विश्व नेताकै फलोअर्स लुकायो, प्रचण्डका आईटीविज्ञले नेपाली समाजलाई झुक्याए – Nepal Press

फेसबुकले विश्व नेताकै फलोअर्स लुकायो, प्रचण्डका आईटीविज्ञले नेपाली समाजलाई झुक्याए

प्रधानमन्त्री कार्यालयमा फेसबुक प्रतिनिधि बोलाएर फलोअर्स लुकाउन निर्देशन दिएको प्रचण्ड सचिवालयको दाबी, फेसबुकले भने नरेन्द्र मोदीदेखि बराक ओबामासम्मकै फलोअर्स लुकायो

काठमाडौं । सामाजिक सञ्जालले फैलाउने मिथ्या सूचनाले समाजलाई कसरी भ्रमित तुल्याउँछ ? यसको पछिल्लो जिउँदोजाग्दो उदाहरण बनेको छ पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालय स्वयं ।

प्रचण्ड प्रधानमन्त्री हुँदाका सूचना प्रविधिविज्ञ प्रकाश रायमाझीले फैलाएको भ्रमको शिकार प्रचण्डकै स्वकीय सचिव रमेश मल्लदेखि माओवादीका धेरै नेता र सांसदहरु भए । उनीहरुले वास्तविकता बुझेपछि धमाधम शेयर गरेको पोष्ट डिलिट गरे पनि लाखौं मान्छे भने भ्रमित रहे ।

बुधबार दिउँसैदेखि देशभरका माओवादी कार्यकर्ताहरु तथा शुभेच्छुकले एक साझा कुरा सेयर गरे । त्यो हो ओलीको भन्दा प्रचण्डको फेसबुक फलोअर्स बढेपछि प्रधानमन्त्रीले कार्यालयमा फेसबुक प्रतिनिधि बोलाए । अनि फलोअर्स नदेखिने बनाउन आग्रह गरे ।

यो कुरा भाइरल गर्नमा प्रचण्डको सचिवालयका रमेश मल्लदेखि पहिले रेखा शर्मा सचिवालयमा रहेका नरेन्द्र केसीसम्मले सेयर गरे । अहिले उनीहरुले आफ्नो सेयर डिलिट गरेका छन्, तर माओवादी सांसद र देशभरका नेताले त्यही पोष्ट बोकेर हिँडे ।

माओवादी कार्यकर्ताहरुमा भने अहिले पनि प्रचण्डविरुद्ध ओलीले फेसबुकका प्रतिनिधि बोलाएरै खेल गरे भन्ने परेको छ । धेरैले अझै पनि सेयर गरिरहेका छन्, तर रोचक कुरा यो छ कि फेसबुकले ओलीदेखि ओबामासम्म, प्रचण्डदेखि कमला ह्यारिससम्म सबैको फलोअर्स नदेखिने बनाएको छ ।

व्यक्तिगत खाताका फलोअर्सहरु नदेखाइए तापनि संस्थागत र विभिन्न सञ्चारका पेजहरुको फलोअर्सहरु भने देखाइएको छ । सर्च गर्दा झट्ट देखिने, तर अकाउन्टमा पुग्दा नदेखिने खालको व्यवस्था व्यक्तिगत खातामा लागू गरिएको देखिन्छ ।

यसबारेमा फेसबुकले कुनै सार्वजनिक सूचना दिएको छैन, तर फेसबुकले गरेको यो सामान्य कुरालाई ओलीले गरेको जस्तो प्रोपोगाण्डा भइरहेको छ ।

कसले गर्‍यो यो प्रोपोगाण्डा ?

प्रकाश रायमाझीले यो प्रोपोगाण्डा सुरु गरेको देखिएको छ । प्रधानमन्त्री प्रचण्ड हुँदा उनले आईटीविज्ञको रुपमा काम गरेका थिए । उनले ओली र प्रचण्डको फेसबुक स्क्रिनसट राखेर लेखेका थिए,

‘बा’ यतिसारो किन डराको ?

आफ्नो फलोअर्स घट्यो भन्दैमा फेसबुकको आधिकारिक प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर फलोअर्स नदेखिने बनाउन निर्देशन दिने काम किन ? प्रधानमन्त्री कार्यालयको सोही निर्देशनबमोजिम फेसबुकले फलोअर्स नै नदेखिने बनाएको विषय गम्भीर छ । आफ्नो क्रेज घट्दै गएपछि यो हदसम्मको कार्य गर्नुले सरकार काम गर्नभन्दा आफ्ना गल्ती कमी-कमजोरी ढाँकछोपमा लागेको पुष्टि हुन्छ । सामाजिक सञ्जाल फेसबुकले यथाशिघ्र फलोअर्स देखाउने बनाओस् ।’

उसो त रायमाझीको यो नै पहिलो विवादित कार्य होइन । उनले यस अगाडि प्रचण्डको सचिवालयमा आईटी विज्ञको रुपमा स्वकीय उपसचिव हुँदा पनि विभिन्न आईटी परियोजनाहरु आफूलाई दिनुपर्ने भनेकोमा विवाद आएको थियो । स्किमा टेक्नोलोजी प्रालिका साहुजी पनि रहेका उनले आफ्नो स्वार्थमा काम गरेको आरोप थियो । त्यसबारेका समाचार धेरै मिडियाहरुमा आइसकेका छन् ।

फेसबुकसँगै काम गरिरहेका सूचना प्रविधि विज्ञ तथा परामर्श दाताहरुका अनुसार कुनै देशको प्रधानमन्त्री वा उनको कार्यालयले बोलाएर दिएको निर्देशनकै आधारमा फेसबुकले कुनै पोष्ट हटाउने वा फलोअर्स बढाउने घटाउँने गर्न सक्दैन । त्यसमाथि नेपालमा फेसबुकको आधिकारिक प्रतिनिधि नै छैनन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डका फलोअर्स लुकाउन लगाएको प्रोपोगाण्डा चलाउनेमा भने मेलम्ची भ्रष्टाचारका आरोपित पूर्व सचिव भीम उपाध्याय समेत संलग्न रहेको पाइएको छ । प्रधानमन्त्री सचिवालयले भने यस्ता हावादारी आरोपहरुको जवाफ दिन नपर्ने भनेको छ । समाजमा कस्ता मान्छेले मिथ्या सूचनाबाट भ्रमित पार्छन् भन्ने पछिल्लो उदाहरण प्रचण्डको फलोअर्स प्रकरण भएको छ ।


प्रतिक्रिया

One thought on “फेसबुकले विश्व नेताकै फलोअर्स लुकायो, प्रचण्डका आईटीविज्ञले नेपाली समाजलाई झुक्याए

  1. केपी बालाई रिझाउन भन्दैमा हतारमा न्युज लेखेर
    मुख्य कुरा नै उल्टो बनाइदिने हो त अनि ?
    कोहीभन्दा कोही कम छैन यहाँ
    -बुधबार दिउँसैदेखि देशभरका माओवादी कार्यकर्ताहरु तथा शुभेच्छुकले एक साझा कुरा सेयर गरे । त्यो हो प्रचण्डभन्दा ओलीको फेसबुक फलोअर्स बढेपछि प्रधानमन्त्रीले कार्यालयमा फेसबुक प्रतिनिधि बोलाए । अनि फलोअर्स नदेखिने बनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर