बाढीको क्षति बुझ्न गएकी कोशीकी राज्यमन्त्री राईमाथि आक्रमण गर्ने समूह पक्राउ – Nepal Press

बाढीको क्षति बुझ्न गएकी कोशीकी राज्यमन्त्री राईमाथि आक्रमण गर्ने समूह पक्राउ

विराटनगर । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईलाई गएराति आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरबाट गएको प्रहरीको बिशेष टोलीले उनिहरुलाई उदयपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६ जना रहेको कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए । घटनामा नाबालकहरुसमेतको संलग्नता रहेको र पक्राउ परेकोले अनुसन्धानपछि मात्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गर्ने जनाएको छ ।

राज्यमन्त्री राई बाढीपहिरो पछिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारको पहल गर्न उदयपुरको उत्तरी क्षेत्र र भोजपुरको दक्षिण क्षेत्रमा गएकी थिइन् । विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजे उनी चढेको सवारीसाधनमा आक्रमण भएको थियो ।

प्रहरीका अनुसार उनी फर्केर आएको बाटोबाट गाँजा तस्करी हुने गरेको र त्यस ठाउँमा उक्त समूहले गाँजा ओसारपसार गर्नेहरुसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मंगलबार राति पनि उक्त समूहले गाँजा ओसारपसार गर्ने समूह सम्झेर मन्त्री सवार गाडीमा आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुले त्यहा लुटपाट गर्ने उदेश्यले आक्रमण गरेको खुलेको डिआइजी खापुङले बताए । राति आक्रमण भएपछि उनलाई प्रहरीले स्कटीङ गरेर विराटनगर ल्याएको थियो ।

उनी चढ्ने प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडीमा क्षति पुगेकोले मर्मतका लागि लगिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिका वडा नं. ८ सिरवानी माथिको लिफ्टिङ खानेपानी ट्याङ्कीमुनि बिग्रेको टर्नीङमा बेलुकी १० बजे गाडी आक्रमणमा परेको थियो ।

गाडीमा मन्त्री राईसहित उनका सचिवालयका सदस्यहरु, नेकपा एमाले आमचोक गाउँपालिका उपाध्यक्ष बसन्त राईलगायत ७ जना थिए । आक्रमणकारी समूहले खुकुरी, भाटा र ढुंगा बोकेर गाडी रोक्न खोजेका थिए भने सडकमा मुढासमेत तेस्र्याएका थिए । तर चालकले गाडी नरोकी अगाडि बढाएका कारण थप घटना हुनबाट जोगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *