नेपाल-भारत सीमामा ‘डेजी र साया’को निगरानी – Nepal Press

नेपाल-भारत सीमामा ‘डेजी र साया’को निगरानी

रुपन्देही । भारतसँग ६० किलोमिटर खुला सीमा रहेको रुपन्देहीको मुख्य नाका रहेको सुनौलीमा सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा निगरानीका लागि ‘स्क्वायड डग’ परिचालन गरेको छ ।

खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुनसक्ने सीमा अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौंबाट ल्याइएका ‘स्क्वायड डग’ ले अवैध लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ल्याए/नल्याएको पत्ता लगाउने छन् ।

सीमा क्षेत्रमा ती कुकुरहरुलाई परिचालन गर्नका लागि सशस्त्र प्रहरी वरिष्ठ हवलदार नविन श्रेष्ठको नेतृत्वको (के–नाइन) टोली रुपन्देही आइपुगेको छ ।

सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ओसारपसार नियन्त्रण गर्नका लागि उनीसहित ५ जनाको टीम रुपन्देही आएको छ । डेजी र साया नाम गरेका कुकुरले विष्फोटक पदार्थ, लागूऔषध तथा हातहतियार भएको थाहा पाएपछि सामानभन्दा पछाडि गएर भुक्ने तथा कोतरेर संकेत गर्ने हवल्दार श्रेष्ठले जानकारी दिए ।

 सशस्त्र प्रहरी बल नेपाल नं। २७ गण, हेडक्वाटर भैरहवाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगरले कुकुरसहित आएको पाँचजनाको टोलीले सीमा अपराध नियन्त्रणमा थप भूमिका खेल्ने बताए ।

उनले चाडपर्वलाई लक्षित गरेर तथा सीमा अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको बताए । उनले भने, ‘सीमा अपराध प्रभावकारी ढंगले समयमै नियन्त्रण गर्न र प्रहरीलाई कार्यसम्पादन गर्न मद्दत पुग्छ ।’

बेलहिया नाका मात्र नभई आवश्यकताअनुसार कक्ररहवा र भगवानपुर नाकामा स्क्वायड डग परिचालन गरिने उनले जानकारी दिए । उनले भने, ‘आवश्यकताअनुसार जतिबेला पनि चेकजाँच गर्न सकिन्छ ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वका बेलामा मात्र नभइ जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यो टीमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘यसको प्रभावकारिता स्थापित होस् । यो टीमलाई निरन्तरता दिन सके अझ राम्रो कार्यसम्पादन हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *