समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु, दुई दिन पहिले बैतडीमा पनि गएको थियो ज्यान – Nepal Press

समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु, दुई दिन पहिले बैतडीमा पनि गएको थियो ज्यान

कैलाली । समयमा उपचार नपाउँदा अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरिता देवी जैसीको उच्च रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

गए राति करिब १२ बजे उनलाई सुत्केरी बेथा लागेको थियो । परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन् । बीच बाटोमा सुत्केरी हुँदा नै जैसीको उच्च रक्तस्राव भइसकेको थियो ।

त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

ढिलो गरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिराज आचार्य बताए ।

दुई दिन पहिले पनि बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनीषा घटालको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो ।
सोमवार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तस्राव कारण मङ्गलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीले जानकारी दिएको छ।

बर्सातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसकेको मृतकका आफन्तले जनाएका छन्।

सुदूरपश्चिममा प्रत्येक वर्ष समयमा उपचर नपाएर सुत्केरीको मृत्यु हुने गरेको छ । पछिल्लो समय जटिल अवस्थामा हेलिकप्टरबाट उद्धार हुँदा केही सहज भएपनि सबै त्यसको पहुँचमा भने पुग्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर