यात्रुको चापले तारन्तार उडान भर्दा जहाजहरूको ‘मेन्टेनेन्स’ मा चुनौती – Nepal Press

यात्रुको चापले तारन्तार उडान भर्दा जहाजहरूको ‘मेन्टेनेन्स’ मा चुनौती

एयरलाइन्स भन्छन्- चेकजाँचकै कारण उडान ‘डिले’ भइरहेको छ

काठमाडौं । बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा लामो दूरीमा यात्रा गर्नेहरूको भिड अहिले विमानस्थलतिर केन्द्रित बनिरहेको छ । दशैंमा घर जानुपर्नेहरू जहाजको महंगो यात्रा गर्न बाध्य भइरहेका छन् ।

पछिल्ला केही दिनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप ह्वात्तै बढेको देख्न सकिन्छ । दशै लागेसँगै विमानस्थलको भिडले बसपार्ककै झल्को दिइरहेको छ । आन्तरिक उडान तथा अवतरणमा रेकर्ड ब्रेक नै भइरहेको छ । एकै दिन साढे ५ सयसम्म उडान भए ।

सामान्य अवस्थामा दैनिक बढीमा ३०० सम्म उडानहरू हुने गर्थे । अहिले उडानसंख्या करिब दोब्बर हुँदा एयरलाइन्समाथि चुनौती पनि थपिएको छ । एयरलाइन्सले दशैंकै लागि भनेर जहाज थप्न सक्ने स्थिति हुँदैन । भएकै जहाजलाई अत्यधिक प्रयोग गर्नुपर्दा तिनीहरुको मर्मत-सम्भार र चेकजाँचमा सम्झौता त गरिएको छैन भन्ने प्रश्न उब्जिन्छ ।

नागरिक उड्डयन प्राधिकरणको एक स्रोतले उडानहरुले रुटिन चेकजाँच र मर्मत सम्भार समयमा नगरिरहेको दाबी गर्‍यो ।

‘धेरैभन्दा धेरै उडान गर्ने चक्करमा यात्रु सुरक्षामा लापरवाही गरिएको छ,’ स्रोत भन्छ, ‘कागजमा सबै दुरुस्त देखाए पनि जहाजहरुले नियमित चेकजाँच र मर्मत गरिरहेका छैनन् । यसले जोखिम निम्त्याउन सक्छ ।’

एयरलाइन्सहरू भने जहाज सुरक्षामा कुनै पनि खेलवाड नभएको दावी गर्छन् । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जहाजको उडान अवतरण जति व्यस्त भए पनि हरेक उडानपछि सामान्य चेकजाँच अनिवार्य हुने बताए । पाइलट आफैं जहाजको कन्डिसनमा विश्वस्त नभइ उडाउन नचाहने भएकाले सुरक्षामा कुनै शंका नगर्न उनले आग्रह गरे ।

बर्तौला भन्छन्, ‘एउटा पाइलटले ३ देखि ४ वटा उडान अवतण गर्ने गरेका छन् । पाइलटलाई पनि आफ्नो ज्यानको माया हुने भएकाले उसले पनि जहाजको अवस्थाबारे जानकारी राख्छ । एउटा जहाज दुर्घटना हुनु भनेको एयरलाइन्सका लागि ठुलो क्षति हो । अहिले प्यासेन्जर बोकेर कमाउने पैसा ठुलो होइन ।’

यति एयरलाइन्सको अहिले दैनिक ७२ देखि ७४ उडान तथा अवतरण भइरहेको छ । यस एयरलाइन्ससँग सातवटा जहाज छन् । यस हिसाबले प्रत्येक जहाजले दैनिक १० वटाजति उडान र अवतरण गरिरहेका हुन्छन् । यतिका सबै उडान ७० सिटभन्दा माथिको जहाजमार्फत भइरहेको बर्तौलाले बताए ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर पनि एयरलाइन्सहरूले जहाजको सुरक्षामा कुनै पनि सम्झौता नगर्ने बताउँछन् । हरेक उडान तथा अवतरणपछि जहाजको सामान्य चेकजाँच अनिवार्य नै भएको उनको भनाइ छ । अहिलेको विमानस्थलको क्षमताले उडान चापलाई धान्न सकस भएकाले उडानहरु डिले भइरहेको समेत उनले बताए ।

हवाइविज्ञ राजकुमार क्षेत्री हरेक जहाजले हरेक उडानमा सामान्य चेकजाँच गर्नैपर्ने बताए । तर, जहाजको मर्मतको लागि भने निश्चित समयचक्र रहेको र सो समयचक्र जहाजको टाइपअनुसार फरक-फरक हुने उनले जानकारी दिए । उनको भनाइमा सामान्य निरक्षण नै नगरीकन चलाउन कदापि मिल्दैन ।

जहाजको चेकजाँज कसरी हुन्छ ?

नागरिक उड्ययन प्राधिकरणको नियमअनुसार हरेक जहाजले उडान भर्नुअघि गरिने नियमित परीक्षणसहित निश्चित घण्टा, समयचक्र, पार्टपुर्जाको अवधि र उडान अवतरण अविधिका आधारमा जहाजको चेकजाँच गर्नुपर्छ । यस्तै हरेक दुई वर्षमा विस्तृत मर्मतसम्भार पनि गर्नुपर्ने हुन्छ । जहाजको विस्तृत मर्मतसम्भार पछि उक्त कार्य प्राधिकरणले तोकेको मापदण्डअनुसार भएको छ वा छैन भन्ने विषयमा जाँचबुझ गरेपछि मात्रै प्राधिकरणले उडान योग्यताको प्रमाणपत्र नवीकरण गर्छ ।

हरेक उडानपछि पाइलटले जहाजको वरिपरि घुमेर (वाक अराण्ड) सबै पाटो हेर्ने गरेको यति एयरलाइन्सका प्रवक्ता बर्तौलाले बताए । टायर ठिक छ वा छैन भन्ने विषय पनि त्यही बेला हेरिन्छ । जहाजमा सानोतिनो समस्या आउनासाथ इन्टिकेटरले संकेत गर्छ । सो संकेत देख्नेवित्तिकै अवस्था हेरेर जहाज उडिरहेको छ भने पनि उसले त्यहाँबाट नजिकको दूरीमा पर्ने विमानस्थल वा उडान भरेको विमानस्थलमा अवतरण गरेर मर्मत सम्भार गर्ने गर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ वटा एयरलाइन्सका जहाजहरू अहिले सञ्चालनमा छन् । यस्तै १२ वटा एयरलाइन्सका हेलिकप्टरहरू सञ्चालनमा छन् ।

जहाज ल्याण्ड भएको कति समयपछि उड्न पाउँछन् ?

स-साना जहाज अवतरण हुनेबित्तिकै प्यासेन्जर लिएर तत्काल उड्न पाउँछन भने ठुला जहाजलाई कम्तीमा पनि २५ मिनेट लाग्छ । सामान लोड, अनलोड गर्ने, जहाज भित्रको सरसफाइ गर्ने बेला नै जहाजको नियमित चेकजाँच हुन्छ । जतिसुकै व्यस्त उडान भएपनि यो नियमित हुने कार्य भएको एयरलाइन्सहरु बताउँछन् ।

उडान चाप बढेपछि डिले भएको भन्दै यात्रुहरूले विरोध समेत गर्ने गरेका छन् ।

‘कतिपयले जहाज डिले भयो भनेर गुनासो गर्ने गरेका छन्, तर नियमित चेकजाँच गर्नै पर्ने भएकाले केही समय डिले हुनसक्छ,’ श्री एयरलाइन्सका अनिल मानन्धरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *