बेहुली फ्रम मेघौलीको प्रिमियर: जब ट्याक्टर चलाएर आइन् स्वस्तिमा (भिडिओ) – Nepal Press

बेहुली फ्रम मेघौलीको प्रिमियर: जब ट्याक्टर चलाएर आइन् स्वस्तिमा (भिडिओ)

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतले निर्माण गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ।

असोज १७ अर्थात दशैंको घटस्थापनाको अवसर पारेर आजबाट रिलिज गरिएको चलचित्रको हिजो भक्तपुरस्थित क्युएफएक्स हलमा भव्य प्रिमियर गरिएको थियो। प्रिमियरमा नायिका स्वस्तिमा खड्काको फरक अन्दाजले सबैको ध्यान खिचेको थियो। चलचित्रमा स्वस्तिमाले ट्याक्टर चलाएको दृश्य छ।

चलचित्रको सो रिल दृश्यलाई रियल लाइफमा परिवर्तन गर्दै उनी आफ्नो चलचित्रको प्रिमियरमा ट्याक्टर लिएर पुगेकी थिइन्, त्यहीँ पनि आफै चलाएर। उनको सो फरक अन्दाज हेर्न हल बाहिर दर्शकको ठुलो घुँइचो लागेको थियो।

प्रिमियरमा चलचित्रकर्मीहरुको राम्रै उपस्थिति थियो। चलचित्र हेर्न निर्देशकहरु अशोक शर्मा, दीपेन्द्र के खनाल, रेनशा वान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत र कलाकारहरु आशुष्मान देशराज जोशी, आशीर्वाद क्षेत्री, विरेन श्रेष्ठ, प्रियंका कार्की, आना शर्मा, निरुता सिंह, हरिवंश आचार्य, लगायतको उपस्थिति रहेको थियो ।

चलचित्र हेरेर निस्किएका चलचित्रकर्मीले स्वस्तिमाको अभिनयको तारिफ गरेका थिए । चलचित्रको कथावस्तु पनि रोमान्चक भएको उनीहरुको भनाइ थियो। प्रिमियरमा राम्रो प्रतिक्रिया पाउनु कुनै नौलौ कुरा होइन। हरेक चलचित्रले प्रिमियरमा राम्रै प्रतिक्रिया पाउने गर्दछन। चलचित्र कस्तो छ र कस्तो व्यापार गर्छ भन्ने कुराको सही मुल्यांकन भने रिलिजपछि हुने गर्दछ।

अकुपेन्सीको कुरा गर्ने हो भने, आजको चलचित्रको अकुपेन्सी सुखदै छ । चलचित्रको टिम यतिबेला हल भिजिटमा व्यस्त छ। स्वस्तिमा दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न हल–हल कुदिरहेकी छिन्। आज घटस्थापनाको बिदा भएकाले पनि चलचित्र हेर्न दर्शक हलसम्म आइरहेका छन्।

भोलि शुक्रबार र पर्सि पनि बिदा भएकाले चलचित्रलाई रिलिजको तीन दिन केही राहत मिल्ने देखिन्छ। प्रिमियरमा चलचित्रकर्मीहरुले दिएको प्रतिक्रियालाई पत्याउने हो भने र वर्ड अफ माउथ बलियो भए चलचित्र राम्रै चल्ने अनुमान लगाउन सकिन्छ। यस चलचित्रले पहिलो सातामै भरपुर विजनेस गर्नुपर्छ । दोस्रो सातामा एकैपटक तीन ठुला चलचित्रहरु छक्कापञ्जा ५, ज्वाईं साब र १२ गाउँ रिलिज हुने भएकाले चलचित्रलाई केही गाह्रो पर्न सक्ने देखिन्छ।

साजन काफ्ले र आकास बराल लिखित तथा निर्देशित चलचित्रले नेपाली सिनेमाको इतिहासकै सर्वाधिक धेरै शो पाएको छ । ३४० शो पाएको यो चलचित्रले विवाहको कथा भन्छ । ३० वर्ष टेक्न लागेकी छोरीका लागि योग्य वर खोज्न एक परिवारले गरेको संघर्षलाई चलचित्रले हाँस्य शैलीमा देखाएको छ ।

चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर