‘२५ वर्षे युवा निर्वाचित भए पनि नेता मान्न तयार छौं, तर प्रतिस्पर्धाको अवसर सबैले पाउनुपर्छ’
अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदार जीपी मैनाली भन्छन्- संगठनको विकासमा आँसु र पसिना बगाएको कोही साथीले उम्मेदवार नै हुन नपाउने प्रावधान राखिनु हुँदैन
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन विवाद, नाराबाजी र झडपकाबीच अन्ततः नेतृत्व चयन गर्न नसकी स्थगित भएको छ । माओवादी पंक्तिभित्रै यो सम्मेलन विफल भएकोमा निकै ठूलो चर्चा,विवाद र आरोप प्रत्यारोप समेत चलिरहेको छ ।
पार्टी भित्रको गुटबन्दी तथा नेताहरुबीचको तानातानले यति बेला क्रान्तिकारीको सम्मेलन भाँडिएको छ र सम्मेलनका लागि काठमाडौंमा भेला भएका करिब २४ सय प्रतिनिधि तथा पर्यवेक्षक आ-आफ्नो घरतर्फ लागेका छन् ।
अनुशासित मानिएको पार्टी र त्यसको विद्यार्थी संगठनभित्र यस्तो अवस्था कसरी पैदा भयो ? यसका कारण भविष्यमा परिणामहरु के हुन सक्छन् ? के अब नेतृत्वले टिका लगाएर अध्यक्ष चयन गर्छ ? अध्यक्षका एक प्रबल दाबेदार मानिएका अखिल (क्रान्तिकारी) को सम्मेलनसँगै निवर्तमान भएका उपाध्यक्ष तथा प्रवक्ता जीपी मैनालीलाई हामीले सोधेका छौँ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी नेपाल टकमा ।
अखिल क्रान्तिकारीको बहुप्रतिक्षित राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भयो । यो तपाईंहरुको असक्षमता होइन र ?
राष्ट्रिय सम्मेलन अखिल (क्रान्तिकारी) का लागि उत्सव हो । कुनै पनि उत्सवलाई विधिपूर्वक तार्किक निष्कर्षसम्म पुर्याउन समय लाग्नु स्वभाविक नै हो । त्रिभूवन विश्वविद्यालय, किर्तिपुरको सभाहलमा देशैभरीबाट आएका २३ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न आउनु भएकै हो ।
तर, दुई चरणको निर्वाचन प्रक्रियामा जाँदा समय अभाव हुने भएकाले यसलाई स्थगित गर्नुको विकल्प रहेन । प्रक्रियागत रुपमै अघि बढ्ने हो भने पनि उमेर हदबन्दीबारे निर्वाचन गर्दा कम्तिमा दुई दिन र केन्द्रीय समितिको निर्वाचनका लागि कम्तिमा पाँच दिन लाग्ने भयो । झण्डै ७ दिन हामीले निर्वाचन प्रक्रियामा खर्च गर्दा दशैं आई सक्छ । देशैभरी सबैलाई दशैं लाग्ने र अखिल (क्रान्तिकारी) लाई निर्वाचन मात्रै लाग्ने पनि त हुँदैन । यसका साथै देशैभर बर्षाका कारण विषम परिस्थिति सृजना भयो ।
हाम्रै सम्मेलन हलमा बस्नु भएका कति साथीहरुको बर्षाका कारण परिवारमा अप्ठेरो सृजना भएको छ । तपाईंले देखिराख्नु भएकै छ– हाम्रो नेतासा थीहरु राहत र उद्धारमा खटिनु भएको थियो । मौसमका कारण बन्द सत्र स्थगन गर्नु परेको थियो । त्यसैले यस विषयमा निर्वाचन आयोग र पार्टी नेतृत्वसँग सल्लाह गरेर सम्मेलन हालका लागि केही पर सारिएको मात्र हो ।
व्यवहारिक रुपमा सम्मलेन स्थगित भए पनि यसका प्रक्रियाहरु रोकिएका छैनन् । अध्यक्ष मण्डलले आफ्नो काम गरिरहेकै छ । सम्मेलन हलबाट घर फर्कदै गरेका साथीहरुलाई म के भन्न चाहन्छु भने हामी निराश हुनु पर्ने ठाउँ छैन । तथापि सम्मेलन पूर्णतामा नपुगी जसरी स्थगित हुन पुग्यो, त्यसका लागि म देशैभरबाट काठमाडौं आउनु भएका प्रतिनिधि/पर्यवेक्षकसँग माफी चाहन्छु । अब छिट्टै नयाँ कार्यसमिति चयनका लागि एउटा उपयुक्त प्रक्रिया अघि बढ्नेछ । र, तपाईंहरुले आफ्नो मतको सदुपयोग गर्न पाउनु हुनेछ ।
संगठनमा रहेको विवादले यो परिस्थिति सृजना भएको हो वा पार्टीमा सक्रिय विभिन्न नेताहरुको गुटका कारण ?
राजनीति र संगठनलाई हाक्ने नेतृत्व घर्षणबाट पैदा हुन्छ । अखिल (क्रान्तिकारी) र माओवादी पार्टी पनि इतिहासको सबै भन्दा भीषण राजनीतिक बाटो हुँदै यहाँसम्म आई पुगेको हो । यहाँ राजकुल भएकी रानीको गर्भबाट जन्मिने जेठो छोराले राजकाज सम्हाल्छ भने जस्तो हुँदैन । यहाँ त डार्विनको सिद्धान्त जस्तै, जो सबै भन्दा सक्षम हुन्छ उसैले नेतृत्व गर्छ ।
हाम्रो संगठनमा समानान्तर कमिटीको अभ्यास नभएको होइन । तर, आजका दिनमा पनि यो संगठन जनयुद्धमै जत्तिको एकताबद्ध र जुझारु छ । देशैभरीका साथीहरुको एउटै चासो छ- अब बन्ने हाम्रो नेतृत्वले भावि आन्दोलनको नेतृत्व गर्न सक्छ कि सक्दैन ? यो गुट/त्यो गुट, यो नेता/त्यो नेता भन्दा पनि साथीहरु हामीले हाम्रो विरासत गुमाउनु हुँदैन भन्नेमा बढी प्रतिबद्ध र सचेत देख्छु । उनीहरु रगतले लतपतिएको संगठनको जुझारुपना नमरोस भन्नेमा सचेत छन् । त्यही भएरै खबरदारी र घर्षण पनि सतहमा देख्न सकिने स्तरकै चली रहेको छ ।
संगठनमा उमेर हदबन्दी लगाउने वा नलगाउने भन्ने विषय निकै ठूलो विवादको विषय बनेको छ, यसमा तपाईंको धारणा के हो ?
हो, उमेर हदबन्दीलाई लिएर संगठनमा बहस छ । मलाई के विश्वास छ भने अखिल (क्रान्तिकारी) मा आफ्नो जीवन र समय अर्पण गरेका सबै साथीहरुले यो नयाँ कार्यसमितिमा परिपक्व नेतृत्व र उर्जावान युवाहरुलाई मतदानबाट छनोट गर्नुहुनेछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्र र पार्टीका विभिन्न गुटका कारण सम्मेलनमा भाँडभैलो भयो भन्नेहरुको संख्या पनि धेरै छ । वास्तविकता के हो ?
कुनै आमाले आफ्नो सन्तानलाई पहिले दुध खुवाई र त्यसपछि सबैको अघिल्तिर उसको घाँटी निमोठेर हत्या गर्न खोजी भनेर भन्दा तपाईंलाई विश्वास लाग्ला तर यो संसारका कुनै पनि आमालाई त्यसमा विश्वास हुँदैन ।
हाम्रो पार्टीमा गुटहरु हावि छन् र त्यसलाई मैले छैन भने पनि कसैले पत्याउँदैनन् तर प्रचण्डले आफ्नै सन्तान अखिल (क्रान्तिकारी) मा भाँडभैलो मच्चाए भनेर मैले भन्ने हो भने पनि कसैले पत्याउँदैन । बरु, यो संगठनमा भएका २२ वटा सम्मेलन भन्दा फरक ढंगले पार्टीले यो सम्मेलनमा लोकतान्त्रिक विधि अपनाउन निर्देशन दिएको छ ।
नेपालको वामपन्थी आन्दोलन अघि बढाउन, नयाँ नेतृत्वको विकास गर्न र वर्तमान विद्यार्थी आन्दोलनलाई सघन बनाउन अखिल (क्रान्तिकारी) को के भूमिका छ भन्ने नेतृत्वलाई राम्रोसँग थाहा छ । यसका साथै विद्यार्थी संगठनमा कस्तो नेतृत्वको अपरिहार्यता छ भन्नेबारे पनि नेतृत्वलाई राम्रोसँग थाहा छ । अध्यक्ष प्रचण्डसहितको मुल नेतृत्व निकै गम्भीरतासाथ यसको निरुपण कसरी गर्न सकिन्छ भनेर लाग्नु भएको छ । त्यसैले तपाईंले भनेको कुरामा कुनै सत्यता छैन ।
तपाईंले म पनि अध्यक्षको दावेदार हुँ भन्नु भयो तर तपाईंको चर्चा त कतै छैन । के तपाईं आफ्नो निर्णयबाट पछि हट्नु भएको हो ?
म अध्यक्षको दावेदार हुँ भनेकै छु । इकाई कमिटीको अध्यक्षदेखि संगठनका सबै पदमा बसेर काम गरेको छु । १८औँ राष्ट्रिय सम्मेलनमा हिमाल शर्माको नेतृत्वमा बनेको कमिटीमा केन्द्रीय सदस्य भएर काम गरेको छु । काठमाडौं इन्जिनियरिङ कलेजमा स्ववियु सभापति भएर काम गरेको छु । रञ्जित तामाङको कार्यकालमा उपमहासचिव र प्रवक्ता भएर काम गरेको छु । केन्द्रीय समितिमै १६ बर्षदेखि काम गरिरहेको छु भने म अध्यक्षको दावेदार नहुनु पर्ने कारण के छ ?
तर, मैले भन्ने गरेको कुरा के हो भने हाम्रो संगठनमा एउटा परम्परा र इतिहास छ । अखिल (क्रान्तिकारी) त्यही इतिहास र परम्पराले अन्य भन्दा भिन्न संगठन हो । मलाई फलानो पद चाहियो भनेर यहाँ कसैले भन्दैन । यो संगठनमा अझै पनि दाजु गुमाएका भाईहरु छन् । युद्धमा पति गुमाएर एक्लिएकी आमाले आफ्नो एक मात्र छोरा/छोरीलाई यो आन्दोलनमा पठाएका छन् । आन्दोलनमा आमाबुबा दुबै गुमाएर अखिल (क्रान्तिकारी) मा संगठित भएकाहरुको संख्या ठूलो छ ।
शान्ति प्रक्रियापछि संगठनमा संगठित भएका र वर्तमान युगको आवाज बोल्न सक्ने नयाँ पुस्ता छ । जसको काँधमा यो संगठनको झण्डा उभिनु पर्छ भनेर सघन बहसहरु चल्न थालेको छ । यसो भन्नुस, प्रत्येक क्षण बदलिरहेको आजको गतिशिल दुनियाको चुनौतीलाई बुझ्ने र सामना गर्ने गरी त्यस्तै नेतृत्व विकास गरिनुपर्छ भन्ने हलमा आवाज उठेको छ ।
अहिले हामीले मात्रै ठूलो स्वरमा म मात्र हुँ भनेर दाबि गरिरहँदा त्यो आवाज कतै कुण्ठित हुन्छ कि भनेर पनि विचार गर्नु पर्नेछ । त्यसैले मैले खुला निर्वाचनको विधिबाट हलले नेतृत्व छान्नु पर्छ भनिरहेको छु । त्यति बेला २५ वर्षको युवकलाई हलले अध्यक्ष निर्वाचित गर्छ भने म मान्न तयार छु तर निर्वाचनको अवसर सबैले पाउनु पर्छ ।
पाँच बर्ष मात्र अघि संगठनमा आवद्ध भएको साथीले पनि सबै भन्दा धेरै साथीहरुको मन जितेर मत ल्यायो भने उसलाई यो संगठनले नेता मानेर अघि बढ्छ । हाम्रो यति मात्र कुरा हो कि लामो समय यो संगठनमा मेहनत गरेर आँसु र पसिना बगाएको कोही साथीले उम्मेदवार नै हुन नपाउने प्रावधान राखिनु हुँदैन । मैले पार्टी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि यो कुरा स्पष्ट ढंगले राखेको छु ।