गोविन्दे हात्तीले आक्रमण गरेर माउतेको लियो ज्यान   – Nepal Press

गोविन्दे हात्तीले आक्रमण गरेर माउतेको लियो ज्यान  

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको गोविन्दे हात्ती सक्रिय भएर मानिसलाई आक्रमण गर्न थालेको छ ।

आज साँझ गोविन्देले हात्ती प्रजनन केन्द्रमा कार्यरत माउतेलाई नै आक्रमण गरेर ज्यान लिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनका अनुसार सर्लाहीको हरीपुर नगरपालिका ७, का हात्ती प्रजनन केन्द्रका माउते ४४ वर्षका जद्धु सिंह थारुको ज्यान लिएको हो ।

उनका अनुसार साँझ ७ बजेतिर सौराहातिरबाट खोरसोर गइरहेका प्रजनन केन्द्रका दुई कर्मचारी खोरसोर जाँदै थिए ।

पुल कटेर कार्यालय जाने क्रममा सिमलको रुखमा लुकेर बसेको गोविन्देले थारुलाई टार्गेट गरेर आक्रमण गरेको थियो । गोविन्देले घटनास्थलमै उनको ज्यान लिएको हो । हात्तीको माउते भएपनि उनको पद भने पछुवा थियो ।

अर्का कर्मचारीले भने भागेर ज्यान जोगाए । गोविन्दे पछिल्लो समय आक्रामक बन्दै गएको छ । करिब २० दिनअघि पनि निकुञ्जको सुरक्षा गस्तीमा गएका एक सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो ।

सुँडले समात्न मात्रै भ्याएको तर दाह्रा प्रयोग नगर्दै सुरक्षाकर्मीका साथीहरुले हल्ला गरेपछि उनलाई छोडेको प्रमुख संरक्षण अधिकृत पुनले बताए ।

सामान्यतया हात्तीको दाह्रा ३० देखि ३५ सेन्टिमिटरसम्म रहँदा आक्रमण गर्न सक्ने संभावना कम रहन्छ ।

तर, गोविन्दे हात्तीको दाह्रा लामो भएको र आक्रामक पनि भएको उनले बताए । गोविन्देको क्रियाकलाप अनुगमनको लागि र दाह्रा छोट्याउने तयारी गरिरहेको भएपनि निकुञ्ज प्रशासनले अनुकुल स्थानमा गोविन्दे नभेटिएकोले दाह्रा छोट्याउन नसकिएको उनको भनाइ छ ।

अहिले चितवन राष्ट्रिय निकुञ्जमा गोविन्दे, माकुना र रोनाल्डो आक्रामक हात्ती हुन् ।

तर, रोनाल्डो जंगलभित्र नै भलाद्मी अवस्थामा रहेको पूर्जाको भनाइ छ । माकुना पनि अहिले मानिसको वस्ती आसपास देखिएको छैन । तर, गोविन्दे भने आक्रामक हुँदै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *