काठमाडौंमा वर्षाजन्य विपत्ति: जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको कार्यभार
शुक्रवार र शनिवारको भारी वर्षापछि फेरि एकपटक तातो बहसको रूपमा विपद् व्यवस्थापन केन्द्रमा रहेको छ । तर, हामी नेपालीको कमजोर स्मृति क्षमताको रूपमा यो बहसलाई फेरि कुनै अर्को भाइरल कुराले बिर्साइदिने छ जसरी विगतका ठूला विपदलाई हामीले सामान्यतया सम्झने गर्दैनौं । २०७२ को भुकम्पलाई नि हामीले बिर्सिसकेका छौं ।
२०१७ को अगष्ट महिनामा भारी वर्षाका कारण आएको पहिरोले नेपालका विभिन्न जिल्लालाई प्रभावित पारेको थियो । यसले सबैभन्दा गम्भीर असर सिन्धुपाल्चोक र दोलखामा परेको थियो । जसबाट ७० जनाभन्दा बढीले ज्यान गुमाएको र हजारौं विस्थापित हुनु परेको थियो। त्यसैगरी २०२१ को जुलाई महिनामा लगातारको वर्षाका कारण तराई क्षेत्रमा ठूलो बाढी आएको थियो, जसले विशेष गरी सुनसरी, सप्तरी र वारा जिल्लालाई प्रभावित पारेको थियो। बाढीका कारण घर, बालीनाली र अत्यावश्यक पूर्वाधारहरू नष्ट हुनुका साथै हजारौं परिवार विस्थापित भएका थिए। यि दुई प्रतिनिधि उदाहरण मात्र मैले दिन खोजेको जुन तपाईं हाम्रो मनसपटलमा नरहन सक्छ ।
अहिलेको वर्षाको कारणले हामी अस्तव्यस्त छौं । यसको सिर्जित समस्याका कारण काठमाडौं जोड्ने नागढुंगा-मुग्लिन, दक्षिणकाली-सिस्नेरी, कान्ति राजपथ, अरनिको र बीपी राजमार्गका विभिन्न ठाउँको सडक अवरुद्ध छ । दसैँको मुखमा छौं तर त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने न त सरकार सँग कुनै योजना छ न त आम सरोकारवालाहरूले कुनै चासो दीइरहनु भएको छ । विपदलाई कसरी सामना गर्ने भन्ने राज्यको नीति नहुनाको कारण नै हो अस्ति गृहमन्त्रीसँग सही सूचना नहुनु ।
हामी कति कमजोर रहेछौं भन्ने छर्लंग पारिदिएको छ राजधानीमा घण्टौंसम्म एक परिवारले सहयताको याचना गरिरहँदा पनि राज्यले केही गर्न नसकेको घटनाले । विपद हामी कसैको बस मा हुन्न तर यसलाई सही नीति र नेतृत्व भयो भने कुशलतापूर्वक सम्बोधन भने गर्न सकिन्छ । भौगोलिक विविधताका साथै विषमताको कारणले नेपालले आफ्नो भौगोलिक तथा जलवायु परिस्थितिका कारण थुप्रै चुनौतीहरूको सामना गरिरहेको छ । सबैभन्दा महत्त्वपूर्ण विपदहरू मध्ये एक वर्षा-प्रेरित विपत्तिहरूको घटना मुख्य हो । अझ कमजोर भौगोलिक संरचना र त्यस माथि मानविय गतिविधिका करणले यहाँ जोखिमलाई अझ बढावा दिइरहेको छ ।
हालैका वैज्ञानिक निष्कर्षहरूले विशेष गरी दक्षिण र दक्षिणपूर्व एशियामा बाढीको विश्वव्यापी प्रभावको डरलाग्दो प्रवृत्तिहरू प्रकट गरेका छन् । तर, यही क्षेत्रमा तीनिहरूसँग जुध्नको लागि सबैभन्दा कमजोर संयन्त्र रहेको छ । अनुसन्धानले देखाए अनुसार हाल यी क्षेत्रहरूमा २५ देखि २९ करोड मानिस बाढीबाट प्रत्यक्ष प्रभावित छन्, जसले बाढीको जोखिममा रहेका क्षेत्रहरूमा बसोबास गर्ने जनसंख्याको व्यापक जोखिमलाई उजागर गरेको छ । सन् २००० र २०१५ को बीचमा यी क्षेत्रहरूमा बसोबास गर्ने व्यक्तिहरूको संख्या ५८ देखि ८६ मिलियनले वृद्धि भएको छ, जसले बाढीको जोखिमको जोखिममा रहेका विश्वव्यापी जनसंख्याको अनुपातमा २० देखि २४ प्रति उल्लेखनीय वृद्धि भएको छ । यो वृद्धि अघिल्लो अनुमानभन्दा लगभग दस गुणा बढी हो, जसले स्थितिको बढ्दो गम्भीरतालाई संकेत गर्दछ ।
अनुसन्धाताहरूले देखाएका अधिकांश बाढीका घटनाहरू दक्षिण र दक्षिणपूर्वी एशियामा भएका छन जहाँ लगभग ९० प्रति घटनाहरू घटेका छन् । यो क्षेत्रहरू बाढी संवेदनशील क्षेत्रहरू हुन, जसले स्थानीय समुदायहरूको लागि विनाशकारी परिणामहरू जुनसुकै समयमा पनि निम्त्याउन सक्छ। बाढीको जोखिमको यो सम्भावित वृद्धिले जोखिममा रहेका जनसंख्यालाई सुरक्षित राख्न विपद् पूर्वतयारी र व्यवस्थापन रणनीतिमा सुधारको तत्काल आवश्यकतालाई उजागर गर्दछ । अझ हाम्रो जस्तो कमजोर भु धरातलिय क्षेत्र त बढी पहिरोको सानो घटनाबाट पनि ठूलो मारमा पर्न सक्दछ ।
बाढीको जोखिम मूल्यांकनले शहरलाई वर्तमान र भविष्यको बढी प्रभावहरूको पहिचान र सम्भावित जोखिम बुझ्नको लागी सक्षम बनाउँदछ । यस्ता अध्ययनहरू आदर्श रूपमा व्यापक जलवायु जोखिम मूल्यांकनको भाग बन्नुपर्छ । यो लेखमा बिशेष गरी शहरी क्षेत्र अझ राजधानीको बाढीलाई कसरी सम्बोधन गर्न सकिन्छ र काठमाडौं उपत्यकालाई कसरी सुरक्षित सहरको रूपमा विकास गरिनु पर्छ भनेर केलाउन खोजिएको छ ।
वर्षाजन्य विपत्तिका कारणहरू
भौगर्भिक संवेदनशीलता
काठमाण्डौको भू-बनोट र अवस्थिति स्वाभाविकरूपमा कमजोर छ, तलैया कमजोर माटो, प्राकृतिक निकासको कमजोर संरचनाले उपत्यकालाई सानो वर्षाले पनि अस्तव्यस्त बनाउँछ । भौगोलिक बनावटका कारणले पनि हाम्रो राजाधानी बढीको जोखिममा छ । भारी वर्षाको कारण जमिन संतृप्त हुँदा यस क्षेत्रलाई पहिरोको जोखिम पनि बढी रहेको छ विशेष गरी उपत्यकाका काँठ क्षेत्रहरूमा । हाम्रो राजधानी भौगोलिकरूपमा कमजोर अवस्थितिमा रहेको कारण बाढी र पहिरोको जोखिमा सधैँ बढी हुने गर्दछ ।
मनसुनी जलवायु
हाम्रो मनसुनी जलवायु वे अफ बेंगालबाट भित्रिने गर्दछ । यो मनसुनले तीव्र वर्षा ल्याउँछ, प्रायः एकै दिनमा ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने गर्दछ । पानीको यो अचानक प्रवाहले भूमिको आर्द्रता क्षमतालाई कमजोर बनाउँछ, अझ त्यसैमाथि उपत्यकामा कंक्रिटको जंगल नै छ । जसले गर्दा बाढी र पहिरो जस्ता वर्षा जन्य जोखिमलाई बढवा दिने गर्दछन । मनसुनी वर्षाको अनिश्चितता र तीव्रताले बढिरहेको छ, जसले छोटो समयमा आरिघोप्टे पानी पर्ने गर्दछ र बाढि आई जोखिम बढाउने गरेको छ ।
भूमि उपयोग
मानव गतिविधिहरूले उपत्यकाको भूमिलाई तीव्र स्खलित गरिरहेको छ । कृषि तथा वन क्षेत्र निरन्तर रूपमा घटिरहेको छ । प्लटिङ व्यवसाले अहिले उपत्यकामा खुल्ला जमिन पाउन मुस्किल भएको छ । सबैतिर घरको मात्र निर्माण भइरहेको हामीले देखिरहेका छौं । सामान्यतया वर्षाको पानी सोस्ने वनस्पतिहरू हटाउँदा बाढी र पहिरो दुवै बढाउन यसले मद्दत गरिरहेको छ । अहिलेको उपत्यकाको बाढीको वितण्डालाई यसैको उपजको रूपमा लिन सकिन्छ । प्लटिङको कारणले कमजोर बनेको माटो पानीले बगाई खोलामा मिसाउने र सतह उकास भएर बितण्डा मच्चाउने प्रमुख कारण नै यही हो ।
शहरीकरण
अनियोजित शहरीकरण काठमाडौं जस्तो तीव्र विकास भइरहेको शहरमा ठूलो चुनौतीको रूपमा उभिएको छ । हरियाली क्षेत्रहरूले माटोको स्थिरता र पानीको सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यसले माटोमा पानीको सर्कुलेशन र भिजाउने क्षमतालाई सुदृढ गर्दछ । जब यी क्षेत्रहरू हटाइन्छन्, पानीको निकासको लागि कुनै प्राकृतिक मार्ग रहँदैन, जसले गर्दा सतही बाढीको जोखिम वृद्धि हुन्छ । अनि, अनियोजित सडक र निर्माण कार्यहरूले पनि पानीको निकासमा बाधा पुर्याउँछ । पानीका लागि उचित नालीका र ड्रेनेज प्रणालीको अभावले वर्षा हुँदा पानी थुप्रिन्छ जसले बाढीको जोखिमलाई बढाउँछ । अनियोजित शहरीकरण र हरियाली क्षेत्रको अपव्ययले काठमाडौंमा वर्षा पानीको निकासमा समस्या उत्पन्न गर्दै, विपत्तिको जोखिमलाई थप गम्भीर बनाउँदैछ । यसका समाधानका लागि, योजनाबद्ध विकास र हरियाली क्षेत्रको संरक्षण अनिवार्य छ ।
जलवायु परिवर्तन
बदलिँदो जलवायु परिवर्तनले मनसुनको मौसमलाई तीव्र बनाइरहेको छ, जसले गर्दा अनियमित वर्षा भइरहेको छ। वर्षाको आवृत्ति मा ब्यापक वृद्धि भएका कारणले जोखिम बढाएको छ ।
के गर्न सकिन्छ ?
उपत्यकामा विगतका बाढीहरूको स्थानिक म्यापिङ- यो एक सरल र गर्नै पर्ने प्राविधिक काम हो जुन गर्नको लागि ठूलो बजेटको आवश्यकता पर्दैन । त्रिभुवन विश्वविश्वविद्यालयअन्तर्गत भूगोलको अध्ययन हुन्छ । स्थानिक म्यापिङ गर्नको लागि भूगोल अध्ययन गरेका विद्यार्थीहरूलाई उनीहरूको थेसिसमा सानो सहयोग गर्ने हो भने थोरै खर्चमा यो काम सम्पन्न गर्न सकिन्छ । हामीले ज्ञानलाई योजनासँग जोड्ने हो भने जोखिम क्षेत्रको पहिचान नि गर्न सक्छौं, विश्वविद्यालयको सैद्धान्तिक ज्ञानलाई उपयोग गर्दा यही काममा ठूलो बजेट चर्च गर्नपर्ने अवस्थाबाट पनि मुक्ति पाउन सक्छौं । स्थानिक म्यापिङ्ले विगतका बाढीको अध्ययन गरी सम्भावित जोखिम क्षेत्रको पहिचान गर्ने हुँदा स्थानीय तहले आफ्नो योजनामा यसलाई संलग्न गरी कार्ययोजना बनाउन सक्छ । उदाहरणका लागि, सान फ्रान्सिस्कोले बाढीको घटनाहरूको समयमा आपतकालीन कलहरू जियोलोकेसन गरेर बाढीको नक्शा बनाएको छ । प्राय सबै सहरहरूले जोखिमलाई न्यूनीकरण गर्न यो कार्य गरेका हुन्छन् ।
अतिसंवेदनशील क्षेत्रहरूको नक्साङ्कन
उपत्यकाको जोखिम अध्ययन गर्नको लागि बाढी तथा पहिरोको जोखिम विश्लेषण गर्न पर्दछ । यसरी बाढी तथा पहिरोको सम्भावित जोखिमलाई वैज्ञानिक ढंगले अध्ययन गरी स्थानीय तहले सो अनुरूपको योजना बनाउन पर्दछ । यसले कुन ठाउँमा कस्तो विकास निर्माण गर्ने, संरचना कस्ता बनाउने र विपदको समयमा कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने कुरालाई सहजीकरण गर्दछ । ब्राजिलको राजधानी रियो दि जेनेरियोले भूगोल, जल निकायहरूको निकटता र पारगम्यताको विश्लेषण गरेर भौतिक जोखिम संवेदनशीलताको अध्ययन गरेको छ ।
कम्तीमा, स्थानीय तहहरूले बाढी तथा पहिरो जोखिम क्षेत्रको नक्शा विकास गर्न आवश्यक छ । जस कारणले तीनिहरूले भविष्यको जलवायु परिवर्तन परिदृश्यहरूको लागि योजना र अनुकूलन गर्न पूर्ण बाढी तथा पहिरो जोखिम मूल्यांकन विकास गर्न मद्दत गर्दछ । विशेषज्ञ साझेदारहरूको सहयोगमा उपत्यकाको जोखिम अध्ययन गरी योजना मा समावेस गर्न सकियो भने हामीले सुरक्षित सहरको विकास गर्न सक्छौं र जोखिममा रहेका व्यक्तिहरूलाई सही समयमा उद्धार व्यवस्थापन गर्न सक्दछौं । यसले सबैभन्दा बढी जोखिममा रहेका क्षेत्रहरू र प्राथमिकता कार्यहरू पहिचान गर्न जोखिममा रहेका व्यक्तिहरू र निर्मित सम्पत्तिहरूको जानकारीको साथ बाढी-प्रवण क्षेत्रहरूको डेटा संयोजन गर्दछ । उदाहरणका लागि, यसमा भूमिको उपयोग र कम आय भएका समुदायको स्थान, महत्वपूर्ण सम्पत्ति र पूर्वाधार जस्ता कारकहरू समावेश गर्न सक्दछौं ।
विपद् जोखिम न्यूनीकरण योजनाहरू
उपत्यकामा प्राकृतिक विपत्तिहरूको प्रभावलाई कम गर्नका लागि स्थानीय तहहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न पहलहरू अवलम्बन गर्दै आएको छ, जसमा पूर्वसूचना प्रणालीको विकास, सामुदायिक तालिम, र सुधारिएको पूर्वाधार समावेश छन् । स्थानीय समुदायलाई विपद् व्यवस्थापनमा प्रशिक्षित गर्नका लागि तालिम कार्यक्रमहरू आयोजना गर्न सकिन्छ जसले उनीहरूको क्षमता बढाउँछ । यस्ता योजनाहरूले वर्षा र बाढीजस्ता प्राकृतिक विपत्तिहरूको समयमा तीनिहरूको प्रतिक्रिया क्षमता सुधार्नमा मद्दत पुर्याउँछन्, जसले गर्दा प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित र लचिलो रहन सकोस् । यसरी, नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण योजनाहरू मार्फत प्राकृतिक विपत्तिहरूको जोखिमलाई कम गर्ने प्रयास गर्न पर्दछ । हामीले अब समुदायमा जोडिएर प्रतिकार्यका योजना बनाउन ढिला गर्न हुँदैन । जसबाट समग्र समुदायको जोखिमलाई सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ ।
समुदायको पूर्व तयारी
समुदायको पूर्व तयारी विपद् व्यवस्थापनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ । विपद्पूर्व तयारीवारे समुदायलाई शिक्षित गर्नाले उनीहरूको क्षमता र प्रतिकार्य प्रभावकारिता बढाउन मद्दत गर्दछ । उदाहरणका लागि, आपतकालीन प्रतिकार्यका लागि स्थानीय स्वयंसेवकहरूलाई तालिम दिनाले उनीहरूलाई विपत्ति आउने बेलामा प्राथमिक चिकित्सा, उद्धार, र सूचना संकलन जस्ता आधारभूत सीपमा दक्ष बनाउँछ । साथै, सामुदायिक कार्य योजनाहरूको स्थापना गर्दा, स्थानीयहरू बीच सहकार्य र योजना बनाउने प्रवृत्ति विकसित हुन्छ, जसले आपतकालमा समन्वय र संचारलाई सहज बनाउँछ । यस्ता पहलहरूले विपत्तिको समयमा तात्कालिक र प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्दै जीवन र सम्पत्तिको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । उदाहरणको लागि, यदि बाढीको स्थिति उत्पन्न हुन्छ भने, प्रशिक्षित स्वयंसेवकहरूले तात्कालिक उद्धार कार्यहरूमा संलग्न हुन सक्छन्, जसले प्रभावित मानिसहरूको जीवन बचाउन मद्दत गर्न सक्छ । यसरी, समुदायको पूर्वतयारीले विपत्तिका समयमा सुरक्षित र लचिलो समुदाय निर्माण गर्नमा योगदान पुर्याउन ।
स्थानीय अन्यायलाई सम्बोधन
जोखिमको मानचित्रण अक्सर असमानताहरू र अनुकूलन प्रतिक्रियाहरूमा सामाजिक न्यायको आवश्यकता लाई उजागर गर्न पर्दछ । न्यून आय भएका, समाजमा बहिस्करणमा परेका समुदायलाई बाढी तथा पहिरोको जोखिम पनि बढी हुने गर्दछ जुन उदाहरण हामी हाम्रै शहरमा देख्न सक्दछौं । सम्पन्न भएको भए टिनको छानामा बसेर ४ घण्टा हार गुहार गर्दा पनि बग्नुपर्ने नियति ती तराईका मजदुर परिवारलाई हुने थिएन, उनीहरूले आफ्नी ४ वर्षकी छोरी गुमाउनु पर्ने थिएन । तसर्थ भन्ने गरिन्छ विपत्ति पनि वर्गीय हुन्छ भनेर । यो महत्त्वपूर्ण छ कि जोखिम न्यूनीकरण प्रयासहरू सामाजिक न्यायका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी डिजाइन गरिएको हुनु पर्दछ । ह्युस्टन, टेक्सास शहरहरू जसले त्यसो गरेको छ र यसलाई ‘निष्पक्ष र न्यायसंगत’ जोखिम नीतिको डिजाइनमा एक परीक्षण केसको रूपमा लिना सकिन्छ ।
पूर्वाधारको सुदृढीकरण
काठमाडौं उपत्यकामा पूर्वाधारको सुदृढीकरण अत्यन्त आवश्यक छ, विशेष गरी भारी वर्षा र बाढीको समयमा। प्रबलित सडक र बाढी प्रतिरक्षा संरचनामा लगानी गर्दा, उपत्यकामा यातायातको सुगमता र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ । उदाहरणको रूपमा, अवधारण पर्खालहरू निर्माण गर्नाले पहाडी क्षेत्रबाट आउने माटो र पानीको बहावलाई रोक्न मद्दत गर्न सक्छ, जसले बाढीको जोखिमलाई कम गर्नमा योगदान पुर्याउँछ । साथै, सुधारिएको ड्रेनेज प्रणालीले वर्षाका समयमा पानीको निकासलाई सहज बनाउन मद्दत गर्छ, जसले गर्दा बाढीको प्रभाव न्यून गर्न सकिन्छ । यस प्रकारका उपायहरूले काठमाडौं उपत्यकाको लचिलोपनमा महत्वपूर्ण भूमिका खेल्दै, बाढी र वर्षाले उत्पन्न हुने समस्याहरूको सामना गर्न सजिलो बनाउँछ। सम्पूर्ण रूपमा, प्रबलित पूर्वाधारले शहरको दीर्घकालीन विकास र समुदायको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण छ ।
निष्कर्ष
बाढी र पहिरोको जोखिम, विशेष गरी काठमाडौं जस्तो पहाडी क्षेत्रमा, प्राकृतिक विपद् व्यवस्थापनको प्रमुख चुनौती हो । यी जोखिमहरू आमरूपमा अत्यधिक वर्षा, भूगर्भीय संरचना, र मानव क्रियाकलापहरूको संयोजनबाट उत्पन्न हुन्छन् । जोखिमलाई पहिचान गरी त्यसको न्युनीकरण गर्न तथा बिपतको समयमा राहत तथा उद्धारका कार्यहरू गर्नको लागि स्थानीय तहहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । स्थानीय तहहरूले आपतकालीन पूर्वसूचना प्रणाली विकास गर्न सक्छन्, जसले बाढी र पहिरोको जोखिमको वारेमा सिमित समयमा जनतालाई जानकारी दिन्छ । जसले जोखिमलाई घटाउन ठुलो मद्दत गर्दछ ।
बाढी र पहिरो रोक्नका लागि उपयुक्त ड्रेनेज र सडक सुधारमा लगानी गर्नु आवश्यक छ । यसो गर्न सकियो भने पनि उपत्यकामा जोखिमलाई न्युनीकरण गर्न सकिन्छ। यसले उद्दारको समयमा पनि सहयोगी भूमिका खेल्छ। त्यसै गरी स्थानीय सरकारहरूले प्रभावकारी नीतिहरू निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्, जसले भूमि उपयोग योजना र निर्माण मापदण्डलाई समावेश गर्दछ जसबाट जोखिम घटाउन सकिन्छ । स्थानीय सरकारले गर्नै पर्ने अर्को महत्वपूर्ण कार्य सहयोग र समन्वय हो ।
स्थानीय तहले विभिन्न सरोकारवालासँग समन्वय गर्दै सामुदायिक स्तरमा कार्यक्रमहरू सञ्चालन गर्न सक्छ, जसले जोखिम न्यूनीकरणको प्रयासलाई बलियो बनाउँछ । स्थानीय तहले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत र बजेट सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विपद् जोखिम व्यवस्थापनको लागि बहुआयामिक दृष्टिकोणको आवश्यकता पर्दछ । दिगो अभ्यासलाई प्राथमिकता दिएर, समुदायको तयारी बढाएर र पूर्वाधारमा लगानी गरेर स्थानीय तहले यी अपरिहार्य प्राकृतिक विपत्तिको प्रभाव न्यूनीकरण गर्ने दिशामा काम गर्न सक्छ । त्यहाँका जनताको लचिलोपन र रणनीतिक योजनाले बढ्दो अस्थिर जलवायुले निम्त्याएका चुनौतीहरूबाट समुदायहरूको सुरक्षा गर्ने क्षमता राख्छ ।
(भुगोलविद् न्यौपाने चीनस्थित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेसमा विद्यावारिधि गर्दै छन् ।)