प्रचण्डको दाबी ‘म त प्रधानमन्त्रीभन्दा माथि’- शक्ति आर्जन गर्न यसरी जुटाउँदैछन् साथी – Nepal Press

प्रचण्डको दाबी ‘म त प्रधानमन्त्रीभन्दा माथि’- शक्ति आर्जन गर्न यसरी जुटाउँदैछन् साथी

काठमाडौं । कांग्रेस-एमाले मिलेपछि सत्ताबाट हुत्तिएर विपक्षी कित्तामा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय आफूलाई प्रधानमन्त्री भन्दा पनि माथिल्लो तहको व्यक्ति भइसकेको बताउन थालेका छन् । उनले अन्तर्राष्ट्रिय शक्तिले समेत आफूलाई प्रधानमन्त्रीभन्दा माथिल्लो दर्जा दिएको हालसालै सार्वजनिकरुपमै दाबी गरे ।

त्यसो त प्रचण्ड आफूलाई शक्तिमै स्थापित गर्नको लागि विभिन्न खेलोफड्कोमा लागिरहेका छन् । पार्टी सत्ता केन्द्रित हुँदा टुटेको जनमत फर्काउनको लागि जनतामा फर्किने उद्घोष गरेका प्रचण्ड पछिल्लो समय आफूलाई शक्तिमा राखेर सरकारलाई दबाब बढाउने रणनीतिमा देखिन्छन् ।

आफूले भ्रष्टाचारविरुद्धको अभियान छेडेपछि कांग्रेस एमाले मिलेर आफू नेतृत्वको सरकार ढालेको भन्दै जनतामा जाने प्रयारत प्रचण्ड सरकारविरुद्धको जनमतलाई आफ्नो पक्षमा तान्न खोजिरहेका छन् । पार्टीको अन्र्तविरोधलाई अन्त्य गरेर पुर्नर्निमाणको अभियानमा जाने भन्दै आएका प्रचण्डले राजावादी, हिन्दुवादीदेखि बालेनबादीसम्म सबैलाई नजिक राख्ने नीति अख्तियार गरेका छन् ।

सत्ता गुमेपछि प्रचण्डले पहिचानवादी, राजावादीदेखि पछिल्लो समय युवामाझ लोकप्रिय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहदेखि रवि लामिछाने नेतृत्वको रास्वपालाई पनि नचिढ्याउने ढंगले प्रस्तुत भइरहेका छन् ।

त्यसो त काठमाडौंका मेयर बालेनसँग प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को टकराव छ । बालेनदेखि बेग्लै अभियान चलाइरहेका दुर्गा प्रसाईसम्मलाई प्रचण्डले ओलीविरुद्ध उकासेको एमालेका नेताहरुको निष्कर्ष छ ।

केही दिनअघिको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्ड विभिन्न असन्तुष्टिहरुलाई भड्काएर देशमा भाँडभैलो मच्चाउन अग्रसर रहेको ब्रिफिङ गरेका थिए । उनका पछिल्ला अभिव्यक्ति बंगलादेश र श्रीलंका बनाउने खालका आउनुले एमालेको आशंकामा बल पुगेको छ ।

प्रचण्डले सत्ताबाट बाहिरिएपछि कोशीका पहिचानवादीको आन्दोलन उक्साउन उद्देश्यले प्रदेश १ को ब्यानरमा पार्टीको परामर्श समितिको बैठक राखे । त्यसो त कोशी नामांकनको बेलामा पहिले माओवादीले पनि समर्थन गरेको भएपनि आन्दोलन उग्र रुप लिएपछि ब्याक भएको थियो । प्रचण्डले पछिल्लो समय जातीय पहिचानसहितको प्रदेश नामाकरण तथा पहिचानसहितका १० प्रदेशको पक्षमा भाषण गर्न थालेका छन् ।

माओवादी धाराको एकीकरण, नेकपा एसमा महाविपत्ति सिर्जना गरेर माधव नेपाललाई अस्तित्व जोगाउनका लागि भने पनि आफूसँग चाँडो एकताका लागि दबाब बढाउने काममा पनि प्रचण्ड सक्रिय छन् ।

महाधिवेशनपछि नेकपा एसमा देखिएको चर्को असन्तुष्टि र एमालेको चलखेलकै कारणले प्रचण्डले हत्तारिएर एकताको प्रयास नगरेका होइनन् । तत्काल एकताका लागि नेकपा एसका अध्यक्ष माधव नेपाल सकारात्मक देखिएपनि सम्मानित नेता झलनाथ खनालसहित ठूलो पंक्ति विपक्षमा उभिएपछि अहिले एकताको प्रयास रोकिएको छ। यद्यपी, वार्ता छाडेका छैनन् ।

प्रचण्ड अहिले समाजमा र राजनीतिमा देखिएका जति पनि पपुलिस्ट व्यक्ति र शक्तिहरु छन् उनीहरुलाई नचिढ्याउने बरु आफूप्रति नरम बनाएर ओलीविरुद्ध घेराबन्दी गर्न चाहान्छन् । त्यसक्रममा घरवाहिरका भूराजनीतिक शक्तिसँग विशेषगरी ओली नरुचाउने शक्तिहरुमार्फत देउवामाथि दबाब बढाइरहेका छन् ।

त्यसोत त उनी प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपालाई पनि नचिढ्याउने पक्षमा खुलेका छन् । रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिँदा सरकार हुँदा होस् या बाहिर भएपनि उनको प्रतिरक्षामा देखिएर विपक्षी मोर्चालाई बलियो बनाउन प्रयासरत देखिन्छन् ।

प्रधानमन्त्री भन्दा माथि पुगिसकेँ भनेका प्रचण्डले आफूलाई प्रधानमन्त्री भन्दा माथिल्लो देखाउन के के गर्दैछन् ? प्रचण्डले अघि सारेका ७ रणनीति हेरौं ।

मैले प्रधानमन्त्रीभन्दा माथिको मान्यता पाइसकेँ

प्रचण्डले आफू नेतृत्वको सरकार हटाउनमा आन्तरिक मात्रै नभएर बाह्य शक्तिको पनि ठूलो भूमिका रहेको बताउँदै आइरहेका छन् । उनले बंगलादेशमा शेख हसिना नेतृत्वको सरकार ढाल्ने र आफू नेतृत्वको सरकार ढाल्ने एउटै शक्ति भएकोसमेत अभिव्यक्ति दिन भ्याए ।

पछिल्लो समय सरकारबाट बाहिरिँदा पनि विजयी मूडमा रहेको दाबी गर्दै आएका प्रचण्डले आफूलाई विश्वसमूदायले प्रधानमन्त्रीभन्दा माथि ठानेको जिकिर गरे । प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको दाबी गरेका छन् ।

गत शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व समुदायले आफूलाई यति चाँडै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने नै नठानेको जिकिर गरे ।

उनले भने, ‘म यति छिटो प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने विश्वले ठानेको थिएन । हुन त भन्दा बढी भनेको सुनिन्छ होला, मलाई यसरी प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यानाकर्षण भएको छ । मलाई प्रधानमन्त्रीबाट त कांग्रेस र एमालेले भ्रष्टाचारी बचाउनका लागि संख्याको बलमा हटाइसकेका थिए । तर बेलायतका प्रधानमन्त्रीलेमलाई चिठी पठाउनुभयो प्रधानमन्त्रीकै नाममा । बेलायतको राजदूतले आएर चिठी दिनुभयो । मैले भनेँ–म प्रधानमन्त्री छैन । मलाई किन चिठी दिनुप¥यो। तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा माथि हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यो खालको मनोविज्ञान बनेकै छ ।’

प्रचण्डले दुई छिमेकीसँगको सम्बन्ध पनि आफूले सन्तुलन मिलाएर राखेको जिकिर गर्ने गरेका छन् । तर, राजनीतिक विश्लेषक रोशनराज जनकपुरी प्रचण्डले आफूलाई आफ्नो फोकसभन्दा बाहिर राजनीति नजाओस् भन्ने उद्देश्यले यस्ता अभिव्यक्ति दिएको तर्क गर्छन् ।

उनी भन्छन्, ‘आफूलाई चर्चामा राख्ने उद्देश्य देखिन्छ, शान्ति सम्झौतापछि एकतर्फि गिरीजा अर्को आफू रहेको भन्दै पटक पटक आफ्नो अभिभावकत्व देखाउन खोजिरहेका हुन्छन् । उहाँलाई बेलायतबाट पत्र आएको छ भन्नुभएको छ त्यो देखाएपछि मात्रै थाहा हुने कुरा हो । तर, त्यो भन्नुको अर्थ म अझै पनि प्रभावशाली छु भनेर देखाउनै खोज्नुभएको हो ।’

म माओवादी पार्टीको अध्यक्षमा सीमित छैन

माओवादीको राजनीतिमा साढे ३ बर्षदेखि नेतृत्वमा रहेका प्रचण्डसँग प्रतिस्पर्धा गर्न खोज्ने टिकेको इतिहास छैन । तर, पछिल्लो स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै प्रचण्डलाई नेतृत्व छाड्न माग गरे। शर्माको यो मागपछि माओवादीवृत्तमा पार्टी फुट्दैछ भन्ने ठूलो तरंग पैदा गर्यो ।

प्रचण्ड शर्माको प्रस्तावलाई अब बस्ने केन्द्रीय कमिटी बैठकको दस्तावेजमा राख्ने आश्वासनपछि पार्टीभित्रको विवादलाई तत्काललाई टारेका छन् । पार्टीको प्रदेशस्तरीय सबै बैठकमा शर्मालाई पनि साथै लिएर हिँडे ।

आफू नेतृत्व छाड्न तयार रहेको तर परिस्थिति तयार भइनसकेको भन्दै अब माओवादीमा अध्यक्षभन्दा प्रचण्ड ठूलो भइसकेको टिप्पणी गर्न थालेका छन् । भदौ १४ गते पार्टी अभियानका लागि सुर्खेत पुगेका प्रचण्डले देश दुनियाँमा माओवादी अध्यक्षभन्दा प्रचण्ड ठूलो भइसकेको भन्दै कुनै पनि हालतमा माओवादी नफुट्ने बताए ।

प्रचण्डको भनाइ थियो, ‘पार्टी केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा परामर्श छलफलका लागि हामी देश दौडाहामा लागेका छौं, अहिले नै नेतृत्व हस्तान्तरणको विषय उठेको छैन। प्रचण्डलाई अब अध्यक्ष पदको आवश्यक छैन, देश दुनियाँले मलाई क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेका छन् ।

उनले प्रधानमन्त्री मात्र होइन म माओवादी पार्टीको अध्यक्षभन्दा माथि भइसकेँ भनेर भेला बैठकमा दोस्रो र तेस्रो तहका नेताहरुमाथि दबाब बढाएको बताइन्छ। एक अर्कालाई लडाएर, संगठनभित्रका समस्यामा थप समस्या सिर्जना गरिदिएर आफूमै सबैलाई केन्द्रित गर्ने प्रचण्डको पूरानै नीति अहिले अखिल क्रान्तिकारीमा पनि कामयाव भएको छ । माओवादीमा अहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव बर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरुको आआफ्नै गुट छ ।

त्यसो त गत महाधिवेशनमा पनि महासचिवमा पुन र शर्मालाई भिडाएर प्रचण्डले देव गुरुङलाई ल्याएका थिए । तर, अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले गुटबन्दीको कारणले सम्मेलन स्थगित नभएको दाबी गरे । उनले प्रचण्डको नेतृत्वमा माओवादी एकजुट भएर अघि बढेको जिकिर गरे ।

बाढी पहिरोको प्रकोपपछि सर्वदलीय बैठक आह्वान

गत शुक्रबार राती देशभर ठूला बाढी पहिरो जाँदा प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा थिए, कार्यावहाकको जिम्मेवारीमा थिए सहकारी विकास मन्त्री प्रकाशमान सिंह । ठूलो विपद् आउँदा प्रभावकारी कदम चाल्न नसकेको भन्दै अहिले चर्को आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीभन्दा माथि देखाउन प्रचण्डले राष्ट्रिय विपत्तिको भोलिपल्ट सर्वदलीय बैठक बोलाए । कार्यवाहक प्रधानमन्त्रीले भन्दा पहिले सर्वदलीय बैठक बोलाएर चर्चित भएपछि उनले फेरि स्थगित गरे । अहिले यो विपद्मा सरकार असफल भएको निष्कर्षसहित पार्टी पंक्तिलाई परिचालित गरिरहेका छन् ।

विपद् व्यवस्थापनमा सरकार पूर्ण रुपमा असफल भएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले भने, ‘हामीले मात्रै होइन । सत्तापक्षकै नेताहरुले पनि सरकार असफल भएको भनिराख्नुभएको छ । यस्तो विपद्को बेलामा सरकारको भूमिका शुन्य देखिएको छ ।’

उनले पूर्वसूचना हुँदा हुँदै पनि सरकारले बेवास्ता गरेकै कारणले ठूलो जनधनको क्षति भएको उनको आरोप छ । उनले भने, ‘विज्ञहरुले ठूलो वर्षा हुँदैछ भनेर भनिराख्नुभएको थियो । सरकारले केही हदसम्म पनि तयारी गरेको भए यत्रो ठूलो क्षति हुने थिएन ।’

उनले सरकारले अब उद्धार, राहत र पुनस्थापनमा लाग्नुपर्नेमा जोड दिए । त्यसो त उनले सर्वदलीय बैठकमा पनि सरकारको काम प्रभावकारी नभएको भन्दै माओवादीका ृउपमहासचिव शक्ति बस्नेतले आलोचना गरेका थिए। त्यसमा विपक्षी मात्रै नभएर सत्तारुढ दल कांग्रेसका अधिकांश नेताहरु पनि सहमत छन् ।

विपद्को बेलामा प्रचण्डले गरेको प्रयास सकारात्मक भएको राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

उनी भन्छन्, ‘विपद्को बेलामा देश र जनताको पक्षमा केही न केही गर्छु भनेर लाग्नुभएको छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । दुई तिहाइको सरकार छ अहिले तर सरकारको कामको काम प्रभावकारी देखिएको छैन ।’

उनले राजनीतिक खपतका लागि ठाउँ अनुसारको अभिव्यक्ति दिँदै आएको समेत बताए ।

उनले थपे, ‘अहिले उहाँले पीडितलाई भेट्न धाइराख्नुभएको छ । उहाँले आफ्नो सक्रियता खोजिराख्नुभएको छ । तर अहिले विपक्षी दलको नेता भएपनि सरकारलाई सघाउनुपर्छ । उहाँले् आफ्नो स्पेस खोजिराख्नुभएको छ । ओलीजी पनि सरकारबाहिर भएको भए उहाँले कहिले कार्यकर्तालाई खटाउनुहुन्थ्यो कहिले आफैं पुग्नुहुुन्थ्यो। भूकम्प जाँदा एमालेका मात्रै नभए कांग्रेस नेताहरु पनि खटेका थिए । त्यसैले अहिले उहाँले विपद्मा आफ्नो राजनीतिक स्पेस बढाउँन खोज्दैहुनुहन्छ ।’

प्रधानमन्त्रीभन्दा पहिले बाढी प्रभावित क्षेत्र भ्रमण

देशमा राष्ट्रिय विपत्ति परेपछि प्रचण्ड प्रधानमन्त्रीभन्दा माथि देखिन बाढी पहिरो प्रभावित ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रेलगायका ठाउँमा पुगेर स्थलगत अनुगमन गरेका छन् । प्रभावित क्षेत्रमा पुगेर राहत उद्धारका विषयमा सुरक्षा निकायका प्रमुखहरु, प्रशासन र राजनीतिक दल अनि जनप्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

बुधबार काभ्रेबाट फर्केपछि प्रचण्डले बाढी प्रभावित क्षेत्रमा सरकार नदेखिएको टिप्पणी गरेका छन् ।

उनले फेशबुकमा लेखका छन्, ‘बाढी प्रभावित क्षेत्र र रोशी लगायत प्रभावित क्षेत्रको रिपोर्ट बुझ्दा स्थिति भयावह छ । अझै पनि केही नागरिक वेपत्ता हुनुहुन्छ भने केही नागरिक प्रभावित क्षेत्रमा फस्नु भएको छ। प्रभावित क्षेत्रमा खाद्यवस्तु लगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन सकेको छैन ।’

स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेका भएपनि केन्द्रको योजनाबद्ध काममा अझै पर्याप्त उपस्थिति नदेखिएको उनको भनाइ छ ।

बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

‘पीडामा रहेका जनतालाई साथ दिनु, उनीहरुलाई आशा र भरोसा दिनु हाम्रो कर्तव्य हो भन्ठानेर म जनताको बीचमा पुगिरहेको छु । आज पनि देशका केहि भागमा भारी बर्षाको पुर्वानुमान छ, सतर्क बनौं । म फेरि भन्छु– हामी तपाईहरुको सुखदुःखको साथी थियौ, छौं र रहनेछौ’ उनले भनाइ छ ।

सोसल मिडियामा ओलीभन्दा लोकप्रिय बन्न प्रयास

सामाजिक सञ्चालको बलमा काठमाडौं महानगरमा बालेनको उदय भएपछि सबैजसो राजनीतिक दलहरुले अहिले त्यसलाई प्रभावकारी सञ्चालन गर्ने प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमा जनमत तान्न सक्रियमध्ये पर्छन् प्रधानमन्त्री ओली ।

तर, अहिले प्रधानमन्त्री भन्दा माथि पुगिसकेको पुष्टि गर्न प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा पनि निकै मेहनत गरेको छ । फेसबुक पोस्टहरु केपी ओलीकै जस्तै जनतासँग नजिकिने खालका पोष्टहरु आउँन थालेका छन् ।

विगतमा औपचारिक शुभकामना र वक्तव्यहरुमात्र पोष्ट हुने प्रचण्डको फेसबुकमा अहिले सानातिना गतिविधि र जनचासोको विषय पनि पोष्ट गर्न थालेका छन् । फलोअर्स बढाउने अभियान संस्थागतरुपमै चलाएर ओलीको भन्दा बढी पुराइएको छ ।

अहिले अभियानकै रुपमा चलाएपछि बालेन समर्थकले प्रधानमन्त्रीको ओलीको फलोअर्स घटाएपछि अहिले प्रचण्डले उछिनेका छन् । यो समाचार तयार पार्दासमेत ६ लाख २० हजार फलोअर्स प्रचण्डको पुगेको छ भने प्रधानमन्त्री ओलीको ६ लाख १० हजारमात्रै छ ।

प्रचण्डको सोसल मिडिया टिम यतिसम्म एग्रेसिभ भइसकेको छ कि,हिजो असोज १६ गते बुधवार दिउँसो उनका आइटी विज्ञ प्रकाश रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक प्रतिनिधिलाई सिंहदरवारमा बोलाएर फलोअर्स नदेखिने बनाउन निर्देशन दिएको स्टाटस समेत हाले ।

त्यो स्टाटस यति भाइरल भयो,पछि फ्याक्ट चेक गर्दा त्यस दिन प्रचण्डमात्र नभएर विश्वभरका सबै नेता,सेलिब्रिटीलगायतको फेसबुक पेजका फलोअर्स नदेखिने भएको रहेछ । सोही रातिबाट फेरि देखिने भएको छ ।

कांग्रेसप्रति नरम, ओलीविरुद्ध भूराजनीतिक चलखेल

ओलीले आफूलाई धोखा दिएर कांग्रेस मिलेको भन्दै एमालेविरुद्ध पछिल्लो समय आक्रमक रुपमा प्रस्तुत हुँदै आइरहेका छन् । आगामी निर्वाचनमा एक्लै लड्नेसम्मको घोषणा गरेका प्रचण्ड अझै कांग्रेसप्रति आशावादी नै देखिएका छन् ।

उनले अब आफूहरु पार्टी निर्माणको अभियानमा भएकाले सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको जिकिर गर्दै आइरहेका छन् । तर, पछिल्ला दिनमा प्रचण्डले कांग्रेस एमाले गठबन्धन टुट्ने दाबी गर्न थालेका छन् ।

पार्टी निकटको अखिल क्रान्तिकारीको २३ औं सम्मेलन उद्घाटन गर्दै बिहिबार भने, ‘अहिले हामी सरकार बनाउने हतारोमा छैनौं। हामीलाई सरकार चाहिएको छैन । हामीलाई जनतातिर फर्काइदिएकोमा कांग्रेस एमालेलाई धन्यवाद नै भनेका छौं हामीले। हामी जनतातिर जान्छौं । तिमीहरु मिलेर बस भनेका छौं। तर, कांग्रेस एमाले मिल्दै छैनन्, मलाई लाग्छ, केही समयभित्र त्यो अपवित्र गठबन्धन कुहिएर झर्छ। त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ ।’

त्यसो त उनले आफू यो प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री समेत नबन्ने घोषणा गरेका छन् । तर, उनले यो गठबन्धन भत्काउन प्रयास छाडेका छैनन् ।

प्रधानमन्त्री भन्दा माथि रहेको भनिएका प्रचण्डले भूराजनीतिक शक्तिहरुसँग पनि निरन्तर संवाद गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास छाडेका छैनन् । ओली नेतृत्वको सरकारलाई भारतले रुचाएको छैन। त्यसैले प्रचण्डले देउवामाथि भूराजनीतिक दबाब बढाएर भएपनि एमालेसँगको सहकार्य टुटाउने दाउमा रहेको बताइन्छ ।

त्यसैले उनले कांग्रेसप्रति नरम र एमालेप्रति प्रहार गर्ने नीति लिएका छन् । कांग्रेसप्रति सदनदेखि सडकसम्म सकारात्मक छन् । सत्तामा नफर्किने बताएपछि भएसम्मको बल लगाएर पूरानै गठबन्धन ब्यूँताउँने प्रयास पनि गरिरहेका छन् ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे यो गठबन्धन यो कार्यकालभरी जाने दाबी गर्छन् । उनी भन्छन्, ‘उहाँले सत्ताबाट बिमुख भएको छुद्र अभिव्यक्ति दिँदै आउनुभएको छ । गठबन्धनमा कुनै समस्या छैन । यो कुनै पनि हालतमा टुट्दैन ।’

तर, प्रचण्डको यो अभिव्यक्ति आउनुलाई कांग्रेसभित्रको असन्तुष्टिलाई पनि लिने गरिएको छ । कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला सरकारले काम गर्न नसकेको भन्दै आलोचनामा उत्रिरहेका छन् । उनीमात्रै नभए महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारमाथि दबाब बढाइरहेका छन् । त्यही अन्र्तविरोध देखेर नै प्रचण्ड गठबन्धन चाँडै टुट्ने भन्दै हौसिएको बताइन्छ ।

बालेनवादी, पहिचानवादीदेखि तेस्रो मोर्चा निर्माण

प्रचण्ड प्रधानमन्त्री हुँदा निष्क्रिय रहेको समाजवादी मोर्चालाई सक्रिय बनाएका छन्। मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव पक्षको नेसपा सहभागी छ। मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, प्रभु साह नेतृत्वको आजपासहित माओवादी धारका पार्टीलाई गोलबद्ध गर्ने प्रयासमा छन्। फेरि प्रधानमत्री बन्ने शक्ति आर्जन गर्न समाजवादी मोर्चा, माओवादीहरुको एकता र नेकपा एससँगको एकताको रणनीतिमा छन्।

उनले बालेनवादी, पहिचानवादीदेखि मधेशका विभिन्न क्षेत्रीय शक्तिसँग पनि सहकार्य गर्दै अर्को चुनावमा तेस्रो निर्णायक शक्ति बन्ने उनको रणनीति बुझ्न सकिन्छ। प्रचण्डको पछिल्लो गतिविधिले राजनीतिक स्पेस अझै बढाउन खोजेको देखिएको राजनीतिक विश्लेषक चन्द्रकिशोरको बुझाइ छ।

उनले भने, जहाँसम्म मोर्चा र आभिव्यक्तिका कुरा छन् त्यो राजनीतिक स्पेसका कुरा हुन्। त्यो स्वभाविक हो।

अर्का विश्लेषक जनकपुरी पनि संसदीय राजनीतिमा विपक्षीलाई कसरी कमजोर पारेर आफू सत्तामा पुग्ने भन्ने नीति अगाडि सार्नु स्वभाविक ठान्छन्।

उनले भने, ‘प्रचण्डले पनि सत्ताभन्दा बाहिर हुँदा मोर्चा बनाएका छन्। त्यहाँ पनि आआफ्नो अर्तविरोधहरु छन्। विप्लव र माधव नेपालहरुको आफ्नो पार्टीगत लाइन छ। यो मोर्चा बनाउनु स्वभाविक पनि हो। अहिले विपद्को बेलामा सरकारको लाचारिन देखिएको छ। बाढी पहिरोको प्रभावितको व्यवस्थापनमा सरकार चुकेको बेलामा विपक्षीहरुलाई एकजुट पारेर कसरी आक्रमक रुपमा प्रस्तुत हुन सकिन्छ भन्ने उहाँको लाइन हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर